भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो « Khabarhub

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

सार्क र इपिजीको उल्झन त्यागेर ‘क्वाइट डिप्लोमेसी’ र हाई ड्याममा केन्द्रित हुनुपर्छ



विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका माझ नेपालले आफ्नो परराष्ट्र नीतिलाई नयाँ सिराबाट समीक्षा गर्नुपर्ने बेला आएको छ । अन्तर्राष्ट्रिय राजनीतिको गतिशीलता जसरी परिवर्तनशील हुन्छ, कुनै पनि मुलुकको परराष्ट्र नीति पनि सोहीअनुरूप समायोजन र लचिलो हुनु अनिवार्य छ । तर दुर्भाग्यवश नेपालको संविधानले परराष्ट्र नीतिलाई यति ‘अररो’ (कठोर) बनाएको छ कि त्यसले न त आर्थिक समृद्धिको ढोका खोल्न दिएको छ, न त कूटनीतिक गतिशीलता नै प्रदान गर्न सकेको छ ।

संविधानका प्रावधानहरू आर्थिक समृद्धि र गतिशील परराष्ट्र नीति दुवैका लागि बाधक बनिरहेका छन् भने त्यसमा पुनर्विचार गर्न ढिलाइ गर्नु हुँदैन ।

कुनै पनि सार्वभौम राष्ट्रको परराष्ट्र नीतिको मुख्य मार्गनिर्देशक सिद्धान्त ‘नेसन फस्ट’ (राष्ट्र पहिले) हुनुपर्छ । यो आजको मात्र कुरा होइन, विगत दुई दशकदेखिको निरन्तर अडान हो । संविधान जारी गर्दाका बखत रहेका आन्तरिक राजनीतिक दायित्व अहिलेका सरकारहरूमाथि छैनन् । त्यसैले, राष्ट्रिय हितलाई केन्द्रमा राख्नका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मिलेर संविधान संशोधन गर्न अग्रसर हुनुपर्छ । संविधानका प्रावधानहरू आर्थिक समृद्धि र गतिशील परराष्ट्र नीति दुवैका लागि बाधक बनिरहेका छन् भने त्यसमा पुनर्विचार गर्न ढिलाइ गर्नु हुँदैन ।

अहिलेको सुरक्षा र कूटनीति जमिनको भूगोलमा मात्र सीमित छैन । हालै अमेरिकी राजनीतिज्ञ मार्को रुबियोको सम्बोधनले प्रस्ट पारिसकेको छ कि अब संसार आक्रामक वा रक्षात्मक रणनीति दुवैका लागि अन्तरिक्ष तर्फ मोडिएको छ । हतियार, सञ्चार र रणनीतिक पूर्वाधार अन्तरिक्षमै केन्द्रित हुँदा परम्परागत भूराजनीति अब ‘एस्ट्रोपोलिटिक्स’ र ‘एस्ट्रोस्ट्राटेजी’ मा रूपान्तरण भइसकेको छ ।

क्लाउड प्रविधि र डिजिटल उथलपुथलले मानव समाजमा गम्भीर विचलन ल्याइदिएको छ । यस्तो परिवेशमा नेपालले अझै पनि ५० वर्ष पुरानो परम्परागत चस्माबाट विश्व राजनीतिलाई हेर्नु दृष्टिदोष मात्र हुनेछ ।

अर्कोतर्फ, क्लाउड प्रविधि र डिजिटल उथलपुथलले मानव समाजमा गम्भीर विचलन ल्याइदिएको छ । यस्तो परिवेशमा नेपालले अझै पनि ५० वर्ष पुरानो परम्परागत चस्माबाट विश्व राजनीतिलाई हेर्नु दृष्टिदोष मात्र हुनेछ ।

नेपालको भूराजनीति अनिवार्य रूपमा सिनोसन्ट्रिक (चीन–केन्द्रित) र इन्डोसन्ट्रिक (भारत–केन्द्रित) दुवै हो । तर भौगोलिक अवरोध र सुगमताको व्यावहारिक तुलना गर्दा नेपालको राष्ट्रिय हित अधिक रूपमा इन्डोसन्ट्रिक छ । हाम्रो दैनिक आपूर्ति प्रणाली, प्राकृतिक भूगोल, सांस्कृतिक सम्बन्ध, पारवहन र सामुद्रिक पहुँच भारततर्फ नै जोडिएको छ । अझ महत्वपूर्ण कुरा– भारतको सबैभन्दा सघन जनसंख्या भएको विशाल बजारसँग नेपालको सिमाना जोडिएको छ ।

तर विडम्बना के रह्यो भने, विगत ७५ वर्षदेखि नेपालमा ‘भारतीय बजारसँग पाखुरा सुर्किनुलाई नै राष्ट्रवाद’ ठान्ने गलत राजनीतिक भाष्य निर्माण गरियो । यो भाष्य नेपालको भूराजनीतिक इतिहासकै सबैभन्दा ठुलो ‘ब्लन्डर’ थियो । आज विश्वका ठूलाठूला अर्थतन्त्रहरू बजार खोज्न टाउको फोरिरहेका छन्, तर हामी भने आफ्नो छेवैमा रहेको ११० करोड जनसंख्याको बजारसँग दूरी बनाएर बसेका छौँ । यो आत्मघाती भाष्यबाट मुक्त भएर आर्थिक अवसरको लाभ लिने बेला आएको छ ।

नेपालको पर्यटन क्षेत्र केवल प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित छैन; हाम्रो वास्तविक शक्ति ‘तीर्थाटन’ हो । भारतमा ११० करोड हिन्दु धर्मावलम्बी छन् र उनीहरूका सर्वोच्च आस्थाका पवित्र स्थलहरू नेपालमा छन् । विगतका कुनै पनि प्रधानमन्त्रीले यो विशाल बजारलाई लक्षित गरी नेपालको सांस्कृतिक भूगोलको प्रभावकारी बजारीकरण गर्न सकेनन् । वर्तमान सरकार र नेतृत्वले यसलाई द्विपक्षीय आर्थिक कूटनीतिको मुख्य एजेन्डा बनाउनुपर्छ ।

ऊर्जाको विश्व राजनीति फोसिल फ्युलबाट क्रिटिकल मिनरल्सतर्फ मोडिएको छ । तर नेपालका सन्दर्भमा पानी नै हाम्रो मुख्य भाग्यरेखा हो । नेपालमा जलाशययुक्त बाँध बनाउने विषयमा लामो समयदेखि नकारात्मक भाष्य खडा गरियो । तर हालै नेपालले भोगेका दुई विनाशकारी बाढीपहिरोले हाई ड्याम नबनाई बाढी नियन्त्रण र पानीको व्यवस्थापन सम्भव छैन भन्ने तथ्य स्वयं बाँध विरोधीहरूलाई पनि बुझाइसकेको छ ।

अहिलेको राजनीतिक संस्थापनसँग विगतको पूर्वाग्रहको ब्यागेज नभएकाले भारतसँग पानी स्थानान्तरण, जलमार्ग, सेडिमेन्ट नियन्त्रण र विपद् व्यवस्थापनलाई केन्द्रमा राखी ‘वाटर–सेन्ट्रिक इन्गेजमेन्ट’ अघि बढाउने यो नै सबैभन्दा उपयुक्त समय हो ।

यसबाहेक, गङ्गा नदीमार्फत नेपालको समुद्रसम्म पहुँच पुर्‍याउन कालुघाटसम्म इनल्यान्ड नेभिगेसन (जलमार्ग) को सर्भे भइसकेको छ । तर यसको मुख्य जटिलता भनेको सुक्खायाममा भागीरथी–हुगली नदीमा पानीको सतह (ड्राफ्ट) नपुग्नु हो । भारतले फरक्का सम्झौताअनुसार बङ्गलादेशलाई पानी छाडेपछि कलकत्ता बन्दरगाहसम्म ठूला पानीजहाज चलाउन पानी अपुग हुन्छ । भारतले यमुना र भागीरथीमा टिहरी बाँध बनाइसकेको छ; अब वर्षातको पानी सञ्चिति नेपालमा नगरेसम्म जलमार्गको सपना पूरा हुन सक्दैन ।

संसारमा माथिल्लो तटीय देशले बाँध बनाउँदा तल्लो तटीय देशले युद्धको धम्की दिन्छन् । तर नेपाल यस्तो भाग्यमानी देश हो, जहाँ तल्लो तटीय देश आफैँले ‘हाइ ड्याम बनाऊ’ भनेर आग्रह गरिरहेको छ । यस्तो स्वर्णिम अवसर पाउँदा पनि हामी भाग्नु मूर्खता हो । अहिलेको राजनीतिक संस्थापनसँग विगतको पूर्वाग्रहको ब्यागेज नभएकाले भारतसँग पानी स्थानान्तरण, जलमार्ग, सेडिमेन्ट नियन्त्रण र विपद् व्यवस्थापनलाई केन्द्रमा राखी ‘वाटर–सेन्ट्रिक इन्गेजमेन्ट’ अघि बढाउने यो नै सबैभन्दा उपयुक्त समय हो ।

​​​​​​​नेपाल–भारत सम्बन्धमा दशकौँदेखि एउटा गम्भीर त्रुटि हुँदै आएको छ, प्रत्येक उच्चस्तरीय भ्रमणको प्रस्थान विन्दुमै उत्तेजक वा विवादित विषयहरूलाई अगाडि सारिन्छ । जसका कारण हाम्रा धेरैजसो द्विपक्षीय भ्रमणहरू उपलब्धिहीन हुने गरेका छन् ।

सन् १९५० को शान्ति तथा मैत्रीसन्धिको धारा १० अनुसार नेपालले कि एक वर्षको पूर्वसूचना दिएर यसलाई खारेज गर्न सक्छ, कि पालना गर्नुपर्छ । तर आजको विश्व परिवेश सामान्य छैन ।

वर्तमान सन्दर्भमा सार्क र इपीजी प्रतिवेदन भारतीय राजनीतिक संस्थापनका लागि इरिटेन्ट प्रमाणित भइसकेका छन् । त्यसैले द्विपक्षीय वार्ता सुरु गर्दा सार्क र इपीजीको पुरानो गलपासोबाट होइन, सीमा व्यवस्थापन र आर्थिक एजेन्डाबाट सुरु गर्नुपर्छ । संवेदनशील र जटिल विषयहरूलाई मिडियामा उछालेर आन्तरिक चुनावी भोट ब्याङ्कको औजार बनाउने सस्तो लोकप्रियतावादी शैली त्याग्नुपर्छ । यस्ता विषयलाई कूटनीतिक च्यानलमार्फत ‘क्वाइट डिप्लोमेसी’बाट सुल्झाउनुपर्छ ।

सन् १९५० को शान्ति तथा मैत्रीसन्धिको धारा १० अनुसार नेपालले कि एक वर्षको पूर्वसूचना दिएर यसलाई खारेज गर्न सक्छ, कि पालना गर्नुपर्छ । तर आजको विश्व परिवेश सामान्य छैन । युक्रेन युद्धपछि संसारको राजनीतिक भूगोलमा भयङ्कर ठूलो हलचल आएको छ । दोस्रो विश्वयुद्धपछि महाशक्तिहरूले कोरेको विश्व संरचना हल्लिएको छ र संयुक्त राष्ट्रसङ्घको भूमिका अत्यन्त कमजोर एवं प्रभावहीन बनेको छ ।

विश्व राजनीतिक भूगोलमा यस्तो महाउथलपुथल भइरहेको विषम परिस्थितिमा सन् १९५० को सन्धिलाई एकाएक उधिन्नु कूटनीतिक बुद्धिमानी हुन सक्दैन ।

विश्व राजनीतिक भूगोलमा यस्तो महाउथलपुथल भइरहेको विषम परिस्थितिमा सन् १९५० को सन्धिलाई एकाएक उधिन्नु कूटनीतिक बुद्धिमानी हुन सक्दैन । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति–सन्तुलनको गम्भीर विश्लेषण नगरी लहडका भरमा सन्धि पुनरावलोकनको मुद्दा उठाउने यो उपयुक्त समय होइन ।

नेपालको परराष्ट्र नीति अब ७५ वर्षे परम्परागत पूर्वाग्रह, काल्पनिक सङ्कीर्णता र खोक्रो राष्ट्रवादको बन्दी बनिरहन सक्दैन । विश्वको बदलिँदो सुरक्षा आयाम, प्रविधिको विकास, छिमेकीको विशाल बजार र हाम्रो अतुलनीय जलस्रोतलाई जोडेर ‘नेसन फस्ट’ को स्पष्ट रोडम्याप तय गर्नुपर्छ । आवेग, प्रतिष्ठा र भोट ब्याङ्कको राजनीतिबाट माथि उठेर आर्थिक कूटनीति, शान्त संवाद र जल–साझेदारीमा अघि बढ्नु नै नेपालको दीर्घकालीन हितको एकमात्र राजमार्ग हो ।

(राजनीतिक तथा भूराजनीतिक विश्लेषक सुवेदीले इन्स्टिच्युट फर स्ट्र्याटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च सेन्टरद्वारा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ९ : ४९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।