सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज « Khabarhub

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको समन्वयमा मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता भएको छ ।

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी–पञ्चमी जोड्ने सडक अन्तर्गत बढीबाट समस्याग्रस्त माङसेबुङ–३ देखि ६ माङमालुङ बजारसम्म मर्मत सम्भार गरिएको हो ।

इलामको माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आफ्ना नागरिकलाई आवतजातवमा सहजता होस् भनी संयुक्त लगानीमा सडक मर्मत गरेका थिए ।

चालु आर्थिक वर्ष २०८३-०८४ को बजेटबाट माङसेबुङको १५ लाख, फाकफोकथुमको रु सात लाख र मिक्लाजुङको आठ लाखको साझेदारीमा सडक मर्मत गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

विगतका वर्षमा माङसेबुङ गाउँपालिकाले एकल लगानीमा सडक मर्मत गरिँदै आएकामा  यस वर्ष भने तीनवटै पालिकाको समन्वयमा गरिएको उक्त कार्यले आफ्नो पालिकालाई आर्थिक व्ययभार कम परेको उनले बताए। 

फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले झापाको दमक क्षेत्रबाट आफ्नो पालिका आउने सडक दमक–चिसोपानी नै भएकाले मर्मतमा साझेदारी गरिएको बताए। 

‘हाम्रो क्षेत्रका नागरिक झापा आवतजावत गर्ने नजिकको सडक यही हो,’ अध्यक्ष खनालले भने, ‘वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि प्रत्यक्ष लाभान्वित पालिकाबीच समन्वय गरी मर्मतसम्भार गरेका हौँ ।’

मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले वर्षाका कारण क्षतिग्रस्त सडक तीनवटै पालिकाको समन्वयमा मर्मतसम्भार गरी नियमित रूपमा सञ्चालन योग्य बनाइएको बताए। 

क्षतिग्रस्त  सडक  खण्डमा ग्राभेल, माटो तथा गिटी हालेर सडक सम्याउने र खाल्डाखुल्डी पुर्ने गर्ने काम गरिएको माङसेबुङ गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर टंक मगरले बताए।

सडक मर्मतभएपछि  दमकबाट इलामका माङसेबुङ र फाकफोकथुम गाउँपालिकासँगै देउमाई नगरपालिका एवम् पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा, कुम्मायक गाउँपालिकालगायतका बासिन्दलाई आवतजावत गर्न एवम् दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको छ । 

सडक मर्मतपछि हजारौँ यात्रुलाई राहत मिलेको माङसेबुङ–२ का सुरेश योङहाङले बताए। 

चौतिस वर्षमा साढे ५ किलोमिटर कालोपत्रे

सो सडक निर्माण सुरु भएको ३४ वर्षमा साढे ५ किलोमिटर मात्र कालोपत्रे भएको छ । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रूपमा विस २०४९ मा निर्माण थालिएको सडक निर्माणले पूर्णता नपाउँदा स्थानीयले वर्षौँदेखि सास्ती खेप्नुपरेको छ । झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर ट्रयाक खोलिएकोमा अहिलेसम्म साढे ५ किलो मिटर मात्र कालोपत्र छ ।

जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्म साढे ६ दशमलव २९ किलोमिटर कालोपत्रे सम्झौता भएको आठ वर्ष पुग्यो । आठ वर्षमा साढे ५ दशमलव २९ किलोमिटर मात्र कालोपत्रे भएको छ । एक किलोमिटर अधुरै छ । सो सडक खण्ड कालोपत्रेका लागि विस २०७५ साल साउन २९ गते ३० महिनामा सक्नेगरी महालक्ष्मी–किरातेश्वर जेभीले ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले चौथो पटक म्याद थप गर्दा काम सम्पन्न गरेन । अन्तिम पटक थपिएको म्याद विस २०८० साल असार मसान्तमा सकियो । २२ करोड ५९ लाख ६४ हजारमा कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । हाल ठेकेदार कम्पनी महालक्ष्मी–किरातेश्वर जेभीलेले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख इन्जिनयर श्यामकुमार यादवले बताए।

साढे दुई वर्षदेखि काम ठप्प

सो सडकको दोस्रो र तेस्रो खण्डको काम भने साढे दुई वर्षदेखि  ठप्प रहयो । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्रे गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । 

दुवै खण्ड सडक तीन वर्षमा कालोपत्रे सम्पन्न गर्नेगरी विस २०७६ फागुन २ गते ठेक्का सम्झौता भएको थियो । दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको थियो । दुवै खण्डको म्याद विस २०७९  फागुन २ गते सकिएपनि काम सम्पन्न नभएपछि विस। २०८०  पुस मसान्तसम्म म्याद थपियो ।

तर, थपिएको समयमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत मात्र काम गरेर ठेकेदार कम्पनी काम छाडेर हिँड्यो । त्यसपछि सबै काम ठप्प रहयो । 

ठेकेदार कम्पनीले हिँडेपछि विस २०८० चैत १३ गते सरकारले लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता रद्ध गरी बैंक ग्यारेन्टी जफत गर्‍यो  । त्यसविरुद्ध विपक्षी कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले रिट खारेज गरिदियो । यसअघि कम्पनीले जिल्ला अदालत झापामा करार सम्झौताको यथावत परिपालना गराइपाउँ भनी अर्को मुद्दा दायर गरेको थियो । 

सो मुद्दाको सम्बन्धमा जिल्ला अदालत झापाले विस २०८२ पुस २१ गते ‘मध्यस्थताद्वारा विवाद समाधान गराउनु पर्ने’ आदेश दिएको छ । आदेशको कार्यान्वयन हुन बाँकी रहेको सडक डिभिजन प्रमुख इन्जिनियर यादवले बताए। 

दुई वर्षपछि नयाँ आह्वान

दमक–चिसोपानी सडकको ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडक कालोपत्रे गर्न सरकारले गत असार ५ गते पुनः नयाँ ठेक्का आह्वान गरेको छ । ठेक्काको आर्थिक प्रस्ताव मुल्यांकनको प्रक्रिया छ । 

चालु आव ०८३÷८४ बाटै कार्यान्वयन हुने गरी ठेक्का आह्वान गरिएको हो । त्यसका लागि १९ वटा निर्माण कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेकामध्ये मुल्यांकनमा १८ वटा कम्पनी सफल भएका छन् । 

अहिले आर्थिक प्रस्तावको मुल्यांकन प्रक्रियामा रहेको सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवले बताए। सो सडक कालोपत्रेका लागि सङ्घीय सरकारले एक अर्ब ६४ करोडको स्रोत सहमति दिएको छ । 

निर्माण सुरु भएको साढे तीन दशकसम्म पूर्णता नपाएको सडक यस पटक भने पूरा हुनेमा स्थानीयबासी आशावादी छन् ।

 ‘वर्षोदेखि बाटो बन्छबन्छ मात्र भनियो, तर कहिल्यै बनेन,’ माङसेबुङ–२ का मिलन लिम्बूले भने, ‘नयाँ ठेक्का आह्वान भएपछि आशा पलाएको छ । आवश्यक खबरदारीसँगै सकरात्मक सहयोग गरेर यसलाई पूर्णता दिनुपर्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ४ : ०२ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै