सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले उठाएको प्रश्नको खण्डन गर्दै त्यसमा अत्यधिक तापक्रम सहन सक्ने तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको जनाएको छ।
दुई कोरियाबीच उन्नत हतियार विकासको प्रतिस्पर्धा तीव्र भइरहेका बेला सियोलको यस्तो भनाइ सार्वजनिक भएको हो।
हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा कम्तीमा पाँच गुणा बढी गतिमा उड्न सक्छन्। उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने भएकाले यस्ता क्षेप्यास्त्रलाई पत्ता लगाउन र रोक्न कठिन मानिन्छ।
उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको सहयोगमा मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको केही दिनपछि दक्षिण कोरियाले पनि यसै महिनाको सुरुवातमा आफ्नै क्षेप्यास्त्र परीक्षण गरेको थियो।
बिहीबार उत्तर कोरियाले दक्षिण कोरियाले सार्वजनिक गरेका तस्बिरले उक्त क्षेप्यास्त्र हाइपरसोनिक गतिमा उड्न असफल भएको सङ्केत गर्ने दाबी गरेको थियो। उत्तर कोरियाको क्षेप्यास्त्र प्रशासनका प्रमुख जाङ चाङ हाले क्षेप्यास्त्रको बाहिरी सतह सफा देखिएको र अत्यधिक तापक्रमका कारण उत्पन्न हुने कालो ध्वाँसो नदेखिएकाले त्यसको हाइपरसोनिक क्षमतामाथि शङ्का गर्ने आधार रहेको बताएका थिए।
दक्षिण कोरियाली सेनाले भने क्षेप्यास्त्रमा स्वदेशमै उत्पादित तापप्रतिरोधी सामग्री प्रयोग गरिएको स्पष्ट पारेको छ। सेनाका अनुसार उक्त सामग्री र क्षेप्यास्त्रको बलियो संरचनाले अत्यधिक तापक्रममा पनि बाहिरी सतहमा कालो ध्वाँसो लाग्न नदिने क्षमता राख्छ। सियोलले राष्ट्रिय सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएको यो प्रविधिलाई थप विकास गर्ने योजना बनाएको छ।
विश्लेषकहरूका अनुसार रुसबाट प्राप्त प्राविधिक सहयोगले उत्तर कोरियाको हाइपरसोनिक हतियार विकासमा योगदान पुर्याएको छ। युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाले सैनिक पठाएपछि यस्तो सहयोग बढेको उनीहरूको भनाइ छ।
प्योङयाङले आफ्नो पछिल्लो एआई-सहयोगी क्षेप्यास्त्रले लहरजस्तो उडान मार्ग पछ्याउन सक्ने दाबी गरेको छ। यस्तो क्षमताले दक्षिण कोरिया र जापानलाई क्षेप्यास्त्रको निगरानी गर्न कठिन बनाउने उत्तर कोरियाको भनाइ छ। तर, दक्षिण कोरिया र अमेरिकाले आफ्ना विद्यमान रक्षा प्रणालीबाट उत्तर कोरियाली क्षेप्यास्त्रलाई पत्ता लगाउन र रोक्न सकिने बताउँदै आएका छन्।
विश्लेषकहरूका अनुसार दुवै कोरियाबीच हाइपरसोनिक हतियार विकासको प्रतिस्पर्धा चर्किँदा कोरियाली प्रायद्वीपमा हतियारको दौड थप तीव्र हुन सक्छ। यसले अमेरिका र जापानको क्षेत्रीय रक्षा रणनीतिमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।














प्रतिक्रिया