काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त बनाएका धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङको प्रभाव कोशी प्रदेशमा बलियोसँग देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ मध्ये १०९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको यो पार्टीले श्रम संस्कृतिलाई प्रोत्साहन गर्ने मुख्य एजेण्डा बनाएको छ ।
प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव र जगतको रक्षा एवम् उन्नति गर्न सक्दछ भन्ने मान्यता र त्यस्तो अवस्थाका लागि श्रम र श्रमदान अनिवार्य गर्ने कुरालाई पार्टीले जोड दिएको छ । साम्पाङको पार्टीलाई मतदाताले कति माया गर्छन्, चुनावपछि थाहा हुनेछ ।
पुराना दलले केही गरेनन्, नयाँ आउनुपर्छ भन्ने भाष्य अहिले चलिरहेको छ । तर, नयाँहरूको एजेण्डा पुरानालाई ढाल्नेबाहेक अरू देखिँदेन । मतदाताले नयाँको एजेन्डालाई कतिको अवलम्बन गर्छन् चुनावपछि थाहा हुने पुराना दलका नेताहरू बताउँछन् ।
१०५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका पनि हर्कबाहेक अरू उम्मेदवारलरे जित्न सक्ने देखिँदैन । सुनसरी-१ बाट उम्मेदवारी दिएका हर्ककै पनि जित सुनिश्चित छैन ।
तर, उनी यो कुरा मान्न तयार छैनन् । आफ्नो पार्टीका धेरै उम्मेदवारले सम्मानजनक मत ल्याएर विजय हासिल गर्ने हर्कको दाबी छ । यति मात्रै होइन, निर्वाचनपछाडि आफू नै प्रधानमन्त्री हुने भन्दै उनी हिँडिरहेका छन् । तैपनि हर्कलाई आफ्नै निर्वाचन क्षेत्र सुनसरी-१ मै चुनाव जित्न चुनौती छ ।
आफैँलाई चुनौती
२०७९ को निर्वाचनमा तत्कालीन जसपा नेपालका उपाध्यक्ष अशोक राईसँग ४४६ मतान्तरले पराजित गोमा तामाङ शरिनले यो पटक हर्कलाई चुनौती दिइरहेकी छन् । सुनसरी-१ बाट हर्कसँग प्रतिस्पर्धमा रहेकी गोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा गोमाको मतलाई हेर्दा यो पुष्टि हुन्छ । त्यसबेला रास्वपाले कोशीमै सबैभन्दा बढी मत सुनसरी १ बाट ल्याएको थियो ।
गोमाले १६ हजार ६०६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेकी थिइन् । अशोक र गोमाको मतान्तर ४५३ मात्रै थियो । तत्कालीन वाम गठबन्धनका उम्मेदवर मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याए । राप्रपाका उम्मेदवार अशोक राई अविरलले पनि ७ हजार ८०४ मत ल्याए ।
यस क्षेत्रमा धरान उपमहानगरपालिकाका सबै २० वटा वडा पर्ने भएकाले हर्कलाई वडाबासीहरूले मत दिने विश्वास छ । धरानसँगै यस क्षेत्रमा रामधुनी नगरपालिकाको ६ र ७ वडा, बराहक्षेत्र गाउँपालिकाको १ र ५ वडा पर्छन् । तर वडाबासीहरूको भावनाअनुसार काम नगरेको र वडाध्यक्षहरूसँग पनि टकराव गरेकााले अपेक्षाकृत मत नआउने सम्भावना रहेको धरानका व्यवसायी देवेन्द्र तामाङ बताउँछन् ।
‘हर्क दाइलाई धरान उपमहानगरपालिकाबाटै भनेजस्तो मत आउँदैन । उहाँलाई सुनसरी-१ बाट चुनाव जित्न निकै कठिन देखिन्छ,’ उनी भन्छन, ‘हामीलाई त हर्क र गोमा दुवै जना नयाँ हुन् । दुवैजना आइदिउन् भन्ने लागेको छ तर परिस्थिति त्यस्तो छैन ।’
२०७९ को निर्वाचनमा लौरो चुनाव चिह्न पाएका हर्कले २० हजार ८२१ मत पाएर मेयर जितेका थिए । तत्कालीन धरानका मेयरको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा उनी पराजित भएका थिए ।
त्यसबेला उनका प्रतिद्वन्दी तत्कालीन माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याइन् ।
सुनसरी-१ बाट गोमा र हर्कको मतान्तर झिनो हुने अनुमान छ । जित पनि अप्रत्याशित हुने आँकलन स्थानीय मतदाताले गरेका छन् । गोमाको पक्षमा लहर चलिरहँदा हर्क पनि घरघर पुगेर खटिरहेका छन् । यसो हुँदा यहाँको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

ठूला दलको मत काट्दै
हर्कको पार्टीले कोशीका जिल्लाहरूमा जित्ने सम्भावना नरहे पनि ठूला पार्टीहरूको मत काट्ने अवस्था छ । पार्टीले कोशीका जिल्लाहरूमा पहिचान पक्षधरलाई एकीकृत गर्न नसक्दा कमजोर देखिन्छ । हर्कले झापा-५ बाट आफ्नो पार्टीका नेताले केपी ओलीलाई हराउने बताउँदै आएका छन् । तर झापा-५ बाट हर्कले उठाएका समिर तामाङले पनि त्यहाँ जित्न असम्भव छ ।
दुई हेभीवेट एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई अरू हराउने सम्भावना नरहेको दमकका व्यवसायी आशुतोष भण्डारी बताउँछन् ।
भण्डारीका अनुसार अहिले त्यहाँका मतदाता ओली या बालेन पक्षमा विभाजित छन् । अन्य पार्टीको छिटफुट नाम आइरहेको छ । समिरको पक्षमा कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, गौरादह गाउँपालिका र दमक नगरपालिकाका आदिवासी जनजाति मतदाताले भोट दिने अवस्था छ ।
यस्तै कोशीको अर्को क्षेत्र भोजपुरमा पनि हर्कको पार्टीले एमालेका उम्मेदवार शेरधन राईलाई अफ्ठ्यारोमा पार्ने अवस्था छ । कांग्रेसका उम्मेदवार बालकृष्ण थापा र नेकपाका उम्मेदवार उम्मेदवार अजम्बर काङमाङको पनि राम्रै मत माटोले काट्न सक्छ । भोजपुरमा माटोका उम्मेदवार ध्रुवराज राईलाई त्यहाँका किरात राई समुदायसहित जनजातिले मत दिने अवस्था छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा राई टेम्केमैयुङ गाउँपालिका अध्यक्ष हुन् । उनको पक्षमा त्यहाँका आदिवासी जनजाति र किरात समुदायहरू आकर्षित देखिन्छन् । किरात राई समुदायको उल्लेखनीय बसोबास रहेको भोजपुरमा ठूला पार्टीलाई ध्रुवराजले चुनौती दिन सक्ने अवस्था रहेको स्थानीय डम्बर राई बताउँछन् । उनका अनुसार यहाँ रास्वपाभन्दा श्रम संस्कृति पार्टी बलियो छ ।

श्रम संस्कृति पार्टीबाट कोशीका १४ जिल्लामा विभिन्न अन्य दल छाडेर आएका उम्मेदवारहरू छन् । पाँचथरबाट हस्तराज शर्मा ब्रबिन छन् । उनले पनि नेपाली कांग्रेस र नेकपा एमालेको मत काट्ने देखिन्छ ।
राई लिम्बू समुदायको बहुल्यता रहेको पाँचथरमा पहिचानको पक्षमा रहेको नेपाल परिवर्तन पार्टीलाई आदिवासी जनजाति समुदायको मत जाने देखिन्छ ।
यो क्षेत्रमा पहिचानवादी नेता डाक्टर महेन्द्र लावतीसहित अन्य नेताहरू पनि उनको पक्षमा छन् । श्रम संस्कृति पार्टीले ताप्लेजुङमा सन्तोष राईलाई उम्मेदवार बनाएको छ । राईले पनि कांग्रेस एमालेसहित पहिचानवादीको मत काट्ने अवस्था छ । तर उनी प्रतिस्पर्धामा आउने सम्भावना कम रहेको अनुमान छ।
इलाम-१ बाट विनोद नेम्वाङ लिम्बू उम्मेदवार छन् । उनलाई पहिचान पक्षधर र आदिवासी जनजाति समुदायले मत दिने अवस्था छ। त्यहाँ नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था छ ।
उपनिर्वाचनमा इलाम-२ बाट पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमको सम्मानजनक मत आएको थियो । तर, थेगिमसहितका नेताहरूले अहिले माटोमा मतदान गर्ने या राष्ट्रिय परिवर्तन पार्टीलाई मतदान गर्ने भन्ने विषयमा एक मत छैनन् ।
उपनिर्वाचनमा थेगिङलाई मत माग्न हर्क साम्पाङ तीन पटक इलाम पुगेका थिए । तर, बीचमा थेगिम र साम्पाङको सम्बन्ध बिग्रिएकाले थेगिमले कसलाई मतदान गर्छन् भन्ने विषय खुलेको छैन ।
इलाम-२ बाट श्रम संस्कृति पार्टीले सुदीप राईलाई उम्मेदवार बनाएको छ । सुदीपको पक्षमा माङ्सेबुङसहित फाकफोकथुम गाउँपालिकाका मतदाताहरूले भोट गर्ने देखिन्छ । उपनिर्वाचनजस्तो यहाँ सुदीप प्रतिस्पर्धामा आउने अवस्था नभए पनि सम्मानजनक मत ल्याउन सक्छन् ।
हर्कले झापा-१ बाट केवलराज राई झापा २ बाट केशवकुमार भण्डारी, झापा-३ बाट दीपक तिमल्सिना, झापा-४ बाट अमृतादेवी राई, झापा-५ बाट समिर तामाङलाई हर्कले उम्मेदवार बनाएका छन् ।
यीमध्ये अमृता, समीर लगायत नेताहरूलाई आदिवासी जनजाति समुदायले केही मत दिने देखिन्छ । तर ठूलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यी उम्मेदवार प्रतिस्पर्धी मानिँदैनन् । उनीहरूसँगै दीपक र केशवको मत आउने सम्भावना नरहेको बताइन्छ ।
‘झापाबाट ५ बाहेक अन्यमा श्रम संस्कृतिलाई खासै मत जाने अवस्था छैन । छिटफुट आदिवासी जनजाति लगायत मतदाताले देलान् तर उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना कम छ’, लामो समयदेखि झापामा पत्रकारितामा सक्रिय पर्वत पोर्तेल भन्छन्, ‘झापामा मुख्य चार दलबीच प्रतिस्पर्धा हुने अवस्था छ । कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच नै यहाँ प्रतिस्पर्धा हुने अनुमान गर्न गाह्रो छैन । तर माटोमा पनिआदिवासी जनजाति मतदाताले भोट गर्न गर्छन् । तर प्रतिस्पर्धामा आउँदैनन् ।’
यता संखुवासभाकी उषाकुमारी राईलाई पनि आदिवासी जनजाति समुदायले मतदान गर्ने अवस्था छ। तर उनी पनि प्रतिस्पर्धामा आउने सम्भावना नरहेको स्थानीय बताउँछन् ।
तेह्रथुमबाट उम्मेदवार भएका सुभिन्द्रकुमार लिम्बूको राम्रै चर्चा छ। कांग्रेसबाट सीता गुरुङलाई टिकट नदिएर गगन पक्षका नेतालाई उठाएका कारण यहाँका असन्तुष्टि छ । कांग्रेसको असन्तुष्टले रास्वपार्टी अथवा माटोमा मतदान गर्ने आँकलन छ । स्थानीयका अनुसार घण्टी र माटोबीच तेस्रो हुने प्रतिस्पर्धाको अवस्था छ ।
धनकुटामा पनि लामो समय एमाले नेता राजेन्द्र राईलाई निर्वाचित गराइरहँदा आदिवासी जनजाति मतदाता नै रुष्ट छन् । तर उनीहरूले यहाँका उम्मेदवार सानबहादुर राईलाई जिताउने अवस्था देखिँदैन । पूर्वमा भोजपुरपछि धनकुटाका शानबहादुरलाई राम्रै मत आउने आँकलन छ ।
तर चुनावै जित्ने सम्भावना भने कम रहेको स्थानीय बताउँछन् । स्थानीय सुरेन्द्र भट्टराई भन्छन्, ‘हर्क साम्पाङको माटोले यहाँका आदिवासी जनजातिको केही भोट ताने पनि शानबहादुर विजयी हुने सम्भावना कम छ । यहाँ संगठन विस्तार भएको छैन । हर्क साम्पाङको उम्मेदवार उहाँ हो भन्नेबारे थाहा थिएन ।’
मोरङ-१ बाट श्रम संस्कृतिका शान्ति पाख्रिन लामा उम्मेदवार छिन् । मोरङ-२ बाट अबुहो रैरह छन् । मोरङ-३ बाट अमिर मगर, मोरङ-४ बाट कृष्णकुमार अटल, मोरङ-६ बाट मातृका पौडेल उम्मेदवार छन् । मोरङ-५ बाट भने साम्पाङले उठाएका छैनन् । मोरङका सबै क्षेत्रको विश्लेषण गर्दा कांग्रेस बलियो छ। यहाँका मतदाता कांग्रेसपछि एमाले अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हाल्ने अवस्थामा छन् ।
मोरङबाट साम्पाङको पार्टीलाई सम्मानजनक मत आउने अवस्था नरहेको स्थानीय बताउँछन् । स्थानीय पत्रकार अर्जुन आचार्य भन्छन्, ‘मोरङमा हर्कको पार्टीको सम्भावना देखिँदैन । यहाँका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी नै हुन् ।’
सुनसरी-१ बाट हर्क स्वयम् उम्मेदवार छन् । सुनसरी-२ बाट चेतन राई, सुनसरी-३ बाट रामप्रसाद सदा, सुनसरी ४-बाट विष्णु राणा उम्मेदवार छन् । तीन जना उम्मेदवारलाई साम्पाङको गृह जिल्ला सुनसरीबाट केही मत आउने देखिन्छ ।
तर यहाँ पनि हर्कको पार्टी अन्य दलको प्रतिस्पर्धीको रूपमा नदेखिएको स्थानीय मोती तामाङ बताउँछन् । व्यवसायी तामाङ सुनसरी-१ बाहेक अन्य क्षेत्रमा हर्कको पार्टीले थ्रेसहोल्ड कटाउन सक्ने अवस्था नरहेको दाबी गर्छन् ।
सोलुखुम्बुका उम्मेदवार बीएस राईलाई पनि छिटफुट आदिवासी जनजाति समुदायले रुचाएका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा हर्कको पार्टीबारे खासै चर्चा छैन ।
खोटाङका उम्मेदवार अरेन राईले पनि केही मत ल्याउने अवस्था छ । राईहरूको बाक्लो बस्ती भएकाले खोटाङबाट अरेनलाई राम्रो मत आउने आँकलन गरिएको छ । अर्कातिर खोटाङ हर्ककै पुर्ख्यौली थलो पनि हो ।
ओखलढुङ्गाबाट उदयकुमार राई माटोका उम्मेदवार छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा अहिले नै माटोका उदयकुमार राईलाई विजयी हुने अवस्था छैन ।
उदयपुर १ बाट राजेशकुमार राई र उदयपुर २ बाट बलराम राई उम्मेदवार छन् । दुवै क्षेत्रमा आदिवासी जनजाति समुदायले श्रम संस्कृति पार्टी रोज्न सक्ने देखिए पनि उदयपुरको तराई क्षेत्रका मतदाता र सहरी क्षेत्रका मतदाता यो पार्टीप्रति आकर्षित छैनन् ।
स्थानीय व्यवसायी रूपमान श्रेष्ठ भन्छन, ‘उदयपुरमा आदिवासी जनजातिले माटोमा मतदान गर्ने अवस्था रहे पनि विजयी हुने अवस्था कम देख्छु । यहाँ पुराना दललाई नै जिताउँछन्, पुरानो दलको संगठन तल्लो तहसम्म छ ।’
२०७९ मा पहिलो पटक निर्वाचनमा होमिएको रास्वपाको मतलाई आँकलन गर्ने हो भने कोशीमा नयाँ शक्तिप्रति आकर्षण देखिन्छ । २०७९ को निर्वाचनमा कोशीमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीभन्दा बढी समानुपातिकमा मत दिएर तेस्रो दल बनाएका थिए ।

बन्ला राष्ट्रिय दल ?
राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । विगतमा १० निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले निर्वाचन जिते पनि देशभरबाट समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेको थिएन । त्यसकारण उसले राष्ट्रिय दलको मान्यता पाएन ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । यसमा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।’
यससँगै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न थ्रेसहोल्ड कटाएको दलले एउटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा निर्वाचन जितेको हुनुपर्छ । विगतमा मधेसबाट नयाँ शक्तिको रुपमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक निर्वाचन क्षेत्रबाट विजय हासिल गरेर देशभर थ्रेसहोल्ड कटाएको थियो ।
त्यसकारण उसले राष्ट्रिय दलको मान्यता पायो । सबै परिपेक्षलाई नियाल्दा १०५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको हर्क साम्पाङको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाउने लक्ष्य लिएको देखिन्छ ।
हर्कका सहयोगीहरू पनि कम्तीमा एउटा निर्वाचन क्षेत्रबाट जितेर देशभरबाट थ्रेसहोल्ड कटाउने लक्ष्य पार्टीले लिएको दाबी गर्छन् ।
यसैको दौडधूपमा अहिले हर्क डुलिरहेका छन् । श्रम संस्कृति अभियान चलाएर देशभर चर्चित साम्पाङको पक्षमा श्रम गर्ने र देशलाई माया गर्ने विभिन्न युवा तथा बुद्धिजीवीहरूको साथ देखिन्छ ।
त्यसकारणले थ्रेसहोल्ड कटाउने सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको दाबी छ । विश्लेषक श्याम श्रेष्ठ देशभर चर्चा र लहर देख्दा साम्पाङको पार्टीले थेसहोल्ड कटाउने सम्भावना रहेको बताउँछन् । तर पार्टीको निश्चित सिद्धान्त र कार्यदिशा नहुनाले उनलाई थ्रेसहोल्ड कटाउन निकै हम्मेहम्मे पर्ने अवस्था रहेको श्रेष्ठको दाबी छ ।
‘थ्रेसहोल्ड कटाउनैका लागि साम्पाङजीले दौडधूप गरेको देखिन्छ । एजेन्डा नयाँ भनेकै कारण उहाँको पक्षमा नेपाली जनताले मतदान गर्लान् तर थ्रेसहोल्ड कटि हाल्छ भने ठोकुवा गर्ने अवस्था छैन’, विश्लेषक श्रेष्ठ भन्छन्, ‘उहाँले आगामी प्रदेशसभा निर्वाचनमा यही हिसाबले गतिविधि गर्नुभए राम्रो नतिजा ल्याउन सक्नुहोला ।’
हर्कको सचिवालय पनि देशभरबाट थ्रेसहोल्ड कटाउने लक्ष्यसहित आफूहरू निर्वाचनमा होमिएको बताउँछ । ‘हामीले राष्ट्रिय दलको मान्यता पाउँछौँ । देशभरका ठूलो विश्वास गर्नुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘कम्तीमा दुई-तीन क्षेत्रबाट जितेर समानुपातिकमा थ्रेसहोल्ड काटे त्यो नै ठूलो शक्ति हो । यहाँले विगतमा देख्नुभएकै होला, श्रमदानका लागि देश र विदेशबाट उपस्थित भएर आउनुभएको थियो ।’
कोशीमा विगतको नतिजा
कोशीमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमध्ये एमालेले पहिलो नम्बरमा १३ निर्वाचन क्षेत्रमा विजयी भएको छ । २०७९ को निर्वाचनमा कांग्रेसले नौ, माओवादीले तीन, राप्रपा र जसपाले एउटा एउटा निर्वाचन क्षेत्र जितेका छन् । यहाँ स्वतन्त्र उम्मेदवारले एउटा मात्र निर्वाचन क्षेत्र जितेका छन् । अहिले नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले कोशिका कुनै पनि निर्वाचन क्षेत्रमा जित हासिल गरेको थिएन ।
समानुपातिकमा पनि नेकपा एमालेले नै कोशीमा लोकप्रिय मत ल्याएको थियो ६४२ हजार एमालेले मत ल्याउँदा कांग्रेसले पाँच लाख ५५ हजार २२७ मत ल्यायो ।
प्रत्यक्षतर्फ एक सिट नजितेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा त्यसबेला तेस्रो दल हो । पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएको रास्वपाले त्यसबेला दुई लाख १४,८१० मत ल्याएर तेस्रो दल बनेको थियो । माओवादीको जम्मा मत भने १ लाख ७८ हजार ६८२ मात्रै थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मतको आँकलन गर्दा कोशीले नयाँ पार्टी अथवा हर्क साम्पाङको पार्टीलाई पनि योपटक प्रोत्साहन सहित समानुपातिकमा राम्रो मत दिने सम्भावना भने छ । त्यसबेला राप्रपाले १ लाख ३० हजार ४०३ मत ल्याउँदा जसपाले ५२ हजार २४० मत ल्याएर छैठौँ दल बनेको थियो ।
यता नेकपा एकीकृत समाजवादीले ४६ हजार २४६ मतका साथ सातौँ भएको थियो । मधेसमा नयाँ शक्तिको रुपमा उदाएको डाक्टर सीके राउतको जनमत पार्टीले पनि कोशीबाट राम्रो मत ल्याएको थियो । त्यसबेला जनमतले कोशीबाट १८ हजार ६५९ मत पायो ।
सबै प्रदेशबाट सम्मानजनक मत ल्याएकै कारण जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । यही लहरस्वरूप यो पटक हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई पनि हरेक प्रदेशबाट सीके राउतलाई जस्तै माया गरेको खण्डमा भने उनले थ्रेसहोल्ड कटाउने सम्भावना छ ।













प्रतिक्रिया