मिथिलामा झुलनोत्सव सुरु « Khabarhub

मिथिलामा झुलनोत्सव सुरु


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् ।

हिन्दू परम्पराका आराध्यदेव श्री विष्णु र भगवती लक्ष्मीको पुकारा गरिने यस पर्वमा यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलना (एक प्रकारको कोक्रो)मा राखेर भक्तिगीतको लयमा झुलाउने (हल्लाउने) गरिन्छ । साउन पूर्णिमाका दिन समापन गरिने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव रहँदै आएको छ ।

शनिबार पर्व सुरु भएसँगै मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको रौनक छाएको छ । पर्वले महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर र वैैष्णव मठहरूमा झुला महोत्सवमा साधुसन्तसहित सर्वसाधारण झुमेका देखिँदा छन् । मैथिल हिन्दू परम्परामा यो पर्व भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनका लागिसमेत विशिष्ट रहँदै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन् ।

‘यो बालरुप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो, श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाएको प्रतिकात्मक सम्झना यस पर्वमा गरिन्छ’, डा. वैष्णवले भने । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने रामसीता र कृष्णराधाका प्रतिमालाई विशेष झुलामा राखेर गीत गाउँदै हल्लाउनु पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाएर भक्तिभाव जाहेर गर्छन् ।

पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । यो पर्वमा आमसर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा नाच्छन् ।

झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । यसैगरी महोत्तरीको जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा झुलामहोत्सव मनाइन्छ ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएको हुँदा ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन १७८७ सालतिर सन्त सुरकिशोर दासले सुरु गराएको मानिन्छ ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ । मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन् । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् ।

साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ । मिथिलामा प्रचलनमा रहेका पञ्चाङ्ग विद्यापति र मिथिला हुन् । यी दुवै पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि वर्ष प्रारम्भ हुन्छ । यसअनुसार साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षावन्धनसँगै वर्षभरिका चाडवाडको सिलसिला सुरु भएको सूचनाका रुपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : ४१ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ