काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन २८ गते बिहिबारदेखि सुरु भएको एक्स्पो आज (फागुन ३०) सम्म चल्नेछ । नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आमसर्वसाधारण र सरोकारवालामा दिलाउने उद्देश्यका साथ नेपाल औषधि उत्पादक संघ (एपोन) नेपालले आयोजना गरेको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी २ सयभन्दा बढी औषधि कम्पनीले आफ्नो उत्पादन र प्रविधि प्रदर्शन गरेका छन् ।
एक्स्पाेमा उद्योगीहरूले नेपालमा औषधि उत्पादनको सम्भावना ठूलो भए पनि स्पष्ट नीतिको अभाव, सीमित प्रविधि र बजार व्यवस्थापनका चुनौतीका कारण उद्योग अवसर र चुनौतीबीच अघि बढिरहेको बताएका छन् ।
औषधि उत्पादन क्षेत्र अवसर र चुनौती दुवै सँगै अघि बढिरहेको उद्योगीहरूको भनाई छ । उनीहरूका अनुसार केही क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि महत्वपूर्ण औषधि तथा उन्नत प्रविधिको उत्पादनमा नेपाल अझै पछाडि रहेको छ ।
उद्योगीहरूका अनुसार स्पष्ट सरकारी नीति र प्रोत्साहन भए आगामी वर्षहरूमा नेपाल औषधि उत्पादनमा अझ आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । लोमस फर्मास्युटिकल्सका मार्केटिङ म्यानेजर ओमनारायण शर्माका अनुसार नेपालमा औषधि उत्पादनको सम्भावना ठूलो भए पनि सबै प्रकारका औषधि भने अझै स्वदेशमै उत्पादन हुन सकेका छैनन् । ‘उदाहरणका लागि श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने इनहेलर जस्ता उत्पादनमा नेपाल अझै पछाडि छ । त्यसैगरी क्यान्सर उपचारका लागि आवश्यक औषधिको उत्पादनमा पनि पर्याप्त प्रगति हुन सकेको छैन’, उनले भने ।
यस्तै स्मल भोल्युम प्यारेन्टेरल अर्थात् सुईमार्फत दिइने केही औषधिहरूको उत्पादन नेपालमा सीमित मात्रामा मात्रै सुरु भएको छ । अहिले करिब चार–पाँच वटा औषधि कम्पनीले यस्तो उत्पादन सुरु गरे पनि बजारको मागअनुसार अझै पर्याप्त नभएको मार्केटिङ म्यानेजर शर्माले बताए ।
उनका अनुसार बायोसिमिलर जस्ता उन्नत प्रविधिमा आधारित औषधि उत्पादनतर्फ नेपालले अझै स्पष्ट रूपमा कदम चाल्न सकेको छैन ।
आर्थिक अवस्था र निर्यात नीतिमा चुनौती
औषधि उद्योगका लागि देशको आर्थिक अवस्था पनि महत्वपूर्ण कारक रहेको शर्मा बताउँछन् । बजारको स्थिरता, वितरण प्रणाली तथा आपूर्ति शृङ्खलामा आउने आर्थिक दबाबले उत्पादन र वितरणमा प्रभाव पार्ने गरेको उनले बताए ।
यसका साथै स्वदेशमा उत्पादन भएका औषधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि स्पष्ट निर्यात नीतिको अभाव पनि अर्को चुनौतीका रूपमा देखिएको छ । नेपालमा उत्पादन हुने गुणस्तरीय औषधिलाई घरेलु बजारमा मात्रै सीमित नराखी बाह्य बजारमा विस्तार गर्न सके उद्योगको विकास अझ तीव्र हुने शर्माको भनाई छ ।
स्वास्थ्य बीमा प्रणालीमा स्वदेशी औषधिलाई प्राथमिकता दिन सकियो भने पनि औषधि उद्योगलाई ठूलो सहयोग पुग्ने शर्माको धारणा छ । त्यसैगरी थर्ड पार्टी म्यानुफ्याक्चरिङको अवधारणालाई प्रोत्साहन गर्न सके उत्पादन र बजार व्यवस्थापन दुवैलाई सन्तुलित रूपमा अघि बढाउन सकिने उनले बताए ।
औषधि उद्योगलाई प्रोत्साहन गर्न दीर्घकालीन नीति आवश्यक
मग्नुस फर्मास्युटिकल्सका म्यानेजिङ डाइरेक्टर एसपी मास्केले औषधि उद्योगलाई थप विकास गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको बताए । उनले धेरै कानून र नीतिहरू समयअनुसार परिमार्जन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
नेतृत्व तहमा आउने धेरै मन्त्रीहरू दीर्घकालीन सुधारभन्दा पनि लोकप्रिय निर्णयमा केन्द्रित हुने प्रवृत्तिका कारण उद्योग क्षेत्रका सुधारहरू ढिलाइ हुने गरेको मास्केको आरोप छ । बारम्बार नेतृत्व परिवर्तन हुने राजनीतिक अवस्थाले पनि दीर्घकालीन नीति निर्माण र कार्यान्वयनमा समस्या आउने गरेको उनको भनाइ छ ।
आत्मनिर्भरता आवश्यक
उद्योगीहरूका अनुसार औषधि उद्योगलाई रणनीतिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ । भारत–नेपालबीच विगतमा भएको नाकाबन्दी, विश्वका विभिन्न क्षेत्रमा भइरहेका युद्ध तथा कोरोना महामारीका अनुभवले पनि स्वदेशी उत्पादनको महत्व स्पष्ट बनाएको उनीहरू बताउँछन् ।
मास्केका अनुसार कम्तीमा अत्यावश्यक औषधिहरू देशमै उत्पादन गर्न सक्ने अवस्था बनाउनु स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण हुन्छ ।
पाँच वर्षको स्पष्ट रोडम्याप आवश्यक
नेपालमा करिब ४५ देखि ५० प्रतिशत औषधि स्वदेशमै उत्पादन भइरहेको बताउँदै मास्के भन्छन्– ‘उचित नीति र प्रोत्साहन भए आगामी पाँच वर्षभित्र यो हिस्सा ६५ देखि ७० प्रतिशतसम्म पुर्याउन सकिने सम्भावना छ ।
यदि यस्तो लक्ष्य हासिल गर्न सकियो भने करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरको अतिरिक्त बजार हिस्सा स्वदेशी उद्योगले प्राप्त गर्न सक्ने उनको विश्वास छ । यसले रोजगारी सिर्जना, राजस्व वृद्धि र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने माश्केले बताए ।
उनीहरूका अनुसार औषधि उद्योगलाई प्रोत्साहन गर्न स्थिर, स्पष्ट र प्रगतिशील नीति आवश्यक छ । सरकारले स्पष्ट लक्ष्य र रोडम्यापसहित उद्योगमैत्री वातावरण निर्माण गर्न सके नेपाल औषधि उत्पादनमा थप आत्मनिर्भर बन्ने मात्र होइन, आर्थिक विकास र रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
आयुर्वेद र हर्बल औषधिको बढ्दो महत्व
एलोपेथिक औषधिसँगै नेपालमा आयुर्वेद तथा हर्बल औषधिको प्रयोग पनि पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइएको छ ।
गुराँस हर्बल्स केमिकल्स विराटनगरका म्यानेजिङ डाइरेक्टर राजु अधिकारीका अनुसार आयुर्वेद विश्वकै पुरानो उपचार प्रणालीमध्ये एक हो र यसको आधार प्राकृतिक जडीबुटीमा आधारित हुन्छ ।
उनका अनुसार एलोपेथिक औषधिको स्रोत पनि धेरै हदसम्म जडीबुटी नै भए पनि एलोपेथिक प्रणालीले जडीबुटीबाट आवश्यक रासायनिक तत्व मात्रै निकालेर औषधि बनाउँछ भने आयुर्वेद पद्धतिले जडीबुटीका जरा, पात वा अन्य भाग प्रयोग गरेर औषधि तयार पार्ने गर्छ ।
यस कारण आयुर्वेदिक उपचार पद्धति विशेषगरी दीर्घकालीन रोगहरूको उपचारमा प्रभावकारी मानिएको अधिकारी बताउँछन् । किड्नीमा पत्थरी, प्रोस्टेटसम्बन्धी समस्या, पाइल्स, फिसर, फिस्टुला, महिलामा हुने महिनावारीसम्बन्धी समस्या, हर्माेन असन्तुलन तथा महिला–पुरुषमा हुने बाँझोपनजस्ता समस्यामा आयुर्वेदिक उपचार प्रभावकारी मानिएको अधिकारीले बताए ।
उनका अनुसार आयुर्वेद क्षेत्रमा पनि आधुनिक प्रविधि र गुणस्तर मापदण्ड अपनाउँदै उद्योगहरूले लगानी बढाइरहेका छन् । बजारमा मात्रात्मक उत्पादनभन्दा पनि गुणस्तरीय उत्पादनमा जोड दिइएको र त्यसका कारण सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ ।
फर्मा एक्स्पोले बढायो उद्योगप्रति चासो
औषधि उद्योगको क्षमता र सम्भावनालाई देखाउन फर्मा एक्स्पो जस्ता कार्यक्रमले पनि महत्वपूर्ण भूमिका खेल्ने उद्योगीहरू बताउँछन् । यस्ता एक्स्पोमा कच्चा पदार्थ, प्याकेजिङ सामग्री, यन्त्र तथा उपकरण उपलब्ध गराउने आपूर्तिकर्ताहरू पनि सहभागी हुने भएकाले उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच सहकार्य बढाउने अवसर मिल्ने बताइएको छ ।
यसपटकको फर्मा एक्स्पो अघिल्ला वर्षहरूको तुलनामा अझ ठूलो भएको र उद्योगप्रति सरोकारवालाको चासो पनि बढ्दै गएको आयोजकको भनाइ छ ।













प्रतिक्रिया