काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । जेन–जी आन्दोलनको मर्मअनुरूप पार्टीको नेतृत्व र नेतृत्व बदलेर चुनावमा होमिएका उनलाई अन्तरघातसँगै उदीयमान शक्तिको त्रासले पनि सताएको छ ।
करिब ७८ प्रतिशत नयाँ अनुहारसहित निर्वाचनमा होमिएको महिना दिन बितिसक्दा पनि उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई रिझाउन सकेका छैनन् । सुदूरपश्चिमी जिल्लाहरूमा देउवाको ठूलो प्रभाव छ । यसरी चुनावी मैदानमा देउवा नदेखिनु र वैकल्पिक शक्तिको दबदबा बढ्दा कांग्रेसकै समर्थकले मत फेर्न सक्ने सम्भावना बढी छ ।
देउवा मात्रै होइन, तत्कालीन उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, रमेश लेखकलगायत निवर्तमान संस्थापन पक्षधर नेताहरू पनि चुनावी मैदानमा छैनन् ।
लामो समयदेखि आफ्नो क्षेत्रमा पकड बनाएका उनीहरू मौन बस्दा ती क्षेत्रमा कांग्रेसले घाटा व्यहोर्नुपर्ने सम्भावना बढ्दो छ । यद्यपि निवर्तमान सभापतिले निर्वाचनबारे कुनै धारणा सार्वजनिक गर्ने योजना नरहेको देउवानिकट एक नेताले जानकारी दिए ।
‘आज बिहान हामी चिया खायौँ, शेरबहादुर दाइ चुनावी मैदानमा जाने-नजाने, धारणा वा अपिल गर्ने कुरा केही भएको छैन । अन्यका हकमा अन्तिम समयतिर जाने कि भन्ने द्विविधा छ,’ देउवानिकट ती नेताले भने । यस विषयमा मिडिया ट्रायल भइरहे पनि त्यो सत्य नरहेको उनले स्पष्ट पारे ।
‘अहिले मिडिया ट्रायल भइरहेको छ । शेरबहादुर, पूर्णबहादुर देउवा पनि मैदानमा जाने रे भन्ने आइराखेको छ । हिजो उहाँको अनुहार नै लिएर जानै सकिँदैन भन्ने अनि आज गइदिनैपर्ने अपेक्षा कस्तो हो ?’ उनले प्रश्न गरे ।
माघ १ गते सकिएको विषेश महाधिवेशनयता थापा र देउवाबीच हालसम्म दोहोरो संवाद नभएको उनले दाबी गरे । ‘देउवा र थापाबीच टेलिफोन वा प्रत्यक्ष कुनै संवाद भएको छैन, क्याम्पेनमा गइदिनु पर्यो, भाषण गरिदिनुपर्यो भन्न जान सकेका छैनन्,’ उनले थपे, ‘अपदस्थ गराइएको मान्छेले कसरी भोट माग्ने ? नैतिकताको आधारमा मलाई टिकट देऊ भन्न जान मन लागेन, उनीहरूले दोहोरो संवाद चलाएनन्, मै पनि अपदस्थ छु, व्यथा त उस्तै हो । जिल्लामा सघाउन त जाउँला तर पूर्ण र शेरबहादुर दाइ के भनेर जाने ?,’ उनले प्रश्न गरे ।

पार्टीमा गुटबन्दी नदेखिए पनि केही प्रभावशाली कार्यकर्ता र नेता सक्रिय नहुँदा घाटा व्यहोर्नुपर्न सक्ने उनी बताउँछन् । ‘प्रभाव भएकाहरू साइलेन्ट बसेका छन् । मान्छे जाँदै जाँदैनन् निस्किँदै निस्किँदैनन्, कर्णाली, सुदुरपश्चिम, लुम्बिनीसम्मै यो मौनताको ठूलै गडबड देखिन्छ’, उनले शंका व्यक्त गरे ।
विशेष महाधिवेशनका नाममा बनाइएका भाष्यका कारण दुवै पक्षबीच संवाद गर्ने बाटो असहज अवस्था आएको उनी बताउँछन् । ‘प्रकाशमानजी पनि बोल्नुभएको छैन, किनकी पाखा पारिएकाहरूमा त्यो तहको हिनताबोध छ, बोल्न सकेका छैनन्, हामीलाई फोन आउँछ सामान्य गफगाफ हुन्छ, पुराना र नयाँ, म्युजिकल चेयर भन्ने लगायतका गलत भाष्य यिनीहरूले पहिलेदेखि नै सुरू गरे । म्युजिकल चेयर त भकै हो तर त्यसलाई त्यहीँ भित्रबाट रोक्न सकिन्थ्यो नि ! जसकारण अहिले क्षति व्यहोर्नु परेको छ’, उनले सुनाए ।
देउवानिकट अर्का नेताले चाहिँ जिल्लामा थापाले दुवै पक्षलाई देखाएको समान विश्वासले आफूलाई सकारात्मक बनाएको बताए । ‘म जिल्लामा हुन्छु, जिल्लाका कार्यक्रममा उनले मलाई विश्वास गर्दैन कि भनेर एक सेकेण्ड नछाडी सँगै राखे, अहिले काठमाडौं आएको छु, फोन गरेको गरेकै छन् । चुनाव कसरी लड्नेबारे मसँग केही कुरा लुकाएनन् । यो वा त्यो नभनी विश्वास गरेकै हो भन्ने अनुभूत गरेँ,’ उनले भने ।
असन्तुष्टि थाती राख्दै अहिले पार्टीलाई बहुमत दिलाउन उत्साहका साथ लाग्ने आफ्नो योजना उनले सुनाए । ‘हामी धर्मसंकटमा छौं । सभापतिलाई जिताउन लागौँ, हिजो दिएको दुख कसरी भुलौँ ? सहज भएको छैन । तर, पार्टी ठूलो हो, त्यसैले गगनलाई मैले मत नघट्नेमा ढुक्क हुन भनेको छु,’ उनले भने ।
बहुमतका लागि भने थापाले अलिक कसरत गर्नुपर्ने सुझाव दिएको उनी सुनाउँछन् । ‘मेरो क्षेत्रमा विगतको निर्वाचनमा कांग्रेसलाई परेको भन्दा एउटा कम भोट आउँदैन कुनै पनि हालतमा मत घट्न दिन्न भनेको छु र साँच्चै दिन्न पनि, मत बढी ल्याउने त तपाई|को रणनीतिमा भर पर्छ भन्ने सुझाएको छु’, उनले भने । आफ्नो कुराले थापामा पनि तत्कालीन संस्थापन पक्षले घात नगर्नेमा विश्वास भएको उनले सुनाए ।
नियमित महाधिवेशनमार्फत् पुनः सक्रिय हुनेबारे भने देउवा पक्ष सर्वोच्च अदालतले कुनै निर्णयको अपेक्षामा रहेको उनीहरूले बताए । ‘दोश्रो विशेष महाधिवेशन जे उद्देश्यसहित गरिएको थियो ?, त्यो त पूरा भइसकेको छ, देउवा भने अदालतको निर्णयमा आशावादी देखिन्छन्,’ स्रोतले भन्यो ।













प्रतिक्रिया