स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त गरेसँगै नेपाली राजनीतिमा ठूलो हलचल आउँदैछ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता तीन दशकयता पुराना र स्थापित पार्टीहरू तल्लो सदनमा दुई अंकको प्रतिनिधित्वमा सीमित भएका छन् । माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डबाहेक यी पार्टीहरूका प्रायः सबै शीर्ष नेतृत्व पराजित भएका छन् ।
उनीहरूलाई शिक्षित, प्रविधिमा रुची राख्ने, व्यहारिक र सिद्धान्तमा कम विश्वास गर्ने नयाँ, युवा नेताहरूले प्रतिस्थापन गरेका छन् । हाल नयाँ संसदको औसत उमेर ४३ वर्ष छ । अमेरिकाबाट फिरेका रास्वपाका संस्थापक रवि लामिछानेजस्तै हुनेवाला प्रधानमन्त्री बालेन्द्र शाहले पनि इन्जिनियरिङमा भारतबाट डिग्री प्राप्त गरेका छन् । काठमाडौंको मेयरका रुपमा उनको काम पनि स्थापित छ । यस चुनावको परिणमलाई पुराना शक्ति पूरै अस्वीकृत भएको र नयाँ पुस्ताबाट डेलिभरीको राष्ट्रिय आकाङ्क्षा व्यक्त भएको सङ्केतका रुपमा हेर्न सकिन्छ ।
अवश्य पनि, रास्वपाले मुलुकको शासनमा अर्थपूर्ण परिवर्तनको अपेक्षासहित गत भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनको अपनत्व लिएको थियो । प्रदर्शनको तत्कालीन कारण केपी ओली सरकारले केही लोकप्रिय सामाजिक सञ्जाल बन्द गर्नु रहेको भए पनि भ्रष्टाचार र असमानताबारे जनताको गुनासो धेरै गहिरो थियो जुन प्रदर्शनका क्रममा भाइरल भएको नेपोकिड्स ह्यासट्याग र २० प्रतिशत बेरोजगारी दरका कारण श्रम गर्न एक तिहाइ जनसङ्ख्या देशबाहिर रहेको तथ्यबाट प्रष्ट हुन्छ ।
नेपालको नयाँ नेतृत्वका लागि सबैभन्दा महत्वपूर्ण एजेण्डा भ्रष्टाचारमुक्त सरकार र आर्थिक विकास रहेको छ । यस चुनाव अरू हिसाबमा पनि उत्तिकै महत्वपूर्ण छ । सघन जनसङ्ख्या रहेको मधेश प्रदेशको भूमिपुत्रका रुपमा आफूलाई चिनाएका बालेन्द्रले पूरै देशलाई एकताबद्ध बनाएका छन् भने क्षेत्रीय र जातीय विभाजन कम गरेका छन् ।
मधेशी अधिकारको सङ्घर्षमा अगुवाका रुपमा रहेका दक्षिण भेगको तराईका क्षेत्रीय पार्टीहरूले खराब प्रदर्शन गरेका छन् । राजसंस्था पुन:स्थापनाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि नराम्ररी पराजित भएको छ, यो पार्टीले प्रत्यक्षमा केबल एक सिट जितेको छ ।
यस घटनाक्रमसँगै भारतले हाम्रो छिमेक प्रथम नीतिलाई ताजा नजरले हेर्नु आवश्यक छ । राम्रोसँग परिचित परम्परागत नेताहरुजस्तो नवप्रवेशीहरूको भारतसँग बलियो सम्बन्ध छैन । पक्कै पनि, नेपालको विकास र समृद्धिका लागि भारतको महत्वबारे उनीहरू जानकार छन् र निकट सम्बन्ध स्थापना गर्न चाहन्छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले रवि-बालेन्द्र जोडीसँग न्यानो टेलिफोन संवाद गरिसक्नुभएको छ ।
यसपछि अरू कुराकानी पनि गर्दै जानुपर्छ । यदी अनुरोध भएको खण्डमा तत्कालै हामीले सहयोगको प्रस्ताव गर्नसक्ने क्षेत्र चाहिँ खाडी मुलुकबाट भारतीयसँगै नेपाली नागरिकको उद्धार हुनसक्छ । अर्को सहयोगका क्षेत्र चाहिँ समयअगावै संयुक्त आयोगकोे बैठक बोलाएर विकास साझेदारी र कनेक्टिभिटी कार्यक्रमलाई मजबुत बनाउने हुनसक्छ ।
जलविद्युत् साझेदारी उसै पनि राम्रोसँग अघि बढिरहेको छ, तर ६ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजनाको कामलाई द्रूत गतिमा अघि बढाउन आवश्यक छ । नेपालका स्टार्टअपलाई भारतसँग जोड्ने स्टार्टअप साझेदारी सञ्जाललाई विस्तार गर्नुपर्छ । बलियो बहुमतको सरकारसँगै यसै क्रममा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र सीमा विवादजस्ता संवेदनशील राजनीतिक मुद्दाबारे छलफल पनि अघि शुरु हुनसक्छ ।
केही वर्षदेखि एकीकृत कम्युनिष्ट गुट निर्माण गर्ने प्रयासमा रहेको चीनलाई नेपालमा कम्युनिस्ट पार्टीको पराजयले धक्का लागेको छ । बेल्ट एण्ड रोड परियोजनाका केही संयुक्त परियोजना पुनरावलोकन हुने सम्भावना छ ।
नेपालमा भने यो उत्साह, आशा र प्रतिज्ञाको क्षण हो । यो चुनावले पुराना शक्तिलाई बाहिरिने ढोका देखाएको छ । नयाँ क्षितिजको उदय भएको छ । भारतले नयाँ नेतृत्वसँग पूर्ण समर्थन, संलग्नता र साझेदारी देखाउनैपर्छ ।
-नेपालका लागि भारतका पूर्वराजदूत रेले इण्डिया टूडेका लागि तयार पारेको सामग्री













प्रतिक्रिया