काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा दोहोर्याएका हुन् । यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि उनैलाई कोषाध्यक्ष बनाएका थिए ।
गत पुसमा भएको विशेष महाधिवेशनका क्रममा संसोधित विधानअनुरुप श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
‘पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य उहाँलाई मनोनित गरिएको हो । यसअघि मनोनित गर्ने प्रावधान थिएन,’ उनले बताए ।
कोषाध्यक्ष नियुक्त भएका श्रेष्ठ पूर्वप्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवानिकट नेता हुन । जसकारण उनी गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् ।
पार्टी एकताको पहलस्वरुप थापाले उनलाई नियुक्त गरेको थापाको सचिवालय सदस्य युवराज पाण्डेयले बताए ।
‘उहाँ विशेषमा सहभागी हुनुहुन्थिएन । उहाँ लगायत केन्द्रीय सदस्य मनोनीत १९ जना सबै विशेषमा सहभागी नभएका हुनुहुन्छ । १५ औँ महाधिवेशनबाट एकताको सन्देशसहित कांग्रेस बलियो बनाउन सभापतिले सबैलाई समेट्न खोज्नुभएको हो,’ पाण्डेयले भने ।
२०७८ साउन १० गते देउवाको प्रधानमन्त्री कालमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा पनि नियुक्त भएका थिए ।













प्रतिक्रिया