कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति « Khabarhub

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन ।

सन् २०२० जुनमा चाइना रेलवे नं २ इञ्जीनियरिङ ग्रुपसँग भएको सम्झौताअनुसार यो सडक २८ अक्टोबर २०२३ मै सम्पन्न हुनुपर्ने थियो । साइट क्लियरेन्स र कोरोना महामारीको कारण देखाउँदै पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थपिएको थियो । हालै आगामी जुनसम्मका लागि तेस्रो पटक छ महिना म्याद थपिएको छ ।

कूल १६ अर्ब आठ करोड ५० लाखभन्दा बढी लागतको यो परियोजनामा पूर्वी खण्ड (कञ्चनपुर–कुसहा ३९ दशमलव ४२ किमि) र पश्चिम खण्ड(कुसहा–कमला ४७ दशमलव चार किमी) गरी दुई भागमा काम भइरहेको छ ।

पूर्वी खण्ड : ६७ प्रतिशत प्रगति 

लहानस्थित पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर राजीव झाका अनुसार यो खण्डमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ । चौबिस किलोमिटर सडक चार लेनमा कालोपत्र भइसकेको छ भने ११३ कल्भर्ट र २० पुलमा सवारीसाधन गुड्न थालेका छन् ।

छ लेन बनाउनुपर्ने बजार क्षेत्र कञ्चनपुर, महुली, रुपनी, कल्याणपुर लगायतमा भने स्थानीय अवरोधका कारण काम सुस्त छ । इञ्जीनियर झाले भने, ‘प्राविधिक रूपले अनावश्यक ठाउँमा पनि नाला बनाउन स्थानीयको दबाब र विभिन्न अवरोधले गर्दा काम नियमित हुनसकेको छैन, यद्यपि थपिएको म्यादभित्रै काम सक्ने गरी लागेका छौँ ।’

पश्चिम खण्ड : ओभरपास र डिजाइनको सकस

पश्चिम खण्ड मिर्चैया कार्यालयको रिपोर्टअनुसार गत असोज मसान्तसम्म ३० दशमलव ८५ किलोमिटर चार लेन सडक निर्माण भएको छ । एक सय १२ कल्भर्ट र २५ पुलमध्ये १२ सञ्चालनमा आइसकेका छन् । तर, गोलबजार खण्डमा डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कामले गति लिन सकेको छैन ।

कार्यालयका सूचना अधिकारी अनुपम साहका अनुसार लहान र मिर्चैयामा ओभरपासका लागि पाइल फाउण्डेसनको काम भइरहेको छ । लहानमा माटो कमजोर देखिएकाले २० वटा ग्राभेल फाउण्डेसनको काम गरिएको उनले बताए । लहान बसपार्क र प्रादेशिक अस्पताल अगाडि आकाशे पुलको जग निर्माण पनि सकिएको छ ।

धुलो, धुँवा र दुर्घटनाको जोखिम

निर्माण कार्यमा भएको ढिलाइले मुख्य बजार क्षेत्रका बासिन्दा र यात्रुले चरम सास्ती भोग्नुपरेको छ । विशेषगरी लहान र मिर्चैया खण्डमा ओभरपास निर्माण सुस्त हुँदा सडक अस्तव्यस्त छ । सडकको दुवैतर्फ बनाइएका साँघुरा डाइभर्सन र उड्ने धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । पुलका रेलिङ, रङ्गरोगन र एक्सपान्सन ज्वाइन्ट जस्ता फिनिसिङका काम अझै बाँकी रहँदा यात्रा जोखिमपूर्ण बनेको छ ।

त्यस्तै, मुख्य सडक चार लेन र बजार क्षेत्रमा छ लेनको हुने यस सडकमा पुल, कल्भर्ट र ओभरपास जस्ता संरचनाको अन्तिम फिनिसिङका काम अझै बाँकी रहेका छन् । एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको यो सडक विस्तारमा भेरिएसनसहित करिब रु १६ अर्ब आठ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ४० बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि