ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
यस वर्ष सोमबार लाग्ने नागपञ्चमीको प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत तयारी पूरा भएको हो ।
ललितपुर महानगरपालिका-२४ का वडाध्यक्ष एवं नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार धापाखेलस्थित नागदहमा सोमबार लाग्ने नागपञ्चमी मेलाको सुरक्षा, सरसफाइ, गङ्गा आरतीलगायत तयारी पूरा भएको हो ।
‘परापूर्वकालदेखि श्रावण शुक्ल पञ्चमीका दिन यहाँ मेला लाग्ने परम्परा रहिआएको छ । वासुकी नागको बासस्थान रहेको नागदहमा लाग्ने मेला भव्य रूपमा सम्पन्न गर्न हामी तयारीमा जुटेका छौँ’, वडाध्यक्ष पाण्डेले भने । मेलाका दिन (सोमबार) बिहान ४ बजेदेखि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको उनले बताए ।
वडाध्यक्ष पाण्डेका अनुसार यस वर्षको नागपञ्चमी मेलालाई थप व्यवस्थित, स्वच्छ र भव्य बनाउन प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत ११ वटा विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
विभिन्न क्षेत्रका सुरक्षाकर्मी, विद्यालयका स्काउट, समाजसेवीलाई लाइन व्यवस्थापनको लागि खटाइने तयारी भएको उनले बताए ।
स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोस्ट, रेडक्रस र सुमेरु अस्पतालसँगको सहकार्यमा एम्बुलेन्स तयारी अवस्थामा राख्नुका साथै प्राथमिक उपचारको व्यवस्था गरिएको छ ।
वडाध्यक्ष पाण्डेका अनुसार पूजारी शिव गिरीको घरबाट सोमबार बिहान बहुमूल्य गरगहनासहित पित्तलको नागको प्रतिमा नागदहमा ल्याइन्छ र पूजा गरिन्छ ।
दिनभरी पूजा गरिएको प्रतिमालाई राति बाजागाजासहितको टोलीले फेरि पुजारीकै घरमा लगेर राखिदिने परम्परा रहेको उनले बताए ।
‘नाग भगवान्लाई रिझाएर खुसी पारेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासअनुसार यहाँ नागपञ्चमीका दिन वासुकी नागको विशेष पूजाआराधना हुन्छ’, वडाध्यक्ष पाण्डे भने ।
नागको पूजा गर्दा घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने र छालाको रोग निको हुने जनविश्वास रहेको उनले बताए ।
‘नागपञ्चमीमा नागदहमा आएर नागको दर्शनसँगै स्नान गरेमा घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ’, वडाध्यक्ष पाण्डेले भने ।
नागपञ्चमीका अवसरमा लाग्ने मेला भर्न उपत्यका र आसपासका जिल्लाबाट भक्तजन आएर नागदहमा स्नान गर्नुका साथै विभिन्न भाकल राखेर नागको मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन रहिआएको छ ।
मेलामा ललितपुरका धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटोलगायत क्षेत्रका स्थानीय र भक्तजनको घुइँचो लाग्ने वडाध्यक्ष पाण्डेले जानकारी दिए ।
करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक नागदहको गहिराइ समग्रमा २५ फिट भए पनि मध्यभागमा ४१ फिट रहेको छ । दहको चौडाइ ९३७ मिटर रहेको समितिले जनाएको छ । प्राचीन तालका रूपमा परिचित यो पोखरीको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।
काठमाडौँको पानी चोभार गल्छीबाट पठाइएपछि यो स्वतः निर्मित दह बनेको हो । त्यसबेला उपत्यकाका नागले यहाँ बसोबास गरेका भन्दै नागको पूजाआजा हुन थालेको जनविश्वास रहिआएको छ ।
आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेका बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक विधिबाट छेदन गरी पानी बाहिर पठाएको किंवदन्ती रहेको वडाध्यक्ष पाण्डेले बताए ।
‘त्यसरी पानी बाहिर पठाउँदा नागराजा पनि बाहिर जाने भएकाले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह बनेको जनविश्वास छ’, उनले भने ।
नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्र मात्र होइन । राष्ट्रिय सिमसार क्षेत्रसमेत भएकाले विभिन्न स्थानबाट आउने पन्छीको बासस्थान पनि यहाँ छ । नागदहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लाग्दछ ।
पछिल्लो समय ललितपुर महानगरपालिकाले यसलाई पर्यटकीय गन्तव्यका रूपमा संरक्षण र प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ ।












प्रतिक्रिया