काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका, बिरामी र वृद्धवृद्धाहरू चिसो भुइँमा बसेर बिहानैदेखि थाल ठटाउँदै आन्दोलनमा उत्रिए । आँखामा आँसु र ओठमा आक्रोश बोकेर उनीहरूले सोधिरहेका थिए– सरकारलाई हाम्रो गाँस खोस्ने अधिकार कसले दियो ?
सरकारले नदी किनारको सुकुम्वासी बस्ती भत्काइदिएपछि स्थायी बसोवासको आशमा झण्डै दुई महिनादेखि ६५ परिवारका २ सय ७७ जना आश्रितहरु यही आश्रमको ट्रसमा अस्थायी टेन्ट टाँगेर बसिरहेका छन् । मिठो नमिठो जेजस्तो भएपनि बिहान बेलुका खाना खान पाइरहेका थिए । तर, बिहानको उज्यालोसँगै न त होल्डिङ सेन्टरमा चुल्हो बल्यो, न त कसैले खानाको पोको नै बोकेर ल्याइदियो ।
’हामी भोकै बस्यौँ, बालबच्चालाई दहीचिउरा खुवायौँ’
कहिले राधास्वामी सत्संगको प्याकिङ खाना त कहिले काठमाडौँ महानगरपालिकाले मेस सञ्चालन गरेर दिने गरेको खानाको भरमा दिन काटिरहेका यी आश्रितहरूले आज दिनभरि अन्नको गेडो मुखमा हाल्न पाएनन् । खानै नपाएपछि बिहान विद्यालय जाने तयारीमा रहेका बालबालिकाको पढाइ छुट्यो । बिरामीले औषधि खानेबेलासम्म पनि खाना खान नपाएपछि अन्ततः उनीहरू आन्दोलनमा उत्रिन बाध्य भए ।
‘बिहान ११ बजेतिर हामी आश्रितहरू आफैँले पैसा उठायौँ । जति जम्मा भयो, त्यसैबाट केटाकेटी र बूढाबूढीलाई दही–चिउरा र फलफूल किनेर खुवायौँ । हामी ठूला मान्छेहरू चाहिँ दिनभरि भोकै बस्यौँ,’ एक जना आश्रितले खबरहबसँग भने ।
उनका अनुसार बिहान त्यहाँ पिउने पानीको समेत अभाव थियो । ‘अहिले पानीको प्रबन्ध त गरिएको छ, तर आज बेलुकाको खाना पाइन्छ कि पाइँदैन, थाहा छैन । व्यवस्था गर्छौँ त भनेका छन्, अहिलेसम्म केही सुरसार देखिएको छैन,’ उनले अन्यौलता प्रकट गरे ।
महानगरको गैरजिम्मेवार उत्तर सिस्टम चेन्ज भएर खाना खुवाउन सकिएन
यता, काठमाडौं महानगरपालिकाले भने यसलाई ’सिस्टम चेन्ज’ हुँदाको सामान्य ढिलाइ मात्र भएको दाबी गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले हिजोसम्म बिहान, दिउँसो र बेलुका नियमित खाना खुवाइरहेको दाबी गरे । ५–६ घण्टाको व्यवस्थापनमा केही समस्या आएको उनको दाबी छ ।
‘बिहानको समयमा फलफूल र दही–चिउरा लगायतका खानेकुरा खुवाएकै हो । दिउँसो २ बजेसम्म खाना खुवाइसकिएको छ, प्रवक्ता मानन्धरले दाबी गरे, ‘नयाँ टोलीले आजदेखि खाना खुवाउने जिम्मा लिएकाले त्यहीँ पकाएर खुवाउने व्यवस्था मिलाउँदा मिलाउँदै केही समय ढिला भएको मात्र हो ।’
राधास्वामी सत्संगले आजदेखि आफैँ स्वेच्छाले खाना खुवाउँछु भनेपछि महानगरले आफ्नो व्यवस्थापन रोकेको उनको भनाइ छ । ‘एकैछिन ढिलो हुँदैमा त्यसरी आन्दोलनमै उत्रिनुपर्ने आवश्यक थिएन’ उनले भने ।
महानगरले उनीहरू त्यहाँ बसुञ्जेल रेखदेख गर्ने जिम्मा आफ्नै भएको र स्थायी बसोबास नभएसम्म हेर्ने बताएको छ । यद्यपि त्यसपछिको सम्पूर्ण जिम्मा केन्द्र सरकारको हुने महानगरको भनाइ छ ।
राधास्वामी भन्छ– हामीलाई थाहै छैन
राधास्वामी सत्संगले खानाको जिम्मा लिएको महानगरले दाबी गरिरहँदा सत्संग आश्रमको जवाफ भने बिल्कुल फरक छ ।
आश्रमका एक कर्मचारीले भने, ‘महानगरले खाना खुवाउन सुरु गर्नुभन्दा पहिले सुरुका केही दिन हामीले आफ्नै तर्फबाट खाना खुवाएका हौँ । तर, जब महानगरले यो सबै जिम्मेवारी आफ्नो हातमा लियो, त्यसपछि हामीले केही पनि गरेका छैनौँ । आजको विषयमा हामीलाई कुनै जानकारी नै छैन ।’
महानगरले झूट बोल्यो, हाम्रा बच्चाको भविष्यमाथि खेलबाड भयो
महानगर र आश्रमको विरोधाभाषपूर्ण दाबीबीच आश्रितहरू भने आफूहरूमाथि राजनीति भइरहेको आरोप लगाउँछन् । आन्दोलनकै क्रममा माइतीघर मण्डला आइपुगेकी आश्रित स्मिता आचार्यले महानगरको दाबीलाई पूर्ण रूपमा ’झुट’ भनिन् ।
‘हामी आन्दोलनकै क्रममा माइतीघरमा थियौँ, कसैले खाना खुवाएको छैन । दिउँसो ३ बजे आश्रितहरू आफैँले दालमोठ–चिउरा किनेर खाएको खबर मैले पाएकी छु,’ स्मिताले आक्रोश पोखिन्, ‘हाम्रो व्यवस्थापनको जिम्मा महानगर र नेपाल सरकारको हो ।’
‘कुनै संस्थाले खाना खुवाइरहेको छ भन्दैमा महानगर आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्छ ?’ उनले प्रश्न गरिन् । उनका अनुसार महानगरले सेन्टरका १४ जना बालबालिकालाई होस्टेलमा राखेर पढाउने घोषणा गरेको थियो । तर, त्यो घोषणा केवल कागजमै सीमित भयो । ‘महानगरको आशै आशमा बस्दा न ती बालबालिकाले अन्त कतै पढ्ने मौका पाए, न त महानगरले नै उनीहरूको शिक्षाको व्यवस्था गर्यो ।’
सडकबाट उठाएर पालमुनि राखिएका यी सुकुम्वासीहरूका लागि अब भोको पेट मात्र समस्या रहेन, राज्यका निकायहरूले बोल्ने झुट र जिम्मेवारी पन्छाउने प्रवृत्तिले उनीहरूको आत्मसम्मानमाथि समेत गहिरो चोट पुर्याइरहेको छ ।












प्रतिक्रिया