काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज बनाउने उद्देश्यले अघि बढाइएको परियोजनाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।
लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’ मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ जितेको हो।
हिमाल चढ्ने र पदयात्रामा जानेहरूका लागि भरियाहरूको योगदान निकै महत्त्वपूर्ण हुन्छ। उनीहरूले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच भारी सामान तथा आरोहणका उपकरण बोकेर काम गर्छन्। तर, उनीहरूका लागि सुरक्षित आश्रय र आवश्यक सुविधाको अभाव चुनौतीका रूपमा रहँदै आएको छ।
यही समस्यालाई ध्यानमा राखेर निर्मल पुर्जा (निम्सदाई) को नेतृत्वमा लोबुचेमा पोर्टर हाउस निर्माण गरिएको हो। यसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई विश्राम गर्न र आश्रय लिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
निम्सदाई फाउन्डेसनका अनुसार, यो परियोजना स्थानीय कामदार, इन्जिनियर, भरिया, समुदाय, दाता तथा विभिन्न साझेदार संस्थाहरूको सामूहिक प्रयासबाट सम्भव भएको हो। दुर्गम हिमाली क्षेत्रमा निर्माण सामग्री पुर्याउनदेखि निर्माण कार्य सम्पन्न गर्नसम्म धेरैको योगदान रहेको छ।
सामुदायिक प्रभाव विधामा परियोजना अन्तिम प्रतिस्पर्धीसम्म पुगेको थियो। मुख्य अवार्ड प्राप्त गर्न नसके पनि ‘हाइली कमेन्डेड’ सम्मान पाउनुलाई फाउन्डेसनले परियोजनाको सामाजिक योगदानको कदरका रूपमा लिएको छ।
फाउन्डेसनले यस उपलब्धिले हिमाली समुदायका लागि थप काम गर्ने प्रेरणा मिलेको जनाउँदै पुर्जाको परिकल्पनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
हिमालमा काम गर्ने श्रमिकको आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढाइएको यो परियोजनाले पर्वतीय पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने श्रमिकको सुरक्षा र सुविधाबारे पनि ध्यान आकर्षित गरेको छ।

















प्रतिक्रिया