आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ? « Khabarhub

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

राइडरको मृत्यु: व्यक्तिगत त्रासदी कि राज्य-प्रशासनको असंवेदनशीलता ?



गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । कसैले यसलाई सरकारी निकायसँगको विवादको परिणामका रूपमा हेरेका छन् भने कसैले जरिवाना, पार्किङ व्यवस्थापन वा व्यक्तिगत मानसिक तनावसँग जोडेर व्याख्या गरिरहेका छन् । उपलब्ध समाचारका अनुसार परिवारको जिम्मेवारी वहन गरिरहेका एक युवा राइड सेयर चालक गणेश नेपाली आर्थिक दबाबसँग संघर्षरत थिए र यही क्रममा काठमाडौँस्थित राहदानी विभाग अगाडिको घटनाले दुःखद मोड लिएको थियो ।

समाजशास्त्रीय दृष्टिले हेर्दा एउटा अझ गम्भीर प्रश्न उठ्छ– कस्तो समाजले यति धेरै असुरक्षा उत्पादन गर्छ, जहाँ एउटा सामान्य देखिने टकराव नै वर्षौंदेखि थुप्रिँदै आएको निराशाको अन्तिम बिन्दु बन्न पुग्छ ? यस प्रश्नको उत्तर खोज्न पोलिस–ब्रिटिस समाजशास्त्री जिग्मन्ट बाउमनको “तरल आधुनिकता” को अवधारणा आज झन् सान्दर्भिक देखिन्छ ।

ठोस जीवनदेखि तरल जीवनतर्फ

बाउमनका अनुसार समकालीन समाज “तरल आधुनिकता” को युगमा प्रवेश गरिसकेको छ । विगतमा मानिसको जीवन अपेक्षाकृत स्थिर संस्थामा आधारित थियो– स्थायी रोजगारी, बलिया सामुदायिक सम्बन्ध, पूर्वानुमान गर्न सकिने पेसागत यात्रा र स्पष्ट सामाजिक भूमिका । तर आज ती आधार क्रमशः कमजोर बन्दै गएका छन् ।

जीवन तरल बनेको छ । रोजगारी अस्थायी छन् । सम्बन्ध कमजोर र अनिश्चित छन् । सामाजिक सुरक्षाका संरचना अपर्याप्त छन् । पहिले समाज र संस्थाले सामूहिक रूपमा वहन गर्ने जोखिम आज व्यक्तिमाथि नै थोपरिएका छन् ।

सफलतालाई व्यक्तिगत उपलब्धि बनाइएको छ र असफलतालाई व्यक्तिगत कमजोरी । मानिस सफल भयो भने उसको परिश्रमको प्रशंसा गरिन्छ । असफल भयो भने समाज प्रायः उसैलाई दोष दिन्छ र बाउमनका अनुसार समाजमा नागरिकहरू क्रमशः “एक्ला जोखिम वहनकर्ता” मा परिणत हुँदै जान्छन् । गणेश नेपालीको जीवनकथा यही यथार्थसँग पीडादायी रूपमा मेल खाएको देखिन्छ ।

नेपालको सहरी अर्थतन्त्रमा काम गर्ने हजारौँ राइड सेयर चालकजस्तै उनको जीवन पनि प्लेटफर्ममा आधारित श्रम बजारको अनिश्चितताभित्र सीमित थियो । उनीहरूको आम्दानी दैनिक यात्रु, इन्धनको मूल्य, बजारको माग र सहरभित्रको निरन्तर गतिशीलतामा निर्भर हुन्छ ।

परिवारको जिम्मेवारी वहन गर्दै वैदेशिक रोजगारीको तयारीसमेत गरिरहेका एक युवाको जीवन सुरक्षाभन्दा बढी अनिश्चितताले परिभाषित गरिरहेको थियो । उनको जीवनको केन्द्रमा सुरक्षा थिएन, अनिश्चितता थियो ।

नयाँ “प्रेकारियट” को उदय

बाउमनको सिद्धान्तले हामीलाई राइड सेयर चालकलाई केवल “कामदार” का रूपमा मात्र नभई समकालीन समाजशास्त्रीहरूले भनेजस्तै “प्रेकारियट” भन्ने वर्गका सदस्यका रूपमा बुझ्न सहयोग गर्छ । प्रेकारियट भनेको त्यस्तो समूह हो, जसको जीविका स्थायी रूपमा असुरक्षित हुन्छ ।

प्रेकारियटको जीवन परम्परागत कामदारको जीवनभन्दा भिन्न हुन्छ । भोलिको आम्दानीको कुनै ग्यारेन्टी हुँदैन । संस्थागत सुरक्षा अत्यन्त सीमित हुन्छ । प्रत्येक दिन नयाँ आर्थिक हिसाबकिताबबाट सुरु हुन्छ ।

सरकारी वा सहरी प्रशासनका दृष्टिकोणबाट पार्किङ जरिवाना, साइकल वा मोटरसाइकलमा लगाइएको ह्विल लक, काम नै गर्न नपाएको एक दिन वा अप्रत्याशित खर्च सामान्य प्रशासनिक प्रक्रियाजस्तो लाग्न सक्छ । तर, दैनिक रोजीरोटीमा निर्भर व्यक्तिका लागि यस्ता घटनाहरूले असमान रूपमा गम्भीर प्रभाव पार्न सक्छन् । यो केवल पैसाको प्रश्न होइन, यो गरिमाको प्रश्न पनि हो ।

बाउमन चेतावनी दिँदै भन्छन्– तरल आधुनिकताले दीर्घकालीन चिन्ता र असुरक्षाको भावना उत्पन्न गर्छ, किनभने मानिसहरू आफूले नियन्त्रण गर्न नसक्ने जोखिमसँग निरन्तर जुध्न बाध्य हुन्छन् । समाज र अर्थतन्त्रले सिर्जना गरेका समस्याको जिम्मेवारी अन्ततः व्यक्तिमाथि नै आइपर्छ ।

यस्तो प्रणालीमा असुरक्षा निजीकरण हुन्छ र पीडा एक्लो अनुभव बन्छ । जब सहरले नियम उल्लङ्घन देख्छ, मानिस देख्दैन । समाजशास्त्रीय विश्लेषण गर्नु भनेको नियम र कानुनको विरोध गर्नु होइन । सहरलाई ट्राफिक नियम चाहिन्छ । सार्वजनिक स्थानको व्यवस्थापन आवश्यक हुन्छ । कानुनी शासनको महत्त्व छ । तर यहाँ प्रश्न अर्कै छ । प्रश्न यो हो कि के संस्थाले आफ्नो नियन्त्रणभित्र रहेका मानिसको असमान जीवन यथार्थलाई पहिचान गर्नुपर्छ कि पर्दैन ?

बाउमनका अनुसार जब आधुनिक प्रशासनिक संरचनाहरू क्रमशः नियमन, कार्यकुशलता र व्यवस्थापनतर्फ केन्द्रित हुँदै जान्छन्, तब मानव संवेदनशीलता र सामाजिक असुरक्षालाई बेवास्ता गर्ने खतरा पनि बढ्दै जान्छ । यही तरल आधुनिकताको एउटा विरोधाभास हो । प्रायः कोही व्यक्ति व्यक्तिगत रूपमा क्रूर हुँदैनन् र प्रशासनले अपनाएका प्रक्रियाहरू पनि कानुनी र वैध नै हुन सक्छन् । तर, त्यसको परिणाम मानवीय हिसाबले अमानवीय हुन सक्छ ।

गणेश नेपालीको दुःखद घटनाले हामीलाई यही तनावबारे सोच्न बाध्य बनाउँछ । यदि उनका परिवारले घटनापछि व्यक्त गरेका धारणाहरूलाई आधार मान्ने हो भने प्रशासनिक निकायहरूसँगको पटक–पटकको मुठभेड उनको जीवनमा सञ्चित तनावको एउटा हिस्सा बनिसकेको थियो । त्यसैले समाजशास्त्रीय प्रश्न यो होइन कि मोटरसाइकलमा लगाइएको ह्विल लक विवादले घटना निम्त्याएको हो वा होइन ?

वास्तविक प्रश्न त हाम्रो राज्य प्रशासन र समाज आर्थिक अस्तित्वको किनारमा जीवन निर्वाह गर्न विवश मानिसहरूको सञ्चित पीडाप्रति असंवेदनशील बन्दै गएको किन हो ?

“प्रयोगपछि फाल्न मिल्ने जीवन” को राजनीति

बाउमनको सबैभन्दा असहज बनाउने निष्कर्षमध्ये एक के हो भने तरल आधुनिकताले समाजमा क्रमशः त्यस्ता समूहहरूको निर्माण गर्छ, जो सामाजिक रूपमा अदृश्य महसुस गर्न थाल्छन् ।

केही वर्ग सहर सञ्चालनका लागि अपरिहार्य हुन्छन्, तर राज्यको संरक्षण र सुरक्षाको दायराभन्दा बाहिर पारिन्छन् अर्थात् किनारीकृत गरिन्छन् । राइड सेयर चालकले मानिस बोक्छन्, सामान पुर्‍याउँछन् र सहरी जीवनमा प्राण भर्छन् । उनीहरू केवल यात्रु र वस्तु ओसार्ने श्रमिक मात्र होइनन्, सहरको दैनन्दिन गतिशीलताका संवाहक पनि हुन् ।

प्रत्येक राइडमार्फत उनीहरूले इमानदारीपूर्वक राज्यलाई कर बुझाउँछन्, जसले देशको अर्थतन्त्रलाई चलायमान राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । तिनै करहरूबाट राज्य सञ्चालन हुन्छ र राज्य सञ्चालकहरूको तलब–भत्ताको व्यवस्थासमेत गरिन्छ । तर विडम्बना के छ भने, अर्थतन्त्र र सार्वजनिक जीवनलाई निरन्तर गतिशील बनाइरहेका यी श्रमिकहरू नै प्रायः सामाजिक सुरक्षा, श्रम संरक्षण तथा आधारभूत श्रम अधिकारबाट वञ्चित हुन बाध्य छन् ।

उनीहरू आवश्यक छन्, तर असुरक्षित । सहरी जीवनका दृश्यमा छन्, तर उपेक्षित । सबैतिर उपस्थित छन्, तर कहीँ पनि सुरक्षित छैनन् ।

जलनबाट ज्यान गुमाएका गणेश नेपाली, अश्विन राउत र विवेक मण्डल ।

यसैले गणेश नेपालीको घटनालाई केवल कुनै एक व्यक्ति, संस्था वा घटनाको दोषमा सीमित गर्नु पर्याप्त हुँदैन । त्यसो गर्दा यसका पछाडि रहेका गहिरा सामाजिक, आर्थिक र संरचनागत यथार्थ ओझेलमा पर्न सक्छन् ।

समस्या यो एउटा “घटना” मात्र होइन । समस्या असुरक्षाको सामान्यीकरणमा छ ।

जब हजारौँ मानिसहरू एक ऋण, एक जरिवाना, एक आकस्मिक खर्च वा एक दिनको आम्दानी गुम्नुको दूरीमा संकटपूर्ण जीवन बाँचिरहेका हुन्छन् वा बाँच्न विवश छन्, यो नै समाज खतरनाक दिशातर्फ अनियन्त्रित रूपमा अघि बढिरहेको एउटा बलियो र स्पष्ट संकेत हो ।

गणेश नेपालीको असामयिक निधनले उठाएका प्रश्न

गणेश नेपालीको मृत्यु केवल व्यक्तिगत त्रासदी मात्र होइन । यो वर्तमान नेपालको सामाजिक ऐना हो । बाउमनको दृष्टिकोणबाट हेर्दा यसले तीव्र रूपमा सहरीकरण हुँदै गएको तर आफ्ना श्रमिकलाई समान रूपमा सुरक्षा दिन नसकेको नेपालको तस्बिर देखाउँछ । यसले आर्थिक जोखिमहरू क्रमशः संस्थाबाट व्यक्तितर्फ सारिँदै गएको यथार्थ उजागर गर्छ । यसले सहरलाई गतिशील बनाउने मानिसहरू नै सबैभन्दा धेरै अनिश्चितताको भार बोक्न बाध्य भएको अवस्था देखाउँछ।

तरल आधुनिकताको सबैभन्दा असहज पाठ के हो भने निराशा प्रायः एकैचोटि जन्मिँदैन । यो असुरक्षा, अपमान, तनाव र कमजोर बन्दै गएको आशाका असंख्य क्षणबाट विस्तारै निर्माण हुन्छ । त्यसैले नेपालको सामुन्ने रहेको प्रश्न केवल एक युवा राइड सेयर चालकमाथि के भयो भन्ने मात्र होइन । प्रश्न हामीले गरिमा, सुरक्षा र आशामा आधारित समाज निर्माण गरिरहेका छौँ कि जीवन धान्ने सम्पूर्ण बोझ व्यक्तिमाथि मात्र थोपर्ने समाज ?

बाउमन हामीलाई सम्झाउँदै भन्छन्– जब पीडालाई केवल व्यक्तिगत समस्या मान्न थालिन्छ, तब राज्य र समाजले आफ्नै जिम्मेवारी देख्न छाड्छन्, अरूको थाप्लोमा दोष थोपर्ने प्रयास गर्न थाल्छन् र बिस्तारै असफलता र विग्रहको बाटोतर्फ लम्किन्छन् ।

गणेश नेपालीको मृत्युको घटनाले हामीलाई एकपटक फेरि भित्रैदेखि झस्काएको छ । यसले हाम्रो भूमिका, उत्तरदायित्व र संवेदनशीलताप्रति गम्भीर आत्मपरीक्षण गर्न बाध्य बनाएको छ तथा प्रत्येक पक्षलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक र जवाफदेही ढंगले निर्वाह गर्न चुनौती दिएको छ ।

(समावेशी शिक्षा विषयमा विद्यावारिधि (पीएचडी) गरेका मुडभरी शिक्षा, समाज र विकासका मुद्दामा क्रियाशील छन् ।)

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : २२ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२