दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक र अव्यवस्थित पार्किङका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ। बजार क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिन थालेका छन्।
मोटरसाइकलको ठक्करबाट एक घाइते
बुधबार बिहान मैनापोखरी बजारमा मोटरसाइकलले ठक्कर दिँदा रामेछापको दोरम्बा शैलुङका ४६ वर्षीय मोहनलाल श्रेष्ठ घाइते भएका छन् ।
उनको अवस्था सामान्य रहे पनि कुमको हड्डी खुस्किएकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको दाहाल मेडिकल मैनापोखरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक वैतेश्वर -१ का २१ वर्षीय अमर तामाङ र उनले चलाएको बा ६२ प ४१५१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मैनापोखरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक तामाङ पनि दुर्घटनामा सामान्य घाइते भएका छन ।
चार दुर्घटना दोहोरिए
स्थानीयका अनुसार मैनापोखरी बजार क्षेत्रको सडकमा यसअघि पनि कम्तीमा चारवटा सवारी दुर्घटना भइसकेका छन् । बजार क्षेत्रमा सडक साँघुरो हुनुका साथै जथाभाबी सवारी पार्किङ गर्ने, सामान लोड–अनलोड गर्ने सवारीसाधनले सडक ढाक्ने तथा सडक क्षेत्रमा रहेका विद्युत् पोलका कारण आवतजावतमा समस्या हुँदै आएको स्थानीयको भनाइ छ ।
बुधबार भएको दुर्घटनाको सीसीटीभी फुटेजमा समेत सडकको बायाँतर्फ सवारीसाधन पार्किङ गरेर सडकको ठूलो हिस्सा ढाकिएको र मोटरसाइकल दायाँतर्फबाट अघि बढ्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको देखिएको छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र बजार व्यवस्थापन समितिले समयमै सडकमा हुने अव्यवस्थित पार्किङ तथा सामान लोड–अनलोड नियन्त्रण नगरे दुर्घटनाको जोखिम थप बढ्न सक्ने स्थानीयको भनाइ छ ।
सडक क्षेत्रमा रहेका विद्युत्का पोल व्यवस्थापन गर्न तथा बजार क्षेत्रमा पार्किङ र सवारी आवागमनलाई व्यवस्थित गर्नसमेत स्थानीयले माग गरेका छन् ।
बजार क्षेत्रमा सवारी तथा पैदलयात्रीको आवागमन सहज बनाउन सम्बन्धित निकायले तत्काल आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिएको छ । सुवास बस्नेत/दोलखा












प्रतिक्रिया