एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार नाकाबन्दीको पालना सुनिश्चित गर्न ती जहाजलाई हर्मुज जलघाँटीबाट अन्य मार्गतर्फ पठाइएको हो। सेन्टकमले अरब सागरमा अमेरिकी नौसेनाको ‘युएसएस राफेल पेराल्टा’ बाट उडान गरिरहेको एमएच–६० सी हक हेलिकप्टरको भिडियोसमेत सार्वजनिक गरेको छ।
इरानसँगको युद्धले अमेरिकी रक्षा खर्चमा समेत ठूलो दबाब पारेको छ। अमेरिकी कङ्ग्रेसअन्तर्गतको स्वतन्त्र निकाय कङ्ग्रेसनल बजेट अफिस (सीबीओ) का अनुसार सन् २०२६ अगस्ट १ सम्म इरानविरुद्धको सैन्य कारबाहीमा अमेरिकी रक्षा विभागले करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। युद्धको तीव्रता जुलाईकै स्तरमा कायम रहे मासिक खर्च करिब तीन अर्ब डलर पुग्न सक्ने सीबीओले जनाएको छ।
यसैबीच, अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा इरान युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे गोप्य बैठक गरेका थिए।
अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको आयोजनामा भएको बैठकमा उनले मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता गर्ने योजना नरहेको र हर्मुज जलघाँटी हुँदै समुद्री यातायात बढाउने अमेरिकी रणनीतिबारे जानकारी गराएको एक्सियोसले जनाएको छ।
बैठकमा इजरायली रक्षा बलका प्रमुख जनरल इयाल जमिरले पनि विभिन्न मोर्चामा जारी सैन्य कारबाहीबारे जानकारी दिएका थिए ।।












प्रतिक्रिया