काठमाडौं–४ का तीन पुस्ते मतदाता : कोही पुरानैको पक्षमा, कोही नयाँ विकल्पतिर ढल्किँदै « Khabarhub

काठमाडौं–४ का तीन पुस्ते मतदाता : कोही पुरानैको पक्षमा, कोही नयाँ विकल्पतिर ढल्किँदै

अबको अपेक्षा भ्रष्टाचार नियन्त्रण र सुशासन



काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मागअनुरुप यही फागुन २१ गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको यो निर्वाचनले देशमा सुशासनको जग बसाउने जनअपेक्षा छ । यसै क्रममा मतदाताको धारणा बुझ्न खबरहबकर्मी काठमाडौं-४ पुगेको थियो । खबरहबसँगको कुराकानीमा काठमाडौं-४ का मतदाता आगामी चुनावप्रति उत्साहित देखिए । मतदाताहरू मत खसाल्न आतुर देखिन्थे ।

खबरहबकर्मी बूढानीलकण्ठ नगरपालिका–८ गोल्फुटार पुग्दा ७० वर्षीय वेगमाया गुरुङ भेटिइन् । २०७४ सालदेखि निरन्तर कांग्रेसलाई भोट दिएको बताउने उनले यसपल्ट पनि मत परिवर्तन नगर्ने जानकारी दिइन् ।

‘२०७४ सालदेखि यहाँ बसाइँ सरेर आएपछि गगन थापालाई भोट हालेका हौँ, अहिले पनि कांग्रेसलाई नै भोट हाल्ने हो’, उनले भनिन्, ‘यसपाली पनि भोट फेर्ने सोच छैन । हामीलाई पानीको अलिक दुःख छ । त्यो चाहिँ सहज बनाइदिनुपर्‍यो भन्ने माग छ ।’

घरपरिवारमा पनि अहिलेका कांग्रेस उम्मेदवार गगनजस्तै युवा भएकाले उनलाई नै मत दिने सल्लाह भएको उनले सुनाइन् ।

‘घरमा पनि छोराछोरीले कांग्रेसकै बाबु राम्रो छन्, उनलाई नै मत दिनुपर्छ भनेका छन् । त्यही भनेर पनि अब मर्ने बेलामा के यताउता भोट फेर्नू ? कांग्रेसलाई नै दिने हो’, गुरुङले भनिन् ।

त्यही क्षेत्रमा भेटिएकी अर्की महिला मतदाता मथुरा आचार्यले भने नयाँ राजनीतिक दलप्रति आशा व्यक्त गरिन् । आफूलाई गृहिणी बताउने उनले सरकारमा गएपछि नयाँ पार्टीले नयाँ नीति ल्याउने अपेक्षासहित आफू भोट फेर्ने तयारीमा रहेको खुलाइन् ।

‘वर्षौदेखि कांग्रेसलाई नै भोट दिँदै आएको हो । तर, पुरानाहरूले केही गरेनन् । अब नयाँमा हाल्ने सोच्याछु । हाम्रो यहाँ त त्यस्तो नराम्रो केही थिएन । तर, देशैभर राम्रो गर्ने नयाँ प्रधानमन्त्री बनाउनुपर्छ भन्ने लागेर यसपटक नयाँलाई नै मत दिने सोच बनाएकी छु ।’ उनले थपिन् ।

नयाँ पार्टीबाट आफ्नो क्षेत्रको उम्मेदवारबारे भने जानकारी नभएको उनले बताइन् । ‘यहाँ को उठेको छ, थाहा छैन । उम्मेदवार घरदैलोमा आउलान् नि ! आएपछि चिनिन्छ । नचिने पनि भोट नयाँलाई नै दिने हो’, उत्साहका साथ उनले भनिन् ।

उनी अघिल्लो सरकारप्रति आक्रोशित थिइन् । ‘केपी ओलीका कारण सोसल नेटवर्क बन्द हुँदा हाम्रा छोराछोरी आन्दोलनमा जान बाध्य भए । रोजगारी र उद्योग खोल्ने कुरा त कहाँ हो कहाँ, सरकारसँग माग गर्दा गोली चलाइयो । उनीहरुलाई अर्काको छोराछोरीको के माया ? जनताको करबाट तीन पटकसम्म किड्नी फेरेका छन्, जनताले त्यहाँ पुर्‍याउँदा पनि जनतालाई माया गरेनन् । आफैँ खर्च गर्नुपरेको भए सक्थे र ?,’ उनले प्रश्न गरिन् ।

यसैबीच, त्यही क्षेत्रमा भेटिएका जेन–जी पुस्ताका मतदाताले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाउने उम्मेदवारलाई मत दिने बताए ।

‘उम्मेदवार र अब बन्ने सरकारले मुख्य त भ्रष्टाचार नियन्त्रण गर्नुपर्‍यो । १२ पछि नै रोजगारी पाउने व्यवस्था हुनुपर्‍यो । म स्कूलबाट एक पटक पार्लियामेन्ट गएको थिएँ । उहाँहरूले कानुन बनाउन छलफल गर्नुहुँदो रहेछ । यससँगै हाम्रो करबाट विकासका लागि सरकारले दिने बजेटको युटिलाइज भएको/नभएको हेर्नुपर्छ’, जेन-जी युवा सुदिन पौडेलले भने ।

उम्मेदवार नयाँ वा पुराना जो भए पनि उनीहरूको प्रतिबद्धता र विगतका कामको समीक्षा गरेर मात्रै भोट दिने अर्का युवा मतदाता कृपेश घिमिरेले बताए ।

‘उम्मेदवार नयाँ हुन् वा पुराना हुन्, उनीहरुका के-के प्रतिबद्धता छन्, त्यो हेर्नुपर्‍यो । पुराना हुन् भने पहिले के-के गर्छु भनेका थिए, के–के गरे, के के गरेनन्, त्यो विचार गरेर भोट दिने हो,’ उनले भने ।

आफ्नो क्षेत्रमा राम्रै विकास भए पनि देशका सबै क्षेत्रमा समान सुविधा पुग्नुपर्नेमा उनले जोड दिए ।

‘शहरमा सुविधा भए पनि गाउँ जाने बाटो निकै बिजोग छ । अब आउने सरकारले सडकसहितका सेवा–सुविधा शहर र गाउँमा समान रूपमा पुर्‍याउनुपर्छ ।’ घिमिरेले थपे ।

भ्रष्टाचारकै कारण जेन–जी आन्दोलन निम्तिएको बताउँदै आगामी सरकारलाई त्यसको समाधान खोज्नुको विकल्प नभएको अर्का मतदाता सक्षम डङ्गोलले सुनाए ।

‘सरकारमा गएपछि बाचाअनुसार काम नगर्ने, भ्रष्टाचार गर्ने भएकैले जेन–जी आन्दोलन भएको हो । जितेर जाने मान्छेले गर्छु भनेर आशमात्रै देखाउनु भएन, काम नै गर्नुपर्‍यो । शिक्षा क्षेत्रमा सानो कक्षाबाटै राम्रो बनाउनुपर्‍यो । स्मार्ट बोर्ड चाहियो । सबै क्षेत्रमा समान सुविधा हुनुपर्‍यो । एसईई गराउँदा के-केमा भ्रष्टाचार भयो रे ! त्यस्तो हुन नदिने उपाय खोज्ने काम त उहाँहरुको हो नि’, उनले भने ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ५१ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको