काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई २०८२ पुस १३ गते सात बुँदे सहमति गरेर भित्र्याएको थियो।
रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गरेर प्रवेश गरेका बालेन अहिले वरिष्ठ नेता छन्।
बालेन वरिष्ठ नेता त हुन् तर न पार्टीको बैठकमा जान्छन्, न त पार्टीका सभा, सम्मेलन र अन्तरक्रियामा सहभागी हुन्छन्। उनी पार्टीको नेता नै नभएको जस्तो व्यवहार देखाउँछन्।
अहिले उनी सत्ताको नेतृत्वमा अर्थात् प्रधानमन्त्री छन्। तर सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिन पनि उनी तयार हुँदैनन्। चैत १३ गते प्रधानमन्त्री बनेयता उनले सदनमा उभिएर एक शब्द पनि निकालेका छैनन् ।
उन रास्वपा सचिवालय बैठकमा पनि सहभागी हुँदैनन्। हुँदा हुँदा उनी आफैं नेता छन् तर संसदीय दलको बैठकमा पनि उनलाई देख्न पाइँदैन ।
आफ्नो तर्फबाट पार्टी सचिवालयमा महामन्त्री भूपदेव शाहलाई नियुक्ति गरेका छन्। स्रोतका अनुसार सचिवालयको जानकारी उनले शाहबाटै लिने गरेका छन्।
रास्वपामा प्रवेश गरेपछि ४ माघ २०८२ मा पहिलोपटक बालेन पार्टी कार्यालय पुगे। वरिष्ठ नेताको पदभार ग्रहण गरेर करिब १५ मिनेट पार्टी कार्यालयमा बसेका उनी त्यसपछाडि एकपटक पुगे, तर लामो समय बसेनन्। जम्माजम्मी दुईपटक पार्टी कार्यालय टेकेका बालेनले नेपाली सेनाको मञ्चमा उक्लिएर भाषण दिइसके। फागुन २१ को चुनाव प्रचारका क्रममा पनि उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नाम विरलै उच्चरण गरे।
पछिल्लो पटक बुधबार र बिहीबार प्रतिपक्षले निरन्तर सदनमा खोजी गर्दा पनि उनले उपस्थित हुन आवश्यक ठानेनन् । आफैंले ल्याएको नीति तथा कार्यक्रम पढिरहेका राष्ट्रपति रामचन्द्र पौडेलको अपमान हुने गरी उनी संसद्बाट उठेर हिँडे । त्यही नीति तथा कार्यक्रमको जवाफ दिनसमेत उनी हिच्किचाइरहेका छन्।
बालेनको यो व्यवहारले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू भने भित्रभित्रै आजित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली शक्तिमा हुँदाको जस्तै अहिले रास्वपामा पनि नेताहरूलाई बालेनको डर छ । पार्टीको उकुसमुकुस उनीहरू बाहिर पोख्न सक्दैनन्।
प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुपर्ने हो । तर उनी बेपरवाह छन् । बालेनले व्यवहार सच्याउनुपर्ने सुझाव संवैधानिक जानकार राजेन्द्र फुयाँल दिन्छन्। सदनबाटै प्रधानमन्त्रीले जनताका आवाज र सांसदका आवाजहरूलाई सम्बोधन गर्नुपर्ने भएकाले प्रधानमन्त्री जनताप्रति उत्तरदायी नदेखिँदा जनता पनि उकुसमुकुस हुने फुयाँलको विश्लेषण छ।
विदेश भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्री उत्तरदायी नहुँदा जनता र सांसदहरूको अपमान हुने भएकाले संविधान र विधिभन्दा बाहिरबाट अगाडि नबढ्न सुझाउँछन् ।
लामो समयदेखि राजनीतिक विश्लेषकका रुपमा सक्रिय श्याम श्रेष्ठ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेनको कार्यशैलीले धेरै नेताहरूमा असन्तुष्टि देखिएको बताउँछन्। छरपष्ट हुन केही समय लाग्ने भए पनि असन्तुष्टि रहेको कुरा नेताहरूको मौनताले नै देखाउने उनको विश्लेषण छ।
चुपचाप
निर्वाचनअगाडि ‘चुपचाप घण्टीछाप’ अभियान चलाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले बालेनको कार्यशैलीमा पनि चुपचाप छन्। मनभित्र गहिरो असन्तुष्टि बोकेका नेताहरू उनको कार्यशैलीबारे खुलेर बाहिर बोल्न चाहँदैनन्। उनीहरूलाई बोल्ने रोक पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री स्वयंले लगाएका छन् । तर केही नेताहरूमा ठूलो छटपटी देखिन थालेको छ।
बालेन किन पार्टी बैठकहरूमा उपस्थित हुँदैनन् ? सदनमा जवाफ दिँदैनन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको मौनता उदेक लाग्दो छ। पार्टीका चार–पाँचजना शीर्ष नेताहरूलाई टेलिफोन संवादमा हामीले यसबारे सोधेका थियौँ । तर उनीहरूले आफूहरूलाई यसबारे जानकारी नभएको, बरू सभापति लामिछानेलाई थाहा भएको भनेर टारे।
धेरै नेताहरूले आफूहरूको पहुँच प्रधानमन्त्रीसँग नभएकाले पार्टी सभापतिमार्फत् गुनासो पुर्याइरहेको बताएका छन् । ‘यसबारे हामीलाई जानकारी भएन, सभापतिज्यूलाई सोध्नुहोला। नत्र प्रधानमन्त्री आफैँलाई सोध्नुपर्छ’, पार्टीका एक शीर्ष नेताले भने, ‘तपाईंलाई नढाँटी भन्दा सार्वजनिक कार्यक्रममाबाहेक उहाँसँग मेरो प्रत्यक्ष कुरा भएको छैन।’
यही प्रश्न हामीले सांसद डा. अमरेशकुमार सिंहलाई गरेका थियौँ। तर उनी अघिल्ला धेरै प्रधानमन्त्रीहरूमा बोलेर काम नगर्ने प्रवृत्ति रहेकाले यसपटक बालेनले चुपचाप काममा लागिरहेको दाबी गरे। ‘बाहिर बकबक बकबक किन बोल्नुपर्यो ? पार्टी सभापति र उहाँबीच कुरो मिलिरहेकै छ। सदनमा त आउनुहोला नि, पर्खिनुहोस् न’, उनले ठाडो जवाफ दिए ।
यही प्रश्न हामीले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई केही समय अगाडि गरेका थियौँ। उनले मन्त्रिपरिषद्को जिम्मेवारी प्रधानमन्त्रीले लिएको र पार्टीको जिम्मेवारी सभापतिले लिएकाले अरू विषयमा आफूहरूलाई जानकारी नभएको बताए।
कोषाध्यक्ष लिमा अधिकारी पनि पार्टी सभापतिले र सरकार वरिष्ठ नेता बालेनले चलाउने सहमतिअनुसार अगाडि बढेको बताउँछिन् । त्यहीकारण पार्टीमा बालेनको उपस्थिति नभए पनि नेतृत्वबीच समन्यव रहेको उनको जिकिर छ।
मन्त्रिपरिषद्का तीनजना सदस्यलाई यसबारे सोधेका थियौँ। उनीहरूले पनि मन्त्रिपरिषद् बैठकमा नियमित छलफल भइरहेको बताए । तर पार्टी बैठक र सदनमा उपस्थित नभएको विषयमा आफूहरूलाई जानकारी नभएको मन्त्रीहरू बताउँछन्।
‘उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफ दिन पठाउनुभएको थियो। बिरामी चाहिँ हुनुहुन्न, कार्यव्यस्तताले उपस्थित हुनुभएन होला। हिजो बसेको मन्त्रिपरिषद्मा हामीले कुरा उठाउन पाएनौँ। जिम्मेवारी दिएपछि कुरा उठाउने पनि भएन’, एक मन्त्रीले भने, ‘सभापति र उहाँबीच कुरा मिलिरहेकै छ। हामीलाई अरू कुरा थाहा छैन। सभापतिलाई सोध्दा हरेक कुरामा छलफलबाटै अगाडि बढिरहेका भन्नुहुन्छ।’

सभापति पनि बोल्दैनन्
बालेनको गल्तीहरूलाई सभापति रविले पार्टीको बैठक र पत्रकारहरूसँग पनि बचाउ गरिरहेका छन् । तर बुधबार सदन सकिएपछि रवि सञ्चारकर्मीसँग खुलेर गफ गरेनन्। स्रोतकाअनुसार सदन सकिएपछि प्रधानमन्त्री र रविबीच सामान्य कुराकानी भएको थियो। तर पनि बिहीबार बालेन सदनमा उपस्थित भएनन्। सभामुख डीपी अर्यालले पनि बुधबारको संसद् बैठकमा प्रधानमन्त्रीलाई ल्याउने बताएका थिए । तर उनको बाचालाई बालेन आएर पूरा गरिदिएनन्।
विपक्षीले सदनमा घेरेपछि रास्पवपा नेताहरू प्रधानमन्त्री सदनमा आइदिए हुने भनेर कान फुकाफुक गरिरहेका छन् । यसैको संकेतस्वरुप बुधबारको सदनमा उपस्थित सभापति लामिछानेको मुहारमा त्यति चमक थिएन।
विगतमा प्रधानमन्त्री उपस्थित नहुँदा यसरी नै तत्कालीन प्रतिपक्षी रास्वपाले आवाज उठाएको स्मरण अहिलेका प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा र राप्रपाले गरेका छन् । त्यसले झन् रविलाई तनाव दिएको छ। प्रतिपक्षीले रवि र रास्वपा नेताहरूका विगतका कुरा कोट्याइरहँदा रवि केही मुडअफ देखिन्थे।
रास्वपामा अहिले बालेनको गतिविधिले भित्रभित्रै उकुसमुकुस हुन थालेको छ। तर बाहिर प्रकट गर्ने अवस्थामा कोही छैनन् । ‘हामीसँग पनि प्रधानमन्त्री एक्सेसमा हुनुहुन्न। भन्नुपर्ने कुरा सभापतिलाई भन्छौँ। भित्री विषय हामीलाई थाहा छैन’, एक नेताले भने, ‘सचिवालय बैठकमा पनि आउनुहुन्न, सदन पनि आउनुहुन्न, मन्त्रिपरिषद्मा मात्रै सहभागी भएपछि कसरी उहाँको कुरा थाहा हुन्छ ? सभापतिलाई सोध्दा ‘हे यार, मसँग निरन्तर छलफल भइरहेको छ’ भन्नुहुन्छ।’ ती नेताले प्रधानमन्त्री र सभापतिबीच छलफल भइरहेको जिकिर गरे।
सांकेतिक विरोध
बुधबारको संसद् बैठकमा रास्वपा सांसद रमेश प्रसाईं आक्रोशित सुनिए, देखिए । उनी आफ्नै दलको सरकारमाथि खनिए। सभापति लामिछाने र नेता दीपक बोहोरानिकट उनले जेन-जी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र पछिल्लो पटक विवादित गृहमन्त्री सुधन गुरुङबारे छानबिन कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ मागे। उनी यतिमै रोकिएनन्, ‘बाजे र हाम्रो पालाको चलन उही हुने हो भने ‘हात्ती आयो हात्ती आयो…’ जस्तै हुने भन्दै खबरदारीसमेत गरे।
‘यो देशमा आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो। रायमाझी आयोग र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नगरेर सहिदमाथि जसरी अन्याय गरियो, यदि उहिले बाजेको पाला र अहिलेको हाम्रो पालाको चाला उस्तै भए उही उखान चरितार्थ हुन्छ, ‘हात्ती आयो हात्ती आयो..’ थ्यांक्यु भेरी मच !’
बिहीबार बसेको सदनमा पनि काठमाडौं क्षेत्र नम्बर १ की रास्वपा सांसद रञ्जु दर्शनाले सांकेतिक रूपमा सुकुम्वासी आतङ्कित भएको कुरा उठाइन्। राज्यले चाँडोभन्दा चाँडो व्यवस्थापन गर्नुपर्ने माग उनले राखिन्।

‘बालेन नबदलिए रास्वपाले नेतृत्व बदल्छ’
पार्टी र सदन दुवैलाई उपेक्षा गरिरहेका वालेन्द्रको स्वभाव र त्यसले निम्त्याउने जटिलताबारे हामीले विश्लेषक इन्द्र अधिकारीसँग कुरा गरेका छौँ । अधिकारीसँग प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहार, मनोवैज्ञानिकरुपमा सभापति लामिछाने र शाहबीचको सम्बन्ध? के सरकार यसरी चल्छ ? लगायतबारे अधिकारीलाई सोधेका थियौँ ।
महानगरदेखि नै बालेनको व्यक्तित्वबारे अलिकति शङ्का थियो। बालेनको नेतृत्व लोकतान्त्रिक पद्धतिको रहेनछ भन्ने मलाई लागिसकेको थियो। जब उहाँले आफूलाई अलग्गै लिफ्ट बनाउनुभयो। सेवाग्राही र अरूलाई उहाँले चाहेका बेला भेट्ने, अरूले चाहँदा नभेट्ने परिपाटी थियो। गरिब र तल्लो तहकालाई हेलाको दृष्टिले हेर्नुभयो। गरिबीलाई हटाएर समृद्ध सहर ल्याउने होइन कि गरिब हटाएर समृद्ध सहर ल्याउने हो भन्ने उहाँको नीति देखियो। पछिल्लो चरणमा त यी सबै कुराको यथार्थ चित्र देखाउनुभयो। मन्त्रिपरिषद्को जननी नै सदन हो। प्रधानमन्त्री जवाफदेही हुनुपर्ने सदनमै हो। उहाँले जुन ढङ्गले पार्लियामेन्टलाई अपमान गर्नुभएको छ, त्यसरी महत्व नदिएको कुरालाई लिएर मतदाताले चित्त दुखाउनु भएको छ । उहाँले कसैलाई ‘मैले किन भेट्ने ? कसैलाई मैले किन जवाफ दिने ? कसैलाई किन मैले मान्ने ? गन्ने ?’ परेको देखिन्छ। त्यो निन्दनीय छ। उहाँको व्यवहारले समर्थकलाई नै उदास बनाएको छ। मतदातालाई पनि पछुताउने परिस्थिति बनेको छ। किनकि सुकुम्वासी बस्तीका नागरिकले त ‘हाम्रो मत फिर्ता दे’ भनेर नारा लगाउन थाले ।

रास्वपामा हेर्दा पनि उहाँले चुनावमा भोट माग्दा पनि दुई ठाउँमाबाहेक पार्टीको नाम लिएको सुनेको छैन। यो भएपछि लामो समयसम्म पार्टीमा काम गरेका नेताहरूको चित्त दुख्ने नै भयो। पार्टी बैठकमा पनि गएको देखिँदैन । पार्टी कार्यालयमा दुई पटक पाइला हालेको थाहा छ । सचिवालयको कुनै पनि बैठकमा उपस्थित भएको देखिँदैन। योभन्दा अप्ठ्यारो के होला ? राष्ट्रिय स्वतन्त्र पार्टीमा रणनीतिक हिसाबले प्रवेश गरेको हो कि भन्ने मलाई पहिलेदेखि नै शङ्का लाग्थ्यो। अहिलेसम्मको परिस्थितिले त्यस्तै देखाउँछ। सबैप्रतिको असन्तुष्टिको परिणाम हो रास्वपा। उनीहरूको नेतृत्व गर्ने रवि लामिछाने थिए। उनीहरू एक किसिमले संकटमा छन्। मुद्दा र विवादले उनी संकटमा देखिएपछि अगाडि सारेको पात्र डरलाग्दो देखियो। रवि धेरै हिसाबले बालेनभन्दा सक्षम हुन्। व्यक्तिगत अरू चरित्र र केसबाहेक। उनलाई पनि धेरै मिहिनेत गरेर पनि सरकारको नेतृत्वमा जान नपाउँदाको उकुसमुकुस छ । उनले पीडा बाहिर नदेखाए पनि अनुहारमा झल्किन्छ।
रास्वपा भनेर प्रवेश गरेका मान्छेहरूले पनि पार्टीलाई नमानेको परिस्थिति हुँदा कसैको मन खुसी छ जस्तो लाग्दैन। नेपाली समाज लोकतन्त्रप्रति उदार हुँदै गइरहेको छ। बालेनचाहिँ उल्टो दिशातिर हिँड्ने रहेछन् । प्रधानमन्त्रीले आफ्नो चरित्रमा परिवर्तन गरेनन्, जनअपेक्षा अनुसार उनी विकसित भएनन्, जनता र सबैलाई सुनेर काम गर्ने दिशामा आफूलाई बदल्न खोजेनन् भने रास्वपा सरकारको नेतृत्व नै बदल्ने दिशामा जान्छ।
बालेनको चरित्र राजनीतिक दलकै नेतृत्व गर्ने देखिँदैन। रवि लामिछाने र बालेनबीच समझदारीले सम्बन्ध टिकेको देखिन्छ। साँच्चै नेपाली समाजअनुकूल फेरिन नसके रास्वपाले विकल्प सोच्नुपर्ने हुन्छ। राजनीति नेपाली समाजमै गर्ने हो। ‘मलाई कसले के गर्छ र ? मभन्दा शक्तिशाली कोही छैन ’ भन्ने लाइनमा गए त समस्या हुन्छ । रास्वपा पुराना दलहरूभन्दा फरक नदेखिए त नटिक्ला नि। हामीले बाहिरबाट हेर्दा कसरी सहने ? यस्तो नेतृत्व लिएर कसरी राजनीति गर्ने भनेजस्तो देखिन्छ। पार्टीकालाई अझै धेरै चिन्ता होला। फेरि पनि भन्छु, बालेनले आफ्नो चालचलन, तरिका र विचारमा सुधार नगरे सरकारकै नेतृत्व रास्वपाले परिवर्तन गर्न सक्छ। पार्टी महाधिवेशन आउँदैछ, त्यहीँ अहिलेको उकुसमुकुस पोखिन थाल्छ ।














प्रतिक्रिया