मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदै « Khabarhub

मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदै


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ ।

वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । विक्रम सवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए । उनका अनुसार आज ‘सतुवाइन’ विधिसँगै यो पर्व मनाउन सुरु भएको हो ।

मिथिलामा सौरमास गणनामा मनाइने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि पर्दछ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर यो पर्वलाई ‘जुडशीतल’ भनिएको प्राचार्य कर्णले जानकारी दिए । ‘पर्वको पहिलो दिन आज चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ’, उनले भने ।

बढ्दो गर्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको प्राचार्य कर्णले जानकारी दिए । उनका अनुसार पर्वको दोस्रो दिन घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृतिका ज्ञाता एवं संस्कृतिविद् ध्रुव रायले बताए । यही कारणले पर्वमा चना वा बदामको सातु, दाल, सोहिजन (मुँग) को तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा रहिआएको उनले जानकारी दिए ।

संस्कृतिविद् रायका अनुसार सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मिथिलाबासी एकापसमा धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । नयाँ वर्षको प्रारम्भमा धुलो र हिलो खेल्ने परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गर्ने उनको भनाइ छ ।

उनका अनुसार पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मधेसका मिथिला क्षेत्रका जिल्ला र सीमावर्ती भारतका सीतामढी, झञ्झारपुर, शिवहर र सीतामढीसहित जिल्लामा यो पर्व उल्लासका साथ मनाउने गरिन्छ । यो पर्वले आपसी सद्भाव, सहकार्य, समन्वयको सन्देश दिने पाका मैथिली सदस्य बताउँछन् । नयाँ वर्षको प्रारम्भ कृषिसँग जोडेर पूर्वजहरूले ‘कृषि मूलश्च जीवनम्’ भन्ने सन्देश पर्वमार्फत् दिएका लोकपरम्परा र संस्कृतिका ज्ञाता कामेश्वर झाले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : २६ बजे

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई

सरकारी क्लाउड पूर्वाधार विकास गरिने

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ