त्यो असारजस्तो किन छैन यो असार ? « Khabarhub

त्यो असारजस्तो किन छैन यो असार ?



ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने असार प्रकृति, श्रम र मानव जीवनको अनुपम महाकाव्य हो । खडेरीले चिरा परेका खेतका गरा पानीले भरिएर ऐनाजस्तै टल्किँदा र डाँडाकाँडाले हरियो घुम्टो ओढ्दा धर्तीले नवजीवनको वरदान पाउँछ ।

भ्यागुताको ट्यार–ट्यार क्रन्दन, पहाडे कुलोको सुसेली र तराईमा वर्षाको दर्कोले वायुमण्डलमा अलौकिक सङ्गीत भर्छ । तर, यो सङ्गीतमा मात्रै अलमलिने समय होइन– ‘मानो खाएर मुरी उब्जाउने’ अमूल्य घडी हो, जहाँ हलीको निर्देश, बाउसेको चटारो र रोपाहारका असारे भाकाहरू हिलो र पसिनासँग एकाकार हुन्छन् । हिलोलाई चन्दन र कर्मलाई पूजा मान्ने किसान यहाँ धान मात्र होइन, आलीमा दही–चिउरा खाँदै आफ्ना सुनौला सपना धर्तीको गर्भमा रोप्छन् ।

असारले हाम्रो माटोप्रतिको अगाध प्रेम र पर्मको सामूहिक संस्कृतिलाई जीवन्त बनाएको छ । यो केवल वर्षाको भेल मात्र होइन, हाम्रो कृषि अस्तित्व, अर्थतन्त्र र सङ्घर्षको बलियो तार्किक जग पनि हो। जसरी आकाशको पानीबिना प्रकृतिको चक्र अधुरो हुन्छ, त्यसैगरी असारको हिलोमा नडुब्दासम्म समृद्धिको क्षितिज उघ्रिन सक्दैन । यसले सृष्टिको एउटा अकाट्य सत्यलाई प्रमाणित गर्छ ।

सुख र उत्पादन सहजताको कोखबाट होइन, असहज परिस्थिति र कडा साधनाको गर्भबाट मात्र जन्मन्छन् । नेपाली समाजको आपसी सद्भावलाई एकीकृत गर्ने यो समयले श्रमलाई पेसासँग मात्र होइन, राष्ट्रिय गौरव र सभ्यताको निरन्तरतासँग जोड्छ । अतः तार्किक रूपमा हेर्दा असार दुःखको पर्याय नभएर अभावमाथि विजय प्राप्त र भविष्यलाई सुरक्षित गर्ने एउटा अपरिहार्य एवं दूरदर्शी लगानीको महायज्ञ पनि हो ।

हो, असार सबैले स्मरण गर्ने महिना हो । यतिवेला हामी विज्ञानको चरम उत्कर्षको ‘आधुनिक असार’सँग जुधिरहेका छौँ । समयको अविराम गतिसँगै यान्त्रिक आधुनिकताको चमक त भित्रियो, तर यसले हाम्रा कतिपय मौलिक सांस्कृतिक धरोहर र रैथाने सुवासहरूलाई इतिहासको धुमिल पानामा सीमित गरिदियो ।

स्मृतिपटलको कुनै कुनामा आज पनि ढिकीमा कुटिएका ती सुगन्धित, अमूल्य चिउरा र पातिका पातले गुटुमुटु पारेर प्राकृतिक रूपमै पकाइने केराको अलौकिक स्वाद जीवन्त छ । त्यो स्वाद आजभोलिका विलासी तारे होटलका कृत्रिम र व्यावसायिक मेनुहरूमा खोजेर भेटिँदैन ।

मङ्सिरको सुनौलो ऋतुदेखि नै गाउँको अन्नपूर्ण भकारीमा जतनसाथ सुरक्षित राखिएको धानको त्यो गौरवमय इतिहास र खड्कुँडोबाट निस्कने कञ्चन बाफको सुगन्धसँग जोडिएको आत्मसन्तुष्टि आज बजारका यान्त्रिक र पोलिस गरिएका चमक–धमकयुक्त चिउराहरूमा किमार्थ प्राप्त हुन सक्दैन । त्यो उत्तरबाल्यकालको स्वर्णिम परिवेश, जहाँ हाम्रा साना र कलिला खुट्टा ढिकीको पुच्छर थिच्नका लागि एउटा अभूतपूर्व उत्साहका साथ दौडिन्थे ।

बैँस र तागत नपुगेका ती निर्दोष गोडाहरू निहुराउन गाह्रो हुँदा हजुरआमाको लुङ्गीको फेरो समातेर भए पनि ढिकीको पुच्छरमा चढ्नै पर्थ्यो । हजुरआमाले असीम वात्सल्य खन्याउँदै भन्नुहुन्थ्यो, ‘छेउमा टेक न बाबु, बल थपिन्छ कि ।’ हो, कालान्तरमा बुझ्दै जाँदा हजुरआमाको त्यो ममतामयी ढाडस केवल ढिकी कुट्नका लागि मात्र थिएन रहेछ, त्यो त जीवनका अनपेक्षित उत्साह र सङ्घर्षहरूसँग जुध्नका लागि दिइएको एउटा शाश्वत जीवन–दर्शन रहेछ । त्यही आड र संस्कारको बलमा आज पनि यो जीवनको गोरेटो अविचलित अडिएको आभास हुन्छ ।

त्यो परम्परागत ढिकीको आफ्नै एउटा अनुपम सङ्गीत थियो, आफ्नै माटोको सुवास र स्वर बोकेको लोकलय थियो । ‘भक्र्याङ च्याङ… भक्र्याङ च्याङ’ को त्यो आवाजले केवल धान मात्र कुट्दैनथ्यो, बरु माटोसँगको अटुट मानवीय प्रीति र सामूहिकताको पाठ सिकाउँथ्यो । अहिले चेतनाको डिलमा उभिएर नियाल्दा लाग्छ, त्यो ढिकी मात्र कहाँ बज्थ्यो र ? त्यो त सिङ्गो गाउँकै एउटा सामूहिक धडकन, चेतना र जीवन्त आवाज घन्किएको रहेछ । जो आफैँ जुर्मुराएको ग्रामीण लोकजीवनको गाथा बोलेको रहेछ । त्यहाँभित्र आलोपालो हुन्थ्यो, अर्मपर्म हुन्थ्यो । एक घरको चिउरा कुटिसकेपछि अर्कोको पालो आउँथ्यो । कुट्दा मात्र होइन, खाँदा पनि आलोपालोमै खाइन्थ्यो– घर घुमीघुमी । धुसेरी र पातिका पातमा बेरिएर रैथाने प्रविधिबाट पकाइने ती केरा अनि लैनो भैँसीको चकने दही… ।

भावनात्मक थियो गाउँ । घाँसपात र कुँडोका लागि छिमेकीको आँगनमा सहजै गरिने आत्मीय फेरा, चकनै चकना भएको दही र तोलनमा मथेको महीसमेत बाँडेर खाने ती संस्कार आज एकादेशको दन्त्यकथाजस्तै लाग्छन् । त्यतिबेलाको नेपाली ग्रामीण समाज बजारवाद र मुद्राको तुलोमा होइन, आपसी अकाट्य विश्वास, पारस्परिकता र स्नेहको जगमा चलेको थियो । हरेकको भान्सा र चुलोमा छिमेकीको निश्छल सद्भाव र सहअस्तित्वको पवित्र ज्योति बलिरहेको हुन्थ्यो । अझ भनौँ, छिमेकीबाट आगोको फिलुङ्गो र दियालोको टुक्रासमेत आदानप्रदानले आत्मीयता प्रगाढ बनाएको थियो ।

असारका दिन खेतकै कुइनेटामा ढुङ्गा जोडेर बनाइएको वनभोजे प्राकृतिक चुलो, त्यसबाट निस्कने धुवाँको बास्ना र भित्रैसम्म राग पुग्ने गरी आगोको कोइलामा पोलेका हरिया मकैको स्वाद शब्दमा बयान गर्न असम्भव छ ।

तामाको अचार र करेलाको रैथाने तरकारीसँग हिलोमै बसेर खाइने त्यो खाजाका अगाडि संसारकै वैभवशाली र महँगा भोजहरू पनि फिक्का, नीरस र निसार लाग्छन् । वास्तवमा, त्यो स्वाद कुनै कृत्रिम नुन वा आयातीत मर–मसलामा कहाँ थियो र ? त्यो त खेतको हिलो र माटोमा सँगै पसिना बगाउने श्रमजीवी मान्छेको आत्मीयता र निश्छल प्रेमको अमूल्य घोलमा मिश्रित थियो ।

श्रम र आत्मीयताको त्यही फ्युजन नै त्यो भोजनको वास्तविक लालित्य थियो । परन्तु, समयको क्रूर चक्रव्यूहमा आज पनि असार त आएकै छ, त्यो असारजस्तो किन आएन यो असार ?

वर्षैपिच्छे निरन्तर आउँछ, तर त्यो पुराना मूल्यमान्यता बोकेको जीवन्त गाउँ आउँदैन ।

अचेल अमृततुल्य दही फ्रिजको कृत्रिम चिसोमा बन्धक छ भने, रैथाने चिउरा प्लास्टिकको निर्जीव थैलोमा कैद भएर बजारको हेङ्गरमा झुण्डिएको हुन्छ । ट्र्याक्टरको यान्त्रिक र कोलाहलपूर्ण आवाजले हिल्याएका आधुनिक खेतका गराहरूमा अचेल लोकजीवनका असारे भाका र ‘बाउसे’का गीतहरू होइन, मोबाइलका डिजिटल घण्टी गुञ्जिन्छन् । समयको तीव्र गतिको बहावमा ढिकीको त्यो रैथाने र मौलिक लय कतै सुदूर इतिहासमा बिलाएर गयो ।

मानव जीवन र प्रविधि बाह्य रूपमा आधुनिक त भए, तर हाम्रो सनातन मन भने आधुनिकताको यो कृत्रिम साँचोमा फिट हुन सकेन । आज पनि एकान्तमा आँखा चिम्लिँदा अतीतबाट हजुरआमाको त्यो वात्सल्यपूर्ण र दिव्य स्वर गुञ्जिएर आउँछ, ‘ए छिटो उठ न बाबु, आज धान उसिन्नुपर्छ, पल्लाघर गएर ठूलो खड्कुँडो मागेर ल्याऊ…।’

चेतना र स्मृतिको त्यो उर्वर ब्याडमा आज पनि बाल्यकालको त्यो रैथाने रोपाइँ र असारे हिलो निरन्तर चलिरहन्छ । वास्तवमा, असार १५ पनि केवल दही–चिउरा चपाउने एउटा ऋतुकालीन कर्मकाण्ड वा उत्सव मात्र कहाँ थियो र ? यो त हलो, गोरु, हली, बाउसे, रोपाहार र धर्तीमाताको अस्तित्वको सामूहिक महागान थियो । हाम्रो कृषि सभ्यताको मेरुदण्ड थियो र अहिले पनि असारले कृषिको मेरुदण्डकै रूपमा भूमिका निर्वाह त गरेकै छ, मात्र शैली फरक छ ।

सहरको भौतिक चमक, कङ्क्रिटका महल र कोलाहल जतिसुकै लोभलाग्दो र चम्किलो भए तापनि हामीले आफ्नो अस्तित्वको मूल जरा र धरातललाई कदापि बिर्सनु हुँदैन । किनकि हाम्रो वास्तविक पहिचान, संस्कार, मौलिकता र आत्मिक वैभव त्यही गाउँको पावन माटो, श्रम र रैथाने सानमा नै अन्तर्निहित छ । जबसम्मे हामी आफ्नो माटो र जरासँग जोडिरहन्छौँ, तबसम्म मात्र हाम्रो अस्तित्व जीवन्त रहन्छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ८ : ५९ बजे

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका