काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल आवश्यक रहेकामा जोड दिइएको छ । साथै जोखिमलाई सामना गर्न विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि संयुक्त प्रयासको खाँचो औँल्याइएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजनाद्वारा ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताको लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफल कार्यक्रम सो खाँचो औँल्याइएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले सासाइटीले विभिन्न मानवीय सेवाका गतिविधिलाई निरन्तर जारी रहेको जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. पोमावती थापाले ‘नेपालमा नसर्ने रोगको वर्तमान अवस्था, उपलब्धि तथा सन् २०३० सम्मको राष्ट्रिय कार्यदिशा’ विषयक प्रस्तुति गर्दै नेपालमा बढ्दो नसर्ने रोगको चुनौतीलाई सम्बोधन गर्न विपद् जोखिम व्यवस्थापनसँग स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल अपरिहार्य रहेकामा जोड दिए । उनले भने, ‘विभिन्न कारणले पछिल्लो समय नेपालमा सरुवा भन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । यसलाई सम्बोधन गर्न संयुक्त प्रयासको खाँचो पर्दछ ।’
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नसर्ने रोगको जोखिममा रहेका समुदायको पहिचान गरी त्यहीअनुसारको पूर्वतायरी गर्नुपर्ने आवश्यतका औँल्याए । डेनिस रेडक्रसको देशीय व्यवस्थापक (नेपाल र बङ्गलादेश) डेभिड फोग्देनले नसर्ने रोगको विश्वव्यापी तथ्याङ्कलाई अध्ययन गर्दा अवस्था गम्भीर रहेको पाइएको बताए । उनले समुदायमा विपद् प्रतिरोधात्मक स्वास्थ्य प्रणालीको विकास, गैरसरुवा रोगको प्रभावकारी व्यवस्थापन तथा साझेदारीमा आधारित कार्यलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा सुझाव दिए ।
नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले विपद्का अवस्थामा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न बहुपक्षीय सहकार्य र नीतिगत समन्वय आवश्यक रहेको बताए ।
डेनिस रेडक्रसका नेपाल कार्यक्रम संयोजक निरु प्रधान तथा नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक प्रमोद अधिकारीले विपद्को समयमा नसर्ने रोगसम्बन्धी बिरामीहरूका लागि उपचार तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भइरहेको उत्थानशील नसर्ने रोग परियोजनाका प्रमुख उपलब्धि तथा सिकाइहरू प्रस्तुत गरेका थिए ।
नेपाल रेडक्रस, स्वास्थ्य सेवा विभागका कार्यक्रम संयोजक अनिल महर्जनले परियोजनाअन्तर्गत गरिएको अध्ययन तथा अनुसन्धानका प्रमुख निष्कर्ष प्रस्तुत गर्दै समुदायस्तरमा नसर्ने रोग व्यवस्थापनलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा नसर्ने रोगसम्बन्धी सेवाको व्यावहारिक कार्यान्वयन, नीतिगत अवसर, स्वास्थ्य प्रणालीमा प्रभावकारी एकीकरण तथा दिगो संस्थागत व्यवस्थापनका विषयमा सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल भएको थियो ।
यसमा विपद्को अवस्थामा नसर्ने रोग (एनसिडी) सम्बन्धी सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक नीति तथा रणनीतिक व्यवस्था, स्रोत परिचालन, स्वास्थ्य प्रणाली र प्राथमिक स्वास्थ्य सेवासँग एनसिडी सेवाको एकीकरण, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापन, स्थानीय तहको भूमिका, पेन–डीको संस्थागत विकासमा छलफल गरिएको थियो ।
साथै, अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माण, अन्तर्राष्ट्रिय अभ्यास, बहुपक्षीय समन्वय तथा विपद्को समयमा नसर्ने रोगका बिरामीलाई गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उपायबारे छलफल गरिएको थियो ।












प्रतिक्रिया