दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् ।
प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे ।
महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको दाबी गरे । ‘प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु सामान्य विषय होइन’, उनले भने, ‘यस्ता गतिविधिलाई ढाकछोप गर्ने निर्णयले हिंसा र अराजकतालाई प्रोत्साहन गर्छ ।’
उनले ‘नयाँ शक्ति’ को नाममा कानुनी राज्यलाई चुनौती दिन नहुने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत सिद्धान्तको आधारमा यस्तो निर्णयको विरोध गर्न सक्नुपर्ने धारणा राखे । प्रहरीको मनोबल गिराउने कार्यले देशमा शान्ति–सुरक्षा कायम हुन नसक्ने बताउँदै उनले सरकारका गतिविधि सुरक्षा निकायको मनोबल बढाउनेतर्फ केन्द्रित नभएको आरोप लगाए ।
राजनीतिक स्थायित्वबारे बोल्दै पोखरेलले दलहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने स्पष्ट पारे । उनले नेपाली कांग्रेसलाई समयमै सचेत भएर आन्तरिक एकता मजबुत बनाउन सुझाव दिए । संविधान र संसद् पुनःस्थापनाको बहसमा एमालेको धारणा स्पष्ट रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै निर्वाचनमार्फत् निकास खोज्न एमाले तयार रहेको बताए ।
लोकप्रियतावाद लोकतन्त्रको विकल्प नभई अराजकतावादतर्फ धकेल्ने खतरा भएको उल्लेख गर्दै पोखरेलले अहिले पुरानो र नयाँ पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गरी समाज र देशलाई विभाजन गर्ने प्रयास भइरहेको बताए ।
नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भइरहेका षड्यन्त्रविरुद्ध देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै महासचिव पोखरेलले लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी राजमाथि गम्भीर चुनौती बढ्दै गएको भन्दै राज्यलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरे ।
उनले नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस टुक्रिनु दुःखद् भएको टिप्पणी गर्दै लोकतान्त्रिक आन्दोलनका लागि यो नकारात्मक पक्ष भएको बताए । उनले कांग्रेसलाई अन्तरसंघर्षबाट एकतामा फर्किन ढिलाइ नगर्न आग्रह गरे ।
महासचिव पोखरेलले आमनिर्वाचनको सन्दर्भमा सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाए । माघ ६ गते उम्मेदवारी घोषणा भइसकेको भए पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उनको भनाइ थियो ।
शान्ति–सुरक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले प्रहरीको मनोबल बढाउनु मुख्य आवश्यकता भएको बताए ।
राज्य नागरिकको भरोसा भएको उल्लेख गर्दै अपराधमा संलग्नहरू राज्यसँग डराउने अवस्था नबन्दासम्म समाजमा अराजकता फैलिरहने चेतावनी दिए ।
महासचिव पोखरेलले आन्दोलनका क्रममा लुटिएका हतियार र कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । एमालेले संगठित रूपमा गतिविधि नबढाउँदा पनि समाजमा शान्ति कायम गर्न सहयोग पुगेको र अन्य दलहरूलाई पनि गतिविधि सञ्चालन गर्न मद्दत भएको उनको दाबी थियो ।
अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै उनले विश्व व्यवस्थामा हलचल देखिएको र संयुक्त राष्ट्रसंघको संरचना कमजोर पार्ने प्रयासले नेपाल जस्तो संवेदनशील मुलुक सतर्क हुनुपर्ने बताए । संविधान ‘घाइते’ बनाइएको अवस्थामा संसद पुनःस्थापनाको बाटोमा जानु आजको आवश्यकता भएको उनको भनाइ थियो । चुनाव हुने अवस्था आए एमाले निर्वाचनबाट नभाग्ने र जनादेशबाट मुलुकलाई व्यवस्थित गर्न तयार रहेको उनले स्पष्ट पारे ।
पार्टी अद्यावधिक हुने प्रक्रियाबारे बोल्दै उनले राजनीतिक दल पुराना–नयाँ नभई नीति र नेतृत्व अद्यावधिक गर्ने आधारमा नयाँ हुने बताए । ‘रास्वपाभन्दा एमाले बढी अद्यावधिक नयाँ पार्टी हो’, उनले भने । पपुलिजमलाई लोकतन्त्र नभई अराजकतावादको संज्ञा दिँदै यसले लोकतन्त्रलाई खतरातर्फ धकेल्ने चेतावनी दिए ।
आमनिर्वाचनको विषयमा एमाले छलफलमै रहेको जनाउँदै उनले १६५ सिटमै उम्मेदवार तय गरेर अघि बढ्ने तयारी रहेको बताए । केही क्षेत्रमा सहकार्यका लागि संवाद भइरहेको र विप्लव समूह तथा प्रगतिशील दलहरूले एमालेसँग सहकार्यको इच्छा व्यक्त गरेको पनि उनले जानकारी दिए ।













प्रतिक्रिया