फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट ! « Khabarhub

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर फिल्म क्षेत्रलाई पर्छ । अझ आन्दोलन, चुनाव, नाकाबन्दी जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर पार्छ ।

धेरै परको इतिहास खोज्नु नै पर्दैन, भदौ २३–२४ भएको जेन–जी आन्दोलनलाई हेर्दा हुन्छ । यो आन्दोलनले विध्वंसको रुपमा लिँदा फिल्म हलहरु एक साताका लागि बन्द भए ।

त्यो बेला हल बन्द हुँदा प्रदर्शनरत फिल्म ‘माग्ने राजा’ र ‘रिमै’ मुख्य रुपमा व्यवसायिक मारमा परे । केहीको रिलिज प्रभावित भयो । भदौ २७ को रिलिज डेट प्रभावित हुँदा फिल्म ‘अभिमन्यु’ले चार पटक प्रदर्शन मिति सार्‍यो । यो फिल्म रिलिजमै संकट देखियो ।

आन्दोलनपछि हल खुल्दा प्रदर्शनरत फिल्मको हाइप पनि घट्यो । आन्दोलनपछिको अवस्थामा दर्शक मनोरञ्जनका लागि हलमा जाने कुरा पनि थिएन । मारमा निर्मातहरु परे । करोडौं लगानी बजार नपाइ फस्यो ।

यतिसम्मकी सोही आन्दोलनले ८० देश ८०० फिल्महरुले आवेदन दिएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) समेत एक महिना सर्‍यो । जेन–जी आन्दोलनका कारण फागुन २१ मा आम निर्वाचन घोषणा भएपछि निफ फागुन २१ बाट चैत १९ मा सरेको छ ।

अब वर्तमानकै उदाहरण हेरौँ । माघमा हरेका साता नयाँ फिल्म ल्याउने तयारीमा मेकरहरु देखिन्छन् । माघका चार रिलिज डेटमा ९ फिल्म प्रदर्शनमा आउने तय भएको छ । तीन प्रदर्शनमा आइसके ।

लेखक तथा विश्लेषक समीप्यराज तिमल्सेना भन्छन्, ‘जेन–जी आन्दोलनले रिलिज क्यालेन्डर भद्रगोल बन्दा माघमा यो संख्यामा फिल्म आएका हुन् । मेकरहरु माघको जाडोलाई प्रदर्शनको उपयुक्त समय मान्दैनन् ।’

अझ देशमा अर्को घटना विकास भएको छ । गत आम निर्वाचनबाट देशकै ठूलो पार्टी बनेको कांग्रेस फुट्यो । माघ १ गते संक्रान्तिको फेस्टिभ मूडमा दर्शक हलमा आउँछन् भनेर तीन फिल्महरु ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आए ।

कांग्रेसको फुटको कारक बनेको नेता गगन थापाले आयोजना गरेको ‘विशेष अधिवेशन’का घटनाक्रमले यी फिल्मका प्रचार ओझेलमा परे । आम अनुमानभन्दा टाढा रहेको ‘विशेष अधिवेशन’ सुरु भएपछि फिल्म प्रदर्शन रोक्न मिलेन, निर्माताको नगद प्रचारमा खर्च भइसकेको थियो । अहिले चासो राजनीतिमा भएर हलमा दर्शक छैनन् । यी तीनै फिल्मको व्यापार संकटमा पर्ने देखिन्छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराई भन्छन्, ‘फिल्म हेर्न दर्शकलाई देशको शान्त वातावरण चाहिन्छ । खान, लाउन र स्वास्थ्य सबै ठीक भएपछि मनोरञ्जन थप आवश्यक भएपछि हलमा जाने हो । राजनीतिक गञ्जागोलमा दर्शक फिल्म हेर्न जाँदैनन् ।’

निर्माता, कलाकार र लेखक दीपकराज गिरी पनि देशको अवस्था सामान्य नभए फिल्मको व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने नै बुझाइ राख्छन् ।

दीपक भन्छन्, ‘मान्छे सबै कुराले शान्त भएपछि फिल्म हेर्न जान्छ । तनाव-चिन्तामा कोही हलमा जाँदैनन् । मान्छे शान्त हुन देश पनि त शान्त हुनुपर्‍यो । सबै कुरा आफ्नो लयमा हुनुपर्‍यो ।’

यो देशको राजनीतिक घटना क्रममले फिल्म क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने यो प्रतिनिधिमूलक घटना हो । लोकतान्त्रिक व्यवस्थाको संरक्षकको छवि बनाएको कांग्रेस फुटले झन् संशय पैदा गरेको छ । यस फुटलाई बुद्धिजीवि, राजनीतिक विश्लेषक र सरोकारवालाले विभिन्न कोणबाट अनुमान गर्न थालेका छन् ।

उनीहरुबाट ‘निर्वाचन सर्छ’, ‘देशमा गृहयुद्ध हुन्छ’, ‘देश थप अस्थिरतामा जान्छ’, ‘देशमा आर्थिक संकट आउँछ’लगायतका अनुमान भएका छन् ।

यी सबै वा एक अनुमान सत्य साबित भएमा नेपाली फिल्म क्षेत्र प्रत्यक्ष मारमा पर्छ । यो क्षेत्र धराशायी नहोला भन्न सकिन्न । यी कुराले फिल्म निर्माण र प्रदर्शनसम्म असर पर्ने देखिन्छ।

प्रदर्शनलाई असर परेपछि कसले र किन फिल्म बनाउँछ ?

लेखक तिमल्सेना भन्छन्, ‘यो चुनावको मिति वरपर तीन–चार फिल्म प्रदर्शनमा आउने तयारी थियो । चुनावले ती फिल्महरुले प्रचार सुरु गर्न सकेका छैनन् । मेरै एक फिल्म फागुनमा प्रदर्शनमा ल्याउने तयारी थियो । रोकिएको छ । चुनावलगत्तै पनि राजनीति सरल ढंगले बग्दैन । त्यसपछिका दुई महिना पनि फिल्म प्रदर्शनमा आउने वातारण बन्न गाह्रो हुन्छ ।’

फिल्म प्रमुख रुपमा मनोरञ्जको साधन हो । मनोरञ्जन गर्न टिकट काट्ने वातावरण देशै संकटमा पार्न सक्ने राजनीनिक उतारचढावमा हुँदैन ।

फिल्म हेर्ने विषय फुर्सदमा गरिने गतिविधि भएकाले यस्ता राजनीतिक घटनाले रङ्गक्षेत्रको व्यापार प्रत्यक्ष प्रभाव पार्ने लेखक तिमलसेना बताउँछन् ।

‘फिल्म हेर्ने भनेको लिजर एक्टिभिटी हो । देशको राजनीतिक उथलपुथल भइरहँदा जनता त्यसैमा केन्द्रित हुन्छन् । हलमा आउने वातावरण नै बदैन,’ उनी भन्छन्, ‘यस्ता घटनाहरुले दर्शकमा हलमा जाने बानी छुटाउँछ । फेरि त्यो लयमा दर्शक आउन लामो समय लाग्छ । हामीले ०६२/०६३ र कोभिडको उदाहरण पनि लिन सक्छौँ ।’

निर्देशक प्रदीप आफू निर्माता रहेको फिल्म ‘लालीबजार’ फागुन १ मा प्रदर्शनमा ल्याउने तयारीमा थिए । उनी पनि अहिलेसम्म फिल्म प्रचारमा जुटेका छैनन् । आफू ‘पर्ख र हेर’को अवस्थामा परेको उनी सेयर गर्छन् ।

प्रदीप भन्छन्, ‘पार्टीहरु पनि चुनावी प्रचार गर्छन् । मेकरहरुले फिल्मको पनि प्रचार गर्छन् । प्रचारको मध्यम र स्थान लगभग उही हो । पार्टीहरुले गरेको चुनावी प्रचारअगाडि फिल्मको प्रचारले स्थान पाउँदैन, जनतामा फिल्म प्रचारको आवाज सानो हुन्छ । चुनावी प्रचारको बीचमा फिल्मको प्रचार त्यसै हराउँछ । त्यही भएर हामी फागुनमै फिल्म प्रदर्शनमा ल्याउनेबारे अन्योलमा छौँ ।’

फागुनमा चुनाव हुँदा र नहुँदा फिल्म क्षेत्रलाई के हुन्छ ?

कांग्रेस फुटले फागुन २१ मा नहुने चर्चा अहिले बढी हुने गरेको छ । एक महिना मात्रैपछि सरेको अवस्थामा निफ फेरि प्रभावित हुने देखिन्छ ।

राजनीतिमासमेत चासो राख्ने निर्देशकसमेत रहेका निफका अध्यक्ष पाठक निर्वाचन सर्ने विषयले मात्रै महोत्सव प्रभावित हुन नहुने बुझाइ राख्छन् ।

उनी भन्छन्, ‘एक महिना मात्रै चुनावपछि धकेलिने भन्ने हुँदैन जस्तो छ । चुनाव सरे अलि पछाडि नै सर्छ भन्ने हाम्रो अनुमान हो । त्यसले गर्दा निफ प्रभावित नहोला भन्ने मेरो अनुमान छ ।’

फागुन २१ मा निर्वाचन हुने घोषणाले त्यस वरपरका रिलिज डेट प्रभावित भइसकेका छन् । चुनावी महोलले फिल्मको प्रचार र व्यापार प्रभावित हुन्छ भनेर उनीहरुले त्यसो गरेका हुन् ।

चुनाव भएको अवस्थामा फागुन २१ नजिकका रिलिज डेट मात्रै प्रभावित हुन्छन् । यसको असर देखिसकेको पनि छ ।

नभएको अवस्थामा चुनावको अर्को मिति तोकिन्छ । त्यसले फेरि चुनाव मिति निकट रिलिज डेट प्रभावित पार्छ । बिदाका प्राइम डेटहरु प्रभावित भएमा फिल्म क्षेत्रलाई थप क्षति पुग्छ । यसरी एक वर्षको अन्तरालमा दुई मिति निकटका रिलिज डेट प्रभावित हुनुलाई राम्रो मान्न सकिन्न । रिलिज क्यालेन्डर भद्रगोल बन्छ । फेरि फिल्महरुको बक्स अफिस प्रतिस्पर्धा बढ्ने अवस्था बन्न सक्छ ।

कलाकार गिरी भन्छन्, ‘जस्तो प्रकृतिको असमान्य परिस्थिति आए पनि रिलिज क्यालेन्डर प्रभावित भएकै हुन्छ । कोभिडले ४ वर्ष प्रभावित भयो । यस्ता अवस्थामा मेकरले यधैर्यता राख्नुपर्छ ।’

फागुनमा चुनाव नभए तोकिएको नयाँ मितिमै हुन्छ भन्ने के ग्यारेन्टी ? त्यसपछि फिल्म निर्माणमै कमी नआउला भन्न सकिन्नँ । फिल्म रिलिज गर्ने टुंगो नभएपछि सुटिङ गरेर थन्काउन मात्रै कस्ले आट्ला ?

देश राजनीतिक अनिश्चितता र गृहयुद्धको भुमरीमा परेको अवस्थामा नेपाली फिल्म क्षेत्र जोगाउने विषय मेकरहरुको पहुँच बाहिर जान्छ । अनि कलाकार, निर्देशक, लेखक र प्राविधिक सबैको व्यासायिक खडेरी सुरु हुनसक्छ ।

तिमल्सेना भन्छन्, ‘राजनीतिक माहोल साम्य नभए पनि फिल्म बल्लान् तर कम संख्यामा बन्छन् । यो भनेको फिल्म क्षेत्र धरासायी बन्नु नै हो ।’

निर्देशक प्रदीप पनि फिल्म बनाउन देशको अवस्था सामान्य नै हुनुपर्ने बताउँछन् ।

राजनीतिक उतारचढाव, असामान्य परिस्थिति, महामारी, प्राकृतिक प्रकोपबाट विश्वमै सिनेमा क्षेत्र पहिला प्रभावित हुने अवस्था रहेकोले अहिलेको परिस्थितिमा मेकरहरु आफैँ सुरक्षित हुनुको विकल्प कलाकार दीपकराज गिरी देख्दैनन् ।

‘आकस्मिक आइलाग्ने जटिल परिस्थितिमा फिल्मको व्यापार प्रभावित भइहाल्छ । यस्तो बेला सकेसम्म फिल्म प्रदर्शनमा नल्याउन उचित हुन्छ । तर, महोल भए छायाङ्कन गरेर सामान्य अवस्था भएपछि फिल्म प्रदर्शनमा ल्याउन उचित देखिन्छ,’ उनी भन्छन्, ‘त्यसै पनि फिल्म मेकिङलाई जुवा भनिन्छ । आकस्मिक जटिलताले फिल्मलाई असर गर्‍यो भने दाउ लागेन भनेर चित्त बुझाउनुको विकल्प छैन ।’

के भन्छन् फिल्म क्षेत्रका व्यक्तिहरु ?

शान्तिपूर्ण निर्वाचन भएर देशले राजनीतिक निकास लिएको अवस्थामा मात्रै फिल्म क्षेत्र चलायमान हुने र धराशायी हुनबाट जोगिने अवस्थामा आउने कलाकार र मेकरहरुको बुझाइ छ ।

जनताहरु निर्वाचनका लागि तयार रहेको र आफ्ना अपेक्षाका लागि नेतृत्व छान्न तप्पर रहेकाले निर्वाचन फागुन २१ मै हुनुपर्ने पक्षमा उनीहरु छन् ।

निर्वाचन भएर राजनीतिक निकास ननिस्किए दर्शक हलमा जाने वातावरण उनीहरु देख्दैनन् ।

निर्देशक भट्टराई भन्छन्, ‘चुवान नभए राजनीतिक उचारचढावमा जनता संलग्न हुन्छन् । त्यो अवस्थामा को फिल्म हेर्न जान्छ ? नेताहरुले जनतालाई मनोरञ्जनको वातावरण दिए पो हलमा दर्शक भेटिन्छन् । देशको घटना नजरअन्दाज गरेर दर्शक हलमा आउँदैनन् । मेकरहरु पनि आफ्नो काममा केन्द्रित हुँदैनन्, उनीहरु पनि राजनीतिक महोलका सरिक हुनसक्छन् ।’

फागुन २१ मै चुनाव नभए फिल्म क्षेत्रलाई राम्रै घाटा लाग्ने लेखक तिम्लसेनाको विश्लेषण छ ।

उनी स्पष्ट पार्छन्, ‘फागुन र चैतका रिलिज क्यालेन्डर त्यसै भद्रगोल भयो । योबाट चुनाव सर्‍यो भने त्यो मिति अघिपछिका अर्को दुई चार महिनाका रिलिज डेट प्रभावित हुन्छन् । चुनाव रोकिएर देशमा आन्दोलन भयो भने थप जटिलता देखा पर्छ । यी सबै कुरामा ध्यान दिन जरुरी छ । यसरी लामो समय दर्शकलाई हलबाट दूरीमा राखिएको भने लयमा फर्कन फेरि लामो समय लाग्छ । घाटा सिनेमा क्षेत्रलाई नै हो ।’

कलाकार दीपकराज गिरी पनि यो निर्वाचन समय भएर राजनीतिक निकास निस्कनुपर्ने जोड गर्छन् ।

उनी भन्छन्, ‘हामी यस क्षेत्रमा भएकाले सिनेमा राज्यले ध्यान दिएन भन्छौँ । उसले ध्यान पनि दिएको छैन । राजनीति सामान्य भयो भने सबै कुरा लयमा आउँछ । सिनेमा क्षेत्र पनि लयमा आउँछ । त्यसका लागि निर्वाचन उत्तम विकल्प हुन्छ । अर्थात्, निर्वाचन समयमा भयो भने अहिलेको राजनीतिक अवस्थाले एउटा निकास लिने सम्भावना देखिन्छ ।’

निर्देशक तथा निफका अध्यक्ष पाठक फागुन २१ मै निर्वाचनका लागि जोडदार माग राख्छन् । भन्छन्, ‘सिनेमा क्षेत्रमात्रै नभएर अन्य व्यवसायिक क्षेत्र सुरक्षित हुन निर्वाचन आवश्यक छ । समयमै निर्वाचन गराउन म सबै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ११ बजे

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति