तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित « Khabarhub

तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिंकर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए ।

सन् २०२० मा कोभिड-१९ महामारीयता तिंकर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै बनेको छ भने रोजगारीका अवसर खुम्चिँदा सीमावर्ती बस्तीका नागरिक राज्यबाट उपेक्षित भएको अनुभूति गर्न थालेका छन् ।

नेपाल–चीन हिमालयन मैत्री समाजका केन्द्रीय सदस्य तथा व्यास गाउँपालिका–१ का स्थानीय व्यापारी योगेश बोहराले तिङ्कर नाका नियमित नहुँदा व्यापार व्यवसायमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष आंशिक रूपमा नाका सञ्चालन भए पनि १०–१५ दिनमा एकपटक मात्रै खुल्दा नियमित रूपमा सामान ओसारपसार हुन सकेन ।

‘धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण यो नाका नियमित सञ्चालनमा आउनु आवश्यक छ’, बोहराले भने।

व्यापारी अमितसिंह तिंकरी चार वर्षपछि मात्रै तिंकर पुगेर समान रेखदेख गर्न पाएको सुनाउँछन् । उनले भने, ‘यस वर्ष थोरै सामान ल्याउन पाइयो, चार वर्षको क्षति त्यस्तै भयो, अहिले पनि कम्तीमा यो नाका नियमित सञ्चालन भएको भए हामीहरूको जीविका चलाउन सहज हुने थियो ।’

व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार तिंकर क्षेत्र केवल व्यापारिक मार्ग मात्र नभई कैलाश मानसरोवर यात्रासँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हो । तिंकर र छाङरु क्षेत्रका बासिन्दा परम्परागत रूपमा मानसरोवर क्षेत्रका धार्मिक कर्मकाण्ड र पूजाआजामा नियमित मानसरोवर जाने गर्थे । 

कैलाश मानसरोवर हिन्दुहरूको प्रमुख आस्थाको केन्द्र हो । विसं २०६० सम्म नेपालकै पैदलमार्ग भएर स्थानीय कैलाश मानसरोवर दर्शन गर्न जान्थे । तर, कोभिडपछि भने यो नाकाबाट स्थानीयले कैलाश मानसरोवरको जलसमेत ल्याउन पाएका छैनन् । धार्मिक कार्यमा प्रयोग हुने जल ल्याउनसमेत बन्देज लाग्दा पूजापाठमै समस्या हुने अवस्था आएको बोहरा सुनाउँछन् ।

चीनको ताक्लाकोटमा दार्चुलाका व्यासी सौका समुदायले सञ्चालन गर्दै आएका तीन दर्जनभन्दा बढी पसलसमेत चार वर्षभन्दा बढी समय बन्द रहे । यस वर्ष मात्र पसल खोल्न पाएको व्यापारी तेम्बा लामाले जानकारी दिए ।

‘हाम्रो मुख्य व्यापार नै ताक्लाकोटबाट सामान ल्याएर नेपाल र भारतका मेला महोत्सव तथा खलङ्गामा बिक्री गर्नु हो’, उनले भने, ‘नाका नियमित नखुल्दा हाम्रो रोजीरोटीमै समस्या आएको छ ।’

सरकारले अध्यागमन कार्यालय राख्ने कुरा अलपत्र परेको छ । भन्सार मात्रै भइदिएको भए यो नाका नियमित सञ्चालनमा सहज हुने उनीहरुको विश्वास छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकबाट तिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको थियो । तिंकरमा अध्यागमन कार्यालय नखुलेका कारण राज्यले सीमा क्षेत्रलाई ध्यान दिन नसकेको व्यासीको गुनासो छ ।

तिंकर नाका नियमित सञ्चालन नहुँदा उत्पन्न समस्याका विषयमा दार्चुलाका स्थानीय समुदायका प्रतिनिधिले काठमाडौँ पुगेर अघिल्लो सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा तिंकर नाका नियमित सञ्चालनको व्यवस्था गर्न तथा कैलाश मानसरोवर यात्रामा सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायसँग राजनीतिक र कूटनीतिक पहलका लागि आग्रह गरिएको थियो ।

उनीहरूले कालापानी क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारबाट आवश्यक कूटनीतिक तथा नीतिगत निर्णयका लागि पहल हुने विश्वास व्यक्त गरेका छन् । साथै व्यास वडा नम्बर–१ र २ जोड्ने घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको थियो ।

साढे पाँच करोड लागतमा करिब एक दशकदेखि बन्द रहेको दुम्लिङदेखि छाङरुसम्मको पैदल घोरेटो बाटो यस वर्ष पुनः सञ्चालन भएको हो । उक्त बाटो सञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री ओलीले विशेष भूमिका खेलेको भन्दै वडाध्यक्ष बोहराले बताए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : २१ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ