काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको बन्दसत्रमा सहभागी भएका छन्।
इतर समूहको राष्ट्रिय भेलाको उद्घाटनसमेत गरेका देउवाले आइतबार बन्दसत्रमा करिब तीन मिनेट सम्बोधन गरे। सम्बोधनका क्रममा उनले आफूलाई स्वागत गर्न विमानस्थलदेखि नै देखाइएको उत्साहप्रति धन्यवाद दिँदै नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए।
‘यो भेलामा उपस्थित सबै साथीभाइहरूलाई धन्यवाद। एयरपोर्टदेखि नै साथीहरूले पार्टी तथा मेरो समर्थनमा जुन उत्साहपूर्ण समर्थन देखाउनुभयो, त्यसका लागि धेरै–धेरै धन्यवाद,’ देउवाले भने।
उनले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको उल्लेख गर्दै अहिले पनि अदालतकै कारण आफू नेपाल फर्कन सकेको बताए। पछिल्लो समय आफूविरुद्ध जारी पक्राउ पुर्जी तथा अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी गर्ने प्रयासतर्फ संकेत गर्दै देउवाले अदालतप्रति कृतज्ञता व्यक्त गरे।
‘पञ्चायतकालदेखि नै न्यायालयले मलाई न्याय दिएको हो। सर्वोच्च अदालतसहित सबै अदालतले हामीलाई न्याय दिएको हो। न्याय दिएकोमा अदालतप्रति कृतज्ञ छु,’ उनले भने।
राजाको शासनका बेला आफूलाई पक्राउ गरी थुनिए पनि अदालतले शाही आयोग नै खारेज गरिदिएको स्मरण गर्दै देउवाले पञ्चायतकालमा समेत न्यायालयले आफूलाई जेलबाट मुक्त गराएको बताए।
‘राजाले थुन्दा पनि उनको शाही आयोगलाई अदालतले नै खारेज गरिदिएको हो। पञ्चायतकालमा पनि न्यायालयले मलाई जेलबाट छाडिदिएको हो। अहिले पनि न्यायालयले बचाएकाले म फर्किएर आएको हुँ,’ उनले भने।
पछिल्लो राजनीतिक घटनाक्रममा विशेष महाधिवेशन र त्यससँग सम्बन्धित निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको विषयमा पनि देउवाले धारणा राखे। पार्टीका सबै पक्षको सहमतिमा विशेष महाधिवेशन गर्ने भनिए पनि बलजफ्ती विशेष महाधिवेशन गरेर धेरै साथीहरूलाई अन्यायपूर्वक बाहिर पारिएको उनको आरोप थियो।
‘पार्टीका सबैजनाको सहमतिले विशेष महाधिवेशन गरौँ भनिएको थियो। तर बलजफ्ती विशेष महाधिवेशन गरेर धेरै साथीहरूलाई अन्यायपूर्वक बाहिर पारियो,’ उनले भने।
विशेष महाधिवेशनको निर्णयलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबारे अदालतले पुनरावलोकन गर्ने बताएको भन्दै उनले अदालतमा विचाराधीन मुद्दाबारे आफूले धेरै टिप्पणी नगर्ने बताए।
धर्मबारे बोले
देउवाले आफ्नो सम्बोधनको केही समय धार्मिक विषयमा समेत केन्द्रित गरे। आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पार्दै उनले नेपालमा सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राखे।
‘धेरै साथीहरूले मलाई हिन्दु धर्मबारे बोल्न भनिरहनुभएको छ। म व्यक्तिगत रूपमा हिन्दु हुँ। मेरो ब्रतबन्ध पनि हिन्दु विधिअनुसार भएको हो,’ उनले भने।
उनले आफूले दिदीको विवाहसमेत ब्रतबन्धपछि हिन्दु परम्परा र रीतिरिवाजअनुसार गरेको बताए। आफू अहिले पनि पशुपतिनाथमा पूजा गर्ने गरेको उल्लेख गर्दै उनले आफ्नो हिन्दु पहिचानप्रति स्पष्ट धारणा राखे।
‘म अहिले पनि पशुपतिनाथमा पूजा गर्छु। म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने। उनले धर्मबारे नेपाली जनताले गर्ने निर्णयलाई आफूले जहिल्यै स्वीकार्ने पनि बताए ।
तर हिन्दु हुनुको अर्थ अन्य धर्मप्रति असम्मान गर्नु नभएको उनको भनाइ थियो। नेपालमा सबै नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता हुनुपर्ने उनले बताए।
‘म नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्छु। धार्मिक स्वतन्त्रता भनिरहँदा नेपाली हिन्दुहरूलाई तँ हिन्दु हुन पाउँदैनस् भन्न कसैले पाउँदैन,’ उनले भने।
देउवाले भगवान् गौतम बुद्धप्रति आफ्नो अगाध माया र आस्था रहेको पनि बताए। उनले बुद्ध धर्मलाई विश्वले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत चर्चा हुने गरेको भन्दै सम्मान व्यक्त गरे।
त्यस्तै, नेपालका किरात राई समुदायले प्रकृतिलाई पूजा गर्ने परम्पराप्रति पनि सम्मान रहेको उनले बताए। विभिन्न धार्मिक समुदाय र परम्पराप्रति सम्मान व्यक्त गर्दै देउवाले आफू हिन्दु भए पनि सबै धर्मलाई माया गर्ने धारणा राखे।
‘भगवान् गौतम बुद्धप्रति मेरो अगाध माया र आस्था छ। बुद्धिज्मलाई संसारले मानेको छ। अर्कातिर नेपालमै किरात राईहरूको पनि प्रकृतिलाई पूजा गर्ने धर्म छ। प्रकृतिप्रति उनीहरूले देखाउने अगाध प्रेमको पनि म सम्मान गर्छु। तर पनि म हिन्दु हुँ, म सबै धर्मलाई माया गर्छु,’ उनले भने।
बन्दसत्रमा देउवाको सहभागिता र सम्बोधनलाई कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद तथा शक्ति समीकरणका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ। केही समययता पार्टीभित्रको विवाद, विशेष महाधिवेशन, निर्वाचन आयोगको निर्णय र अदालतमा विचाराधीन मुद्दाका कारण कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बनेको छ।
देउवाको आइतबारको सम्बोधनमा भने उनले प्रत्यक्ष रूपमा कुनै पक्षमाथि आक्रामक राजनीतिक टिप्पणी नगरी न्यायालयप्रतिको आफ्नो विश्वास, पार्टीभित्रको विवाद र धार्मिक स्वतन्त्रताबारे धारणा सार्वजनिक गरेका छन्।












प्रतिक्रिया