सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ? « Khabarhub

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?



काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले फोन गरिन् । फोनमा उनले घरपरिवार र आफन्तलाई नभन्ने कसम खुवाएर एउटा समस्या सुनाइन् । उनको बेस्टफ्रेण्डको महिनावारी रोकिएछ । मेडिकलबाट किट ल्याएर प्रेग्नेन्सी टेस्ट गर्दा पोजेटिभ देखिएपछि साथी मर्छु भनेर रोइरहेकी रहिछन् ।

कक्षा ११ मा साइन्स पढ्दै गरेकी १६ वर्षकी किशोरी गर्भवती भएको घटनाले एकछिन अलमल बनायो । घर छोडर अभिभावकदेखि टाढा उच्च शिक्षाका लागि काठमाडौँ बसेकी उनी कलेजकै केटासाथीसँग नजिक भएकी रहेछिन् । ब्याइफ्रेण्डले केही हुन्न भनेर सहमतिमा सम्बन्ध बनाएका रहेछन् । तर सुरक्षित यौन सम्बन्ध नराख्दा किशोरी गर्भवती हुन पुगिन्।

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. नूतन शर्माले एक पडकास्ट अन्तवार्ता यस्तै घटनाको खुलासा गरेकी छिन् । डा. शर्माका अनुसार एक जना अभिभावकले पेटमा समस्या भएर १३ वर्षको छोरीलाई जँचाउन ल्याएका थिए । खानपिन वा अन्य कुनै कुराले समस्या देखिएको होला भन्ने थियो । तर मेडिकल रिपोर्टमा बालिका गर्भवती भएको खुल्यो । सानो उमेरको छोरीले गर्भ बोकेको कुरा सुन्दा अभिभावकमाथि पहाड खस्यो ।

ब्याइफ्रेण्डले केही हुन्न भनेर सहमतिमा सम्बन्ध बनाएका रहेछन् । तर सुरक्षित यौन सम्बन्ध नराख्दा किशोरी गर्भवती हुन पुगिन्।

त्यसैगरी, दश वर्षदेखि बुद्धनगरमा मेडिकल सञ्चालन गरेर बसेकी कमला शर्मा (नाम परिवर्तन) का अनुसार १८ वर्षभन्दा मुनिका धेरै किशोरकिशोरी अस्थायी साधन किन्न आउँछन् । कानूनले १८ वर्षभन्दा कम उमेरको यौनसम्बन्धलाई वैधानिक मानेको छैन । तर हेर्दा उमेरले सानो देखिएपनि मेडिकलले उमेर सोधेर मात्रै अस्थायी साधन बिक्री गर्ने वा नगर्ने भन्ने हुँदैन ।

१५/१६ वर्षको उमेरमा प्रेम सम्बन्धमा रहेका किशोरकिशोरी सहमतिमै यौन सम्बन्ध स्थापित गरिरहेका छन् । कमलाले मेडिकलमा किशोर मात्रै नभई किशोरी पनि प्रशस्त अस्थायी साधन पिल्स किन्न आउने गरेको सुनाउँछिन् । ‘अस्थायी साधनको उपलब्धता नभए झनै असुरक्षित यौन सम्बन्धबाट दुर्घटना निम्तिन सक्छ,’ उनले भनिन् ।

माथिका प्रतिनिधि घटनाले वयस्क नपुग्दै अर्थात् १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरीले यौन सम्बन्ध स्थापित गर्दै आएको तथ्य देखाउँछ । नेपालको सामाजिक, धार्मिक तथा परम्पराले विवाह अगाडिको यौन सम्बन्धलाई स्वीकार गर्दैन । त्यसैगरी कानुनले पनि १८ वर्ष मुनिको यौन सम्बन्धलाई जबरजस्ती करणी मानेको छ । कानुनी अवस्थाको कुरा गर्ने हो भने १८ वर्ष पुगेपछि मात्रै व्यक्ति बालिग हुन्छ । त्योभन्दा अघि मन्जुरीमै यौन सम्बन्ध स्थापित भएको छ भने पनि त्यसलाई ‘जबरजस्ती करणी’ भएको मानिन्छ ।

मेडिकल रिपोर्टमा बालिका गर्भवती भएको खुल्यो । सानो उमेरको छोरीले गर्भ बोकेको कुरा सुन्दा अभिभावकमाथि पहाड खस्यो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार जस्तोसुकै अवस्थामा १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग भएको सहमतिकै यौन सम्बन्ध पनि बलात्कार ठहरिन्छ । समान उमेर समूहबीच सहमति र शोषणरहित सम्बन्धलाई पनि कानुनले अपराध ठान्दछ । तसर्थ, यस्ता सम्बन्धमा रहेका किशोर कानुनी प्रक्रियामा तानिन्छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार हरेक वर्ष एक हजार देखि १५ सयको हाराहारीमा बलात्कारसम्बन्धी घटनाको उजुरी परेको छ । यसमध्ये सबैभन्दा धेरै ११–१७ वर्षका बालिका छन् । यो उमेर समूह नै केन्द्रीकृत हुनुको विविध कारणमध्ये एक सहमतिको सम्बन्धलाई बलात्कारमा रुपान्तरण गर्नु रहेको देखिन्छ ।

आर्थिक अवस्था राम्रो र जात मिलेको अवस्थामा परिवारले किशोरकिशोरीबीचको यौन सम्बन्धलाई विवाहमा परिणत गर्ने तर नमिलेको अवस्थामा त्यही सम्बन्धलाई बलात्कार भनेर किशोरलाई अपराधी बनाउने प्रवृत्ति पनि बढ्दो छ । यिनै विविध कारणलाई मध्यनजर गर्दै नेपालमा ‘रोमियो–जुलियट’ कानुनको बारेमा बहस चल्दै आएको छ ।

गत वर्ष पूर्वगृहमन्त्री रमेश लेखकले पनि ‘रोमियो–जुलियट’ कानुन आवश्यक रहेको बताएका थिए । यो कानुन अनुसार १६–१७ वर्षको उमेरमा केटा र केटीबीचको प्रेममा शारीरिक सम्बन्ध भएमा जबरजस्ती करणी अनुसारको सजाय दिन मिल्दैन । तर यसमा दुई वटा शर्त तोकिएको छ ।

पहिलो, बालिग नभए पनि सहमतिमा शारीरिक सम्बन्ध भएको हुनुपर्छ । कसैको करकापमा शारीरिक सम्बन्ध भएको हुनुहुँदैन । अर्को, केटा र केटीको उमेरको अन्तर अत्यन्तै थोरै हुनुपर्छ ।

त्यसैगरी, दक्षिण अफ्रिका, फिलिपिन्स, नामिबिया र बोत्स्वाना जस्ता देशमा किशोरकिशोरीबीच निश्चित उमेरको अन्तरभित्र सहमतिमा आधारित यौन सम्बन्धलाई अपराधी नमान्ने कानुनी व्यवस्था छ । फिलिपिन्सले सन् २०२२ मा कानुन संशोधन गरेर यस्तो व्यवस्था ल्याएको थियो ।

साथै, दक्षिण अफ्रिकाले ‘दुर्व्यवहार पीडित बालबालिकाका लागि टेडी बेयर क्लिनिक’ सम्बन्धी संवैधानिक अदालतको फैसलापछि यौन अपराधसम्बन्धी कानुन संशोधन गरेको थियो । नामिबियाले किशोरकिशोरीबीच ३ वर्षभन्दा बढी उमेरको अन्तर नभए मुद्दा नचलाइने व्यवस्था गरेको छ ।

त्यस्तै, बोत्स्वानाले पनि सन् २०१८ मा नजिकको उमेरका किशोरकिशोरीबीच सहमतिमा भएको सम्बन्धलाई अपराध नमानिने प्रावधान ल्याएको छ । अन्तर्राष्ट्रिय मानव तथा अधिकारका अभियानकर्मी सहमतिमा भएका र शोषणरहित सम्बन्धलाई अपराधीकरण गर्न नहुनेमा जोड दिन्छन् ।

कानुनका जानकार पनि यो कानुनले बालबालिकाको सुरक्षा कमजोर नभएर अझ बलियो बनाउने तर्क पेश गरेका छन् । कानुनले यौन हिंसा, जबर्जस्ती र दुर्व्यवहारजस्ता समस्यामा केन्द्रित गर्न मद्दत गर्ने बताउँछन् । साथै, कानुनको ध्यान वास्तविक समस्या जस्तै, शोषण, दबाब, शक्ति वा पदको दुरुपयोगलाई रोक्ने र त्यसलाई सजाय दिने कुरामा केन्द्रित रहने उनीहरु बताउँछन् ।

अधिवक्ता सविन श्रेष्ठ वयस्क नहुँदै भएको यौन सम्बन्धलाई अपराधीकरण गर्न नहुने धारणालाई आम मानिसले नबुझेको तर्क गर्छन् । उनका अनुसार यस कानुनले वयस्क नहुँदै शारीरिक सम्बन्ध बनाउन उत्प्रेरित गर्दैन । यदि कसैले त्यसो गरेमा अपराधी बनाइहाल्न नहुने उनी बताउँछन् ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘रोमियो–जुलियट कानुनले किशोरकिशोरीलाई शारीरिक सम्बन्ध राख्नु सही हो भन्दैन । तर यदि घटना घटेको अवस्थामा सहमति र शोषणरहितको सम्बन्धलाई अपराध मान्न मिल्दैन मात्रै भनेको हो । दुवै जनाको सहमतिमा भएको सम्बन्धमा केटी पीडित र केटा पीडक हुने अवस्था आउन दिनुहुँदैन ।’

‘रोमियो–जुलियट कानुनले किशोरकिशोरीलाई शारीरिक सम्बन्ध राख्नु सही हो भन्दैन । सहमति र शोषणरहितको सम्बन्धलाई अपराध मान्न मिल्दैन मात्रै भनेको हो । दुवै जनाको सहमतिमा भएको सम्बन्धमा केटी पीडित र केटा पीडक हुने अवस्था आउन दिनुहुँदैन ।’

‘१० वर्ष भन्दा पनि कम उमेरमा शोषणरहित नै भए पनि अपराध हो । १८ वर्ष मुनिका किशोरकिशोरीमा पनि कति वर्ष अन्तर छ ? भन्ने मुख्य कुरा हो । १२ वर्ष र १७ वर्षबीचको भएमा अपराध नै ठहर्छ । उमेर ग्याप २ देखि ३ वर्ष भन्दा बढीलाई मान्न सकिन्न । उनी थप भन्छन्, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार १० देखि १२ वर्ष भन्दा कम उमेरको शारीरिक सम्बन्धलाई स्वीकार गरेको छैन ।’

वयस्क नहुँदै शारीरिक सम्बन्धमा रहनुका चुनौतीका बारेमा विद्यालयस्तरदेखि नै वृहत यौन तथा प्रजनन् शिक्षाको अपरिहार्यता रहेको अधिवक्ता श्रेष्ठ बताउँछन् । ‘सहमतिको सम्बन्धलाई कानुनी रुपमा छुट दिएर मात्रै हुँदैन । शिक्षा पनि दिनु आवश्यक छ । चुनौतीका बारेमा बुझाउनुपर्छ ।’ उनी भन्छन्, ‘स्वच्छ यौन सम्बन्धका लागि के–के कुरा आवश्यक छ ? कुन उमेरभन्दा मुनि यो सम्बन्ध राख्दा चुनौती आउन सक्छ ? के–के चुनौती आउन सक्छ ? लगायतका बारेमा सिकाउनुपर्छ ।’

अभिभावकसमेत यस विषयमा सचेत हुनुपर्ने श्रेष्ठको सुझाव छ । उनी भन्छन्, ‘१८ वर्षमाथिको असाध्यै विभत्स बलात्कार भएको अवस्थामा ७/१० वर्ष कैद सजाय छ । जति कम उमेर छ । सजाय उति नै धेरै राखिएको छ । तर, शोषणरहितको सम्बन्ध उमेरका कारणले धेरै सजाय भोग्नुपर्ने अवस्था छ । कानुनी सुधार मात्रै नभएर शिक्षा महत्वपूर्ण कुरा हो ।’

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : ४६ बजे

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

नेपालगञ्ज– पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ बजे कृषि, सहकारी

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य