चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ? « Khabarhub

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?



काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । जेन–जी आन्दोलनको मर्मअनुरूप पार्टीको नेतृत्व र नेतृत्व बदलेर चुनावमा होमिएका उनलाई अन्तरघातसँगै उदीयमान शक्तिको त्रासले पनि सताएको छ ।

करिब ७८ प्रतिशत नयाँ अनुहारसहित निर्वाचनमा होमिएको महिना दिन बितिसक्दा पनि उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई रिझाउन सकेका छैनन् । सुदूरपश्चिमी जिल्लाहरूमा देउवाको ठूलो प्रभाव छ । यसरी चुनावी मैदानमा देउवा नदेखिनु र वैकल्पिक शक्तिको दबदबा बढ्दा कांग्रेसकै समर्थकले मत फेर्न सक्ने सम्भावना बढी छ ।

देउवा मात्रै होइन, तत्कालीन उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, रमेश लेखकलगायत निवर्तमान संस्थापन पक्षधर नेताहरू पनि चुनावी मैदानमा छैनन् ।

लामो समयदेखि आफ्नो क्षेत्रमा पकड बनाएका उनीहरू मौन बस्दा ती क्षेत्रमा कांग्रेसले घाटा व्यहोर्नुपर्ने सम्भावना बढ्दो छ । यद्यपि निवर्तमान सभापतिले निर्वाचनबारे कुनै धारणा सार्वजनिक गर्ने योजना नरहेको देउवानिकट एक नेताले जानकारी दिए ।

‘आज बिहान हामी चिया खायौँ, शेरबहादुर दाइ चुनावी मैदानमा जाने-नजाने, धारणा वा अपिल गर्ने कुरा केही भएको छैन । अन्यका हकमा अन्तिम समयतिर जाने कि भन्ने द्विविधा छ,’ देउवानिकट ती नेताले भने । यस विषयमा मिडिया ट्रायल भइरहे पनि त्यो सत्य नरहेको उनले स्पष्ट पारे ।

‘अहिले मिडिया ट्रायल भइरहेको छ । शेरबहादुर, पूर्णबहादुर देउवा पनि मैदानमा जाने रे भन्ने आइराखेको छ । हिजो उहाँको अनुहार नै लिएर जानै सकिँदैन भन्ने अनि आज गइदिनैपर्ने अपेक्षा कस्तो हो ?’ उनले प्रश्न गरे ।

माघ १ गते सकिएको विषेश महाधिवेशनयता थापा र देउवाबीच हालसम्म दोहोरो संवाद नभएको उनले दाबी गरे । ‘देउवा र थापाबीच टेलिफोन वा प्रत्यक्ष कुनै संवाद भएको छैन, क्याम्पेनमा गइदिनु पर्‍यो, भाषण गरिदिनुपर्‍यो भन्न जान सकेका छैनन्,’ उनले थपे, ‘अपदस्थ गराइएको मान्छेले कसरी भोट माग्ने ? नैतिकताको आधारमा मलाई टिकट देऊ भन्न जान मन लागेन, उनीहरूले दोहोरो संवाद चलाएनन्, मै पनि अपदस्थ छु, व्यथा त उस्तै हो । जिल्लामा सघाउन त जाउँला तर पूर्ण र शेरबहादुर दाइ के भनेर जाने ?,’ उनले प्रश्न गरे ।

पार्टीमा गुटबन्दी नदेखिए पनि केही प्रभावशाली कार्यकर्ता र नेता सक्रिय नहुँदा घाटा व्यहोर्नुपर्न सक्ने उनी बताउँछन् । ‘प्रभाव भएकाहरू साइलेन्ट बसेका छन् । मान्छे जाँदै जाँदैनन् निस्किँदै निस्किँदैनन्, कर्णाली, सुदुरपश्चिम, लुम्बिनीसम्मै यो मौनताको ठूलै गडबड देखिन्छ’, उनले शंका व्यक्त गरे ।

विशेष महाधिवेशनका नाममा बनाइएका भाष्यका कारण दुवै पक्षबीच संवाद गर्ने बाटो असहज अवस्था आएको उनी बताउँछन् । ‘प्रकाशमानजी पनि बोल्नुभएको छैन, किनकी पाखा पारिएकाहरूमा त्यो तहको हिनताबोध छ, बोल्न सकेका छैनन्, हामीलाई फोन आउँछ सामान्य गफगाफ हुन्छ, पुराना र नयाँ, म्युजिकल चेयर भन्ने लगायतका गलत भाष्य यिनीहरूले पहिलेदेखि नै सुरू गरे । म्युजिकल चेयर त भकै हो तर त्यसलाई त्यहीँ भित्रबाट रोक्न सकिन्थ्यो नि ! जसकारण अहिले क्षति व्यहोर्नु परेको छ’, उनले सुनाए ।

देउवानिकट अर्का नेताले चाहिँ जिल्लामा थापाले दुवै पक्षलाई देखाएको समान विश्वासले आफूलाई सकारात्मक बनाएको बताए । ‘म जिल्लामा हुन्छु, जिल्लाका कार्यक्रममा उनले मलाई विश्वास गर्दैन कि भनेर एक सेकेण्ड नछाडी सँगै राखे, अहिले काठमाडौं आएको छु, फोन गरेको गरेकै छन् । चुनाव कसरी लड्नेबारे मसँग केही कुरा लुकाएनन् । यो वा त्यो नभनी विश्वास गरेकै हो भन्ने अनुभूत गरेँ,’ उनले भने ।

असन्तुष्टि थाती राख्दै अहिले पार्टीलाई बहुमत दिलाउन उत्साहका साथ लाग्ने आफ्नो योजना उनले सुनाए । ‘हामी धर्मसंकटमा छौं । सभापतिलाई जिताउन लागौँ, हिजो दिएको दुख कसरी भुलौँ ? सहज भएको छैन । तर, पार्टी ठूलो हो, त्यसैले गगनलाई मैले मत नघट्नेमा ढुक्क हुन भनेको छु,’ उनले भने ।

बहुमतका लागि भने थापाले अलिक कसरत गर्नुपर्ने सुझाव दिएको उनी सुनाउँछन् । ‘मेरो क्षेत्रमा विगतको निर्वाचनमा कांग्रेसलाई परेको भन्दा एउटा कम भोट आउँदैन कुनै पनि हालतमा मत घट्न दिन्न भनेको छु र साँच्चै दिन्न पनि, मत बढी ल्याउने त तपाई|को रणनीतिमा भर पर्छ भन्ने सुझाएको छु’, उनले भने । आफ्नो कुराले थापामा पनि तत्कालीन संस्थापन पक्षले घात नगर्नेमा विश्वास भएको उनले सुनाए ।

नियमित महाधिवेशनमार्फत् पुनः सक्रिय हुनेबारे भने देउवा पक्ष सर्वोच्च अदालतले कुनै निर्णयको अपेक्षामा रहेको उनीहरूले बताए । ‘दोश्रो विशेष महाधिवेशन जे उद्देश्यसहित गरिएको थियो ?, त्यो त पूरा भइसकेको छ, देउवा भने अदालतको निर्णयमा आशावादी देखिन्छन्,’ स्रोतले भन्यो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ३६ बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण