माघे संक्रान्तिका परिकार ‘सुपर फुड’ « Khabarhub

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा, मौसम र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको चाडका रूपमा मनाइन्छ । विभिन्न जाति तथा समुदायले आ–आफ्नै संस्कृति अनुसार माघे संक्रान्ति मनाए पनि यस दिन खाइने तरुल, सखरखण्ड पिँडालु, चाकु तिलको लड्डु, खिचडी लगायतका परिकारहरूमा भने समानता देखिन्छ ।

फरक फरक चाड पर्वमा मौसम सुहाउँदो परिकार जस्तै दशैँ–तिहारमा माछामासु र मिठाई विशेष मानिएझैँ माघे संक्रान्तिमा खाइने यी परिकार पनि चिसो मौसमका लागि उपयुक्त मानिन्छन् ।

चिसो मौसममा शरीरले बढी ऊर्जा खर्च गर्ने भएकाले माघे संक्रान्तिमा खाइने परिकारहरू पोषण र स्वास्थ्यका दृष्टिले अति उपयोगी मानिने पोषणविद् बताउँछन् । त्यस्तै विभिन्न रोगका विषयमा विज्ञता हासिल गरेका विज्ञ चिकित्सकहरू चाडपर्वमा खाइने परम्परागत परिकारहरू एकदमै स्वस्थबद्धर्क भएको दावी गर्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफ्नो युट्युब च्यानलमार्फत एक सन्देश दिँदै चिसो मौसम र हाम्रो परम्परासँग जोडिएका ‘तिल’ सामान्य गेडागुडी नभई ‘सुपर फुड’ वा ‘म्याजिक फुड’ भएको बताएका छन् ।

विशेष गरी जाडोयाम र माघे संक्रान्तिका बेला नेपाली भान्सामा तिलको लड्डु वा अचार खाने परम्परा छ । हाम्रा पुर्खाहरूले चलाएको यो चलन वैज्ञानिक दृष्टिकोणले समेत निकै बुद्धिमानीपूर्ण रहेको पुष्टि हुने उनी बताउँछन् ।

डा. अनिलका अनुसार फाइबरको भण्डार मानिएको तिलले कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रणमा राख्न काम गर्छ भने यसलाई प्रोटिनको उत्कृष्ट स्रोत पनि मानिएको छ । रक्तचाप र मुटुको सुरक्षा, हाडजोर्नीका लागि वरदान, इन्फ्लामेसन कम गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, भिटामिन बी को स्रोत, रगतको कमी हुन दिँदैन ।

रजोनिवृत्तिमा सहजता, जाडोमा जोर्नी दुख्ने, बाथ रोग बल्झिने र रोग प्रतिरोधात्मक क्षमता कम हुने समस्यालाई तिलले प्राकृतिक रूपमै समाधान गर्न यसले मद्दत पुर्‍याउने उनको दाबी छ ।

माटोमुनि फल्ने कन्दमूल : जाडोको ऊर्जा स्रोत
माघे संक्रान्तिका प्रमुख परिकार मानिएका कन्दमूल तरुल र सखरखण्डमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ ।

साथै फाइबर, पोटासियम, फस्फोरस र अन्य खनिज पदार्थको मात्रा बढी हुने भएकाले पाचन प्रणालीलाई समेत सहयोग पुग्छ । कब्जियतको समस्या भएकालाई यी कन्दमूल उपयोगी हुने पोषणविद् भुपाल बानियाँ बताउँछन् ।

उनका अनुसार तरुल र सखरखण्डले शरीरलाई तताउने काम गर्नुका साथै जाडोमा आवश्यक ऊर्जा प्राप्त हुन्छ । केही मात्रामा क्याल्सियमको आवश्यकता पनि पूरा गर्ने भएकाले यी परिकार स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

सन्तुलित र सजिलै पच्ने भोजन : खिचडी 
पोषणविद् बानियाँका अनुसार दाल, चामल र विभिन्न मसला मिसाएर बनाइने खिचडीलाई सन्तुलित भोजनका रूपमा लिइन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन, फाइबर, क्याल्सियम, म्याग्नेसियम र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । मुलायम र सजिलै पच्ने भएकाले बिरामी अवस्थामा समेत खिचडी खाने चलन रहेको छ ।

खिचडीले शरीरलाई ऊर्जा दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बताइन्छ । पित्त र कफसम्बन्धी समस्यामा पनि यो उपयोगी मानिने उनले बताए ।

चाकु र तिलको लड्डु : शक्ति दिने खान्की
माघे संक्रान्तिमा चाकु र तिलको लड्डु नखाई पर्व अधुरोजस्तै मानिन्छ । घिउ, तिल, बदाम, नरिवल र अन्य नट्स मिसाएर बनाइने चाकुमा क्यालोरीको मात्रा धेरै हुन्छ ।

तिल आइरनको राम्रो स्रोत भएकाले यी परिकारले शरीरलाई शक्ति प्रदान गर्ने पोषणविद् बानियाँले बताए । तर यी परिकार सीमित मात्रामा खान उनको सुझाव छ ।

धेरै खाँदा हुने बेफाइदा 
पर्वको नाममा जथाभावी खाने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्नेतर्फ पोषणविद् बानियाँले सचेत गराएका छन् । उनका अनुसार तरुल र सखरखण्डमा कार्बाेहाइड्रेटको मात्रा बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले धेरै सेवन गर्दा समस्या हुन सक्छ ।

त्यस्तै चाकु र तिलको लड्डु अत्यधिक खाँदा तौल वृद्धि र अन्य स्वास्थ्य समस्या देखिन सक्छ । मिर्गौला, मुटु रोगी तथा दीर्घरोगीले यस्ता परिकार सेवन गर्दा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने पोषणविद् बानियाँको सुझाव छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ४३ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई