सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो « Khabarhub

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इलाम– बिहान ३ नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन् । गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र कुँडो खुवाउने उनको दैनिकी हो । 

दुईवटा गाईको सेवासँगै दूध दुहेर उनी घर नजिक  रहेको दूध सङ्कलन केन्द्रमा ३५ लिटर दूध लिएर जान्छन् । दुग्ध सहकारीलाई बेचर उनी घर फर्किन्छन् । ‘दुग्ध सहकारीले मनासिब मूल्य दिन्छ । गाईपालनमा अझ उत्साह बढेको छ’, उनले भने ।

फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा ८४ परिवार आबद्ध छन् । तीमध्ये ४५ परिवारले नियमित रूपमा दूध बिक्री गरिरहेका छन् । सहकारीका सहसचिव ढाकाबहादुर मगर सफल दुग्ध किसानमध्ये पर्छन् । 

केही समयअघि दैनिक ७२ लिटर दूध बिक्री गर्दै आएका उनले एउटा गाई बिक्री गरेपछि उत्पादन घटेर अहिले ४८ लिटरमा सीमित भएको बताए । ‘चार माउ उन्नत जातका गाई पालेको छु । व्यावसायिक रूपमा काम गर्न सकियो भने राम्रो आम्दानी सम्भव छ’, उनले भने ।

सहकारीमा दैनिक करिब ९५० लिटर दूध संकलन हुन्छ । किसानले प्रतिलिटर ५५ देखि ७५ रुपैयाँसम्म मूल्य पाउँछन् । सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ‘ल्याक्टो’ र ‘फ्याट’को आधारमा निर्धारण गरिन्छ । घिउ र छुर्पी उत्पादनको बजार मूल्यअनुसार किसानलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

थामडाँडा सहकारीले दूध बिक्रीसँगै मूल्य अभिवृद्धि गरेर पनि आम्दानी बढाएको छ । मासिक करिब १२ क्विन्टल छुर्पी र सात क्विन्टल घिउ उत्पादन हुने गरेको छ । यी उत्पादन स्वदेशमा मात्र खपत होइन विदेश पनि निर्यात हुने गरेका छन् । सहकारीका सदस्य सुजन श्रेष्ठले उत्पादन सङ्कलन तथा बजार व्यवस्थापन गर्दै आएका छन् ।

अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार रु १२ देखि १५ लाखसम्म पुग्छ । सञ्चालन खर्च कटाएर मासिक करिब डेढ लाख रुपैयाँ बचत हुने गरेको छ ।

सहकारीले उत्पादन बढाउन प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरेको छ । मासिक ६०० लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान, ९०० लिटर पुग्नेले दुई बोरा र त्यसपछि प्रत्येक ३०० लिटरमा थप एक बोरा दिने व्यवस्था गरिएको छ । यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा बढाएको उपाध्यक्ष भोजकुमारी खनालले बताइन् ।

सह–सचिव मगरले एक समय मासिक छ बोरासम्म ब्रान निःशुल्क पाएका थिए। साथै पशु सङ्ख्या बढाउन चाहने किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको छ ।

सहकारीको यात्रा २८ परिवारबाट सुरु भएको थियो । २०६७ सालमा औपचारिक दर्ता भएपछि हाल ८४ परिवार आबद्ध भए पनि ४५ परिवार मात्र सक्रिय रूपमा दूध उत्पादनमा संलग्न छन् । सहकारीले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा ल्याएको छ ।

हाल उत्पादन करिब ९५० लिटरमै सीमित भए पनि दैनिक एक हजार लिटर पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष दङ्गालीले बताए ।

कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत सहकारीलाई व्यावसायिक योजना, तालिम, प्रविधि तथा बजार पहुँचमा सहयोग मिलेको छ । यो परियोजनाबाट ‘डिपफ्रिज’, छुर्पी सुकाउने भवन, ‘चेन पुली’ तथा ‘जेनेरेटर’जस्ता अत्यावश्यक पूर्वाधार निर्माण गरिएको छ ।

गाउँपालिकाले खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको छ भने किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालका अनुसार दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन हुने फाकफोकथुममा पशुपालन आर्थिक समृद्धिको आधार बनेको छ । ‘कृषि र पशुपालनले रोजगारी सिर्जना गरेको छ र गाउँमै सम्मानजनक जीवनको आधार बनेको छ’, उनले भने । रासस

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  २ : २४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग