काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाह निरन्तर बैठक तथा संवादमा रहेको बताएका छन्।
सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको विषयमा पत्रकारहरूले संवेदनशील परिस्थितिमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने होइन र भन्ने प्रश्न गरेपछि लामिछानेले प्रधानमन्त्री स्थानीय तहका जनप्रतिनिधिसहित विभिन्न पक्षसँग छलफलमा रहेको दाबी गरे।
लामिछानेले सरकार र राजनीतिक दलले गर्ने कामलाई छुट्टाछुट्टै रूपमा अघि बढाइएको बताए।
उनले भने, ‘प्रधानमन्त्री हिजै जस्तो लाग्छ मलाई स्थानीय तहका साथीहरूसँग पनि बैठक बस्नुभयो। हामी त कामहरू बाँडफाँड गरेर गर्छौं।’
उनका अनुसार विगतको राजनीतिक अभ्यासमा पार्टी सभापति वा अध्यक्ष नै प्रधानमन्त्री हुने अवस्था रहेको भए पनि अहिले सरकार र पार्टीका जिम्मेवारीलाई अलग–अलग रूपमा अघि बढाउने अभ्यास गरिएको छ।
‘सरकारको काम सरकारले गर्ने, पार्टीको काम पार्टीले गर्ने एउटा ठूलो राजनीतिक उदाहरण छ,’ लामिछानेले भने, ‘त्यसकारण यसलाई अरू हिसाबले बुझ्नु भएन।’
पत्रकारहरूले प्रधानमन्त्रीको सर्वदलीय बैठकमा अनुपस्थितिलाई लिएर प्रश्न गरेपछि लामिछानेले प्रधानमन्त्रीको भूमिकाको बचाउ गर्दै सरकार आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए। उनले सर्वदलीय बैठकमा आफ्नो उपस्थिति पार्टीको तर्फबाट भएको र पार्टीले निर्वाह गर्नुपर्ने राजनीतिक जिम्मेवारी आफूले गरिरहेको स्पष्ट पारे।
भोटेकोशी बाढीपछिको राहत, उद्धार तथा समन्वयका विषयमा राजनीतिक दल र सरकारबीचको भूमिकाबारे पत्रकारहरूले प्रश्न उठाएका थिए।












प्रतिक्रिया