काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा विधान संशोधनसहित विभिन्न प्रस्ताव तथा प्रतिवेदन पेश गरिएका छन्।
बन्दसत्रमा कांग्रेस नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा पुस्तान्तरणका नाममा पार्टीका हरेक आन्दोलन र संघर्षका चरणमा योगदान दिएका नेताकार्यकर्तालाई विधि र प्रक्रिया विपरीत अपमानित गर्ने काम भइरहेको उल्लेख गरिएको छ।
त्यस्तै, १५औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यलाई समेत पुनः अद्यावधिक गर्न दबाब दिनु अनुचित भएको निधिको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेस नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणापत्र प्रस्तुत गर्दै सामान्यतया एक व्यक्ति एकैपटक एक पदमा मात्र जिम्मेवारीमा रहन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
लेखकको अवधारणापत्रमा केन्द्रीय महाधिवेशनको कार्यकाल समाप्त हुन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
यसैगरी, बन्दसत्रमा कांग्रेस नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रतिवेदन र नेता एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि छलफल भइरहेको छ। छलफलपछि आइतबार आवश्यक निर्णयसहित प्रतिवेदन तथा प्रस्ताव पारित गरिने कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए।
बस्नेतले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रियामै त्रुटि रहेको दाबी गरेका छन् । उनका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिना सभापति वा महामन्त्रीले मात्र चाहेर विशेष महाधिवेशन बोलाउन वा त्यससम्बन्धी प्रस्ताव पारित गर्न सकिँदैन।
विशेष महाधिवेशन बोलाउने विषयमा विधानले तोकेको प्रक्रिया पालना गर्नुपर्ने उनको तर्क छ।












प्रतिक्रिया