अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल « Khabarhub

अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल

निर्वाचनको समीक्षा गर्न कार्यदल बनाइँदै



काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा एमालेले पहिलो पटक सचिवालय बैठक राखेको छ।

अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। चुनावी नतिजाको धक्काले गलेका ओलीले लामो समय सचिवालय बैठक छले । तर बाध्यकारी अवस्था आएपछि सचिवालय बैठक बस्न लागेको हो ।

ओलीलाई पार्टी नेतृत्व छाड्नुपर्ने चर्को दबाब छ । इतिहासकै सबैभन्दा रक्षात्मक अवस्थामा ओली छन् । गत चैत १३ गते पक्राउ परेर १३ दिनपछि छुटेका ओलीलाई अझै पनि नेतृत्वमा टिकाउनुपर्ने नेता पनि उत्तिकै छन् ।

उपाध्यक्ष गुरुङका अनुसार शनिबारको एमाले सचिवालय बैठकमा फागुन २१ को निर्वाचनको समीक्षाका लागि कार्यदल गठन गरिँदैछ ।

निर्वाचनमा अप्रत्यासित हार भोगेको एमाले त्यसपछाडि निरन्तर संकटमा छ । अझ अध्यक्ष ओली आफैं बिरामी परेपछि एमाले पनि तंग्रिन सकेको छैन ।

एमाले अध्यक्ष ओली नै पराजित हुन पुगेपछि चैत १३ गते बनेको वालेन्द्र शाह नेतृत्वको सरकारले पक्राउ गर्‍यो । भदौ २३ र २४ को जेन-जी आन्दोलनमा हिंसात्मक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेपछि एमालेका गतिविधि करिब ठप्प जस्तै छन् ।

अध्यक्ष ओली प्रहरीको हिरासबाट छुटे पनि उपाध्यक्ष र महासचिवसहितका नेताहरूसँग बढेको मतभेदका कारण एमाले पनि अहिले बिरामी परेको छ।

अध्यक्ष ओली हिरासत रहेका बेला कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले बैठक चलाएका थिए । तर एमालेले अझै पनि गम्भीर छलफल गर्न सकेको छैन ।

त्यसपछाडि ओली निरन्तर बिरामी परे । उनले पित्तथैलीको स्टोनको शल्यक्रिया पनि गरे। तर उनी अझै तंग्रिन नसकेर भक्तपुरको गुन्डुमै सीमित भएका छन् ।

शनिबारको बैठकमा पनि ओली पूरा समय बस्न नसक्ने अवस्था छ । ‘अध्यक्ष कमरेड अझै बैठकमा पूरै समय बस्न सक्ने भइसक्नु भएको छैन। लामो समयदेखि बैठक बस्न सकेको छैन । जेठ ३ गते मदन-आश्रित स्मृति दिवस मनाउने कुरा पनि छ। चुनावकै समीक्षा गर्न नपाएको लामो समय भयो। त्यसबारे कार्यदलले काम गर्छ। विधि बनाएर कार्यक्षेत्र विभाजन हुन्छ ,’ एमाले सचिव पद्मा अर्याल भन्छिन्, ‘चुनावको समीक्षा गर्न कार्यदल बनाएर काम गर्दै गर्ने भएको छ। अध्यक्षज्यू पूर्ण स्वास्थ्य भएपछि सबैले समीक्षा गर्ने गरी काम हुन्छ। बाहिर त के-के आउँछन् के के आउँछन्, कुरा पनि ।’

ओलीका एकजना सचिवालय सदस्य पनि स्टोनको शल्यक्रियापछि इन्फेक्सन हुन पुग्दा उनी अझै ठिक हुन नसकेको बताउँछन् । शनिबारको बैठकमा नेताहरूको कार्यविभाजन र समीक्षाका लागि कार्यदल गठन गरेपछि ओली निस्किने छन् ।

‘अध्यक्षज्यूलाई ठिकै छ, स्वास्थ्य अवस्था पूरै राम्रो भइसकेको छैन। स्वास्थ्य अवस्था राम्रो नभइसकेकाले बैठकमा पूरा समय बस्नु हुँदैन । स्टोनको अपरेशनपछि इन्फेक्सन हुँदा लामो समय बस्न समस्या छ । बल पर्ने काम गर्न पनि हुँदैन। धेरै बोल्न पनि मिल्दैन’, सचिवालय भन्छ, ‘उहाँले सचिवालय बैठकमा भाग लिनुहुन्छ । एजेन्डा राखेर फर्किनु हुन्छ । नेताहरुलाई अधिकार दिएर निस्किनुहोला ।’

धेरैले ओलीले सचिवालय बैठक छल्ने बाहना बनाएको पनि बताउँदै आएका छन्। तर ओलीको सचिवालय भने मानवतासम्म नहेर्ने अवस्थामा आफ्नै दलका नेता र विरोधी पुग्नु विडम्बना रहेको बताउँछ ।

‘आफूले मौका लिनका लागि आफ्नै पार्टीका नेता अध्यक्षको विरोधमा लागे । यहाँभन्दा पार्टीका लागि घातक अरू हुन सक्दैन’, एमाले सचेतक तथा युवा नेतृ नीता घतानी भन्छिन्, ‘बहाना बनाएको भन्नेहरू अध्यक्षलाई भेटेर उहाँको स्वास्थ्य रिपोर्ट हेरून्। कमसेकम मानवता राखिदिए हुन्छ।’

नेतृत्वबारे छलफल नहुने

शनिबारको सचिवालय बैठक नेतृत्वको छलफलसम्म नपुग्ने अवस्था छ । बैठकमा ओली पूरा समय नबस्ने निश्चित छ। स्वास्थ्यले गर्दा निस्किने भएकाले नेतृत्व फेर्ने छलफल नहुने नेताहरू बताउँछन् ।

एमाले उपाध्यक्ष गुरुङ नेतृत्वको विषयमा छलफलसम्म बैठक नपुग्ने बताउँछन् । उनले एकै दिनमा निर्वाचनको समीक्षा नहुने भएकाले अहिले नै अड्कल काट्नु स्वभाविक नभएको बताए।

‘कार्य विभाजन हुन्छ । अरू विषयमा कुरा गर्न अध्यक्षज्यूको स्वास्थ्य ठिक भइसकेको छैन। चुनावको समीक्षा गर्न कार्यदल बन्छ । समीक्षा एक दिनमा हुँदैन । कार्यदलबाट काम अगाडि बढ्छ। अहिले धेरै कड्कल काट्नु आवश्यकता छैन’, गुरुङ भन्छन्, ‘अरू कुरामा धेरै छलफल गर्न भ्याइँदैन । एजेन्डामा नेताहरूको कार्यविभाजन, समसामयिक राजनीति अवस्थाबारे छलफल र कार्यदल मात्रै छन्।’

अहिले एमाले उपमहासचिव योगेश भट्टराई भारतको नयाँ दिल्लीमा परिवारका सदस्यको उपचारमा छन्। सचिव शेरधन राई आमाको निधनपछि भोजपुरमै छन्।

उपाध्यक्ष विष्णु पौडेल लगायत इतर भनिएको समूह पनि शनिबार नै नेतृत्व फेर्ने छलफलसम्म एमाले स्रोत नपुग्ने बताउँछ । एमालेका एक उपाध्यक्षले भने, ‘निर्वाचनको समीक्षा नभई नेतृत्व परिवर्तनको छलफलसम्म पुग्ने कुरा बेकार हुन्छ। केही समय पर्खिएर समीक्षापश्चात् यो एजेण्डा अगाडि बढ्ला’, ती नेताले भने, ‘विशेष महाधिवेशनको कुरा एजेन्डामा नभएकाले राख्ने कुरै आउँदैन । विधानमा पनि विशेष महाधिवेशनको व्यवस्था छैन । त्यसकारण कसरी जाने भन्ने छलफल हुन पाएको छैन।’

एमालेका अरू नेताहरू पनि अहिले विशेष महाधिवेशन बोलाउने कुरा बेकारको भएको बताउँछन् । तर पछिल्लो परिस्थितिअनुसार चल्न निर्वाचनको समीक्षापछि केही न केही गर्नुपर्ने बताउँछन्।

‘विशेष महाधिवेशन बेकारको कुरा हो। बजारमा जे हल्ला छ, त्यसलाई पार्टीमा नेताहरूले बाठो भएर चलाउन ठिक छैन । हावा चल्दा पात हल्लिन्छ, त्यसको पछाडि दौडिएर हुँदैन। विशेष महाधिवेशनको व्यवस्था विधानमा हुनुपर्‍यो, भर्खरै महाधिवेशन गरेको यति चाँडै विशेष महाधिवेशन कसरी हुन्छ ? रहर लागेर विशेष महाधिवेशन हुने होइन’, ओली पक्षीय ती नेताले भने ।

इत्तर पक्ष जुट्दै

एमाले सचिवालयमा अहिलेसम्म ओली नै बलियो देखिएका छन्। ओलीको विकल्प खोज्ने पक्षमा विष्णु पौडेल, रघुजी पन्त, गोकर्ण बिष्ट, पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई, लेखराज भट्ट, शेरधन राई लगायतका नेताहरू जुट्न सक्छन् । तर उनीहरू एकजुट भएको अवस्थामा ओली कमजोर हुन सक्छन्।

तर अहिले नै ती नेताहरू एकजुट हुने अवस्था छैन। सुरुवातदेखि नै ओलीको विकल्प खोजिरहेका योगेश र गोकर्ण बिष्ट एक ठाउँमा हुँदा अरू नेताहरू जुट्ने सम्भावना कमजोर छ।

‘हालसम्म सचिवालयमा ओली नै बलियो भएकाले तत्कालै विकल्पको बिन्दुसम्म पुग्ने अवस्था छैन’, एक नेताले भने, ‘ बिस्तारै कुरा पाक्दै जाला । तत्काल ओलीको विकल्पमा बोल्ने नेताहरू देखिएनन् । अझै पनि ओलीसँग पदको लोभ गर्ने नेताहरू छन्।’

विष्णु र शंकरको भूमिका ?

एउटै भूगोल लुम्बिनीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लामो समयदेखि एकअर्काविरूद्ध खेल्दै आएका नेता हुन् ।

भूगोलको राजनीतिमा एकले अर्कालाई निषेध गरेका कारण यी नेताको सम्बन्ध एघारौँ महाधिवेशनसम्म पनि सुमधुर हुन सकेन। विष्णुले शंकरलाई महासचिवमा नदोहोर्‍याउन लामै कसरत गरे । तर ओलीले विष्णुले इतर लाइन समात्ने अनुमानमा शंकरलाई नै महासचिवमा अगाडि सारे ।

त्यसपछि ओलीको कोटाबाट महासचिव बन्ने योजना बुनेका तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको सपना तुहियो। फागुन २१ को निर्वाचनमा पनि एकअर्कालाई सहयोग नगरेका शंकर र विष्णु निर्वाचनपछि नजिकिएर छलफलमा भने छन्।

तर दुईजना नेताहरू एउटै भाँडोमा अट्ने गरी नजिकिएको कुरा निराधार रहेको निकट नेताहरू बताउँछन्। बरु ओलीले आफू हिरासतमा रहँदा पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएर रामबहादुर थापा बादललाई दिए। यसले भने विष्णु चिँढिएर शंकरसँग दूरी कम गरेका छन् ।

माओवादी पृष्ठभूमिका बादललाई विष्णुभन्दा बढी ओलीले विश्वास गरेका छन् । त्यहीकारण विष्णु र शंकरसँग नजिकिएका छन् । शंकर पनि अहिले ओलीको विकल्पका लागि मनस्थति बनाउँदैछन् ।

‘बादललाई विश्वास गरेपछि विष्णु र शंकरले केही पटक संवाद गरेका छन् । तर विशेष योजना बनाउन सकेका छैनन् । महासचिवले ओलीको लाइन छोड्ने सम्भावना न्यून छ’, एमालेका एक नेताले भने, ‘हामीसँग पनि विष्णुजीले कुरा गर्नुभएको हो । तर अब विकल्प विष्णुजी नभएर तेस्रो तहका नेता हुन् भनेर हामीले सुझाव दिएका छौं।’

विष्णु र शंकरको सम्बन्ध केही सुमधुर भएको देखिन्छ। उनीहरू गत वैशाख २५ गते एमाले अध्यक्ष ओली भेट्न गुण्डुस्थित निवासमा एकसाथ पुगे । ‌ओलीसँग भेटवार्तापछि दुई नेताले तत्काल सचिवालय बैठक राखेर निर्वाचनको समीक्षा गर्नुपर्ने मत बनाए । त्यसका लागि कार्यदल गठन गरेर अगाडि बढ्नुपर्ने सुझाव दुवै नेताले दिए ।

बादललाई ओलीले विश्वास गरेपछि पौडेल र शंकर पनि सोच्ने अवस्थामा पुगेका छन् । शंकर र विष्णु टाढिन खोज्दा अरू नेताले पनि सचिवालय बैठक आह्वान गरेर निर्वाचन समीक्षाको माग गरेपछि बाध्य भएर ओलीले बैठक बोलाएका हुन् ।

दबाबमा ओली

एमाले उपाध्यक्ष विष्णु पौडेलले केही समयअगाडि खबरहबसँगको अन्तर्वार्तामा पार्टी यथास्थितिमा नचले निर्मम समीक्षा हुने बताएका थिए।
उनले परिस्थिति बदलिएका कारण पार्टीमा पनि केही कुरा फेरिने बताउँदै सचिवालय बैठकमा यसको गम्भीर छलफल हुने उल्लेख गरेका थिए।

उता महासचिव शंकर पोखरेलले पनि निर्वाचनपछि पार्टीमा घात-अन्तर्घातको गम्भीर समीक्षा हुनुपर्ने बताउँदै त्यसको निचोडअनुसार पार्टीलाई मूभ गर्ने धारणा राख्दै आएका छन्।

उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पनि खबरहबसँगको अन्तर्वार्तामा सडकबाट कराएर नेतृत्व नफेरिने बताउँदै सचिवालयमा यसबारे छलफल गर्न सकिने उल्लेख गरे ।

उनीहरूले निर्वाचनसम्बन्धी गम्भीर समीक्षा भएपछि पार्टी अगाडि बढाउने विषयमा छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

यता युवा नेताहरू भने तत्काल ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । समयानुकूल नेतृत्व परिवर्तन नभए अर्को निर्वाचनमा पार्टी खोज्नुपर्ने अवस्थामा आउने उनीहरूको चेतावनी छ । परिस्थिति अनुसार पार्टीलाई परिवर्तन गर्नुपर्ने विचार युवा नेताहरूको छ ।

नेतृत्व नफेरे अवस्था नाजुक हुन्छ : विश्लेषक श्रेष्ठ

वाम राजनीति विश्लेषक श्याम श्रेष्ठ एमाले लगायत पुराना दल समयानुकूल परिवर्तन नभए जनताले शून्यमा झारिदिने बताउँछन्। पार्टीहरूले आफूलाई समयानुकूल परिवर्तन नगरे नयाँ पुस्ताको भावना समेट्न नसक्ने उल्लेख गर्छन् । उनले पुरानै ढर्रामा एमाले चले अर्कोपटक निर्वाचनमा उठ्न नसक्ने विश्लेषण सुनाए।

‘अहिले त ओली बिरामी हुनुहुन्छ होला, तर उहाँ स्वस्थ भइसकेपछि कुनै न कुनै हिसाबले परिवर्तन गरेर अगाडि बढ्नुपर्छ। ओलीमात्रै होइन, पुराना पुस्ताका नेताले पनि आफूलाई परिमार्जन गर्नुपर्छ’, श्रेष्ठ भन्छन्, ‘ओली बिरामी हुँदा सचिवालय बैठक लामो समय बस्न नसक्नु विडम्बना हो। परिस्थितिअनुकूल नभएपछि जिम्मेवारी दिएर गएको भए हुन्थ्यो। उनी फर्किएका छन्। पार्टीमा गम्भीर छलफल होला।’

उनी ओली बिस्तारै तंग्रिएकाले यसबारे सोच्दै जानुपर्ने सुझाव दिन्छन् । ‘ममात्रै राम्रो, अरू सबै नराम्रो भन्ने प्रवृत्तिले पार्टी शून्यमा झर्छ’, श्रेष्ठ भन्छन्, ‘अवस्थाअनुसार सबैले परिवर्तन नभए अवस्था झन् बिग्रिन्छ।’

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : ३५ बजे

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस

टोकियो – जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र

‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा, मुख्यमन्त्रीले भोलि उद्घाटन गर्ने

कैलाली- ‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा भएको छ ।

जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी

अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल

काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा