फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट ! « Khabarhub

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर फिल्म क्षेत्रलाई पर्छ । अझ आन्दोलन, चुनाव, नाकाबन्दी जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर पार्छ ।

धेरै परको इतिहास खोज्नु नै पर्दैन, भदौ २३–२४ भएको जेन–जी आन्दोलनलाई हेर्दा हुन्छ । यो आन्दोलनले विध्वंसको रुपमा लिँदा फिल्म हलहरु एक साताका लागि बन्द भए ।

त्यो बेला हल बन्द हुँदा प्रदर्शनरत फिल्म ‘माग्ने राजा’ र ‘रिमै’ मुख्य रुपमा व्यवसायिक मारमा परे । केहीको रिलिज प्रभावित भयो । भदौ २७ को रिलिज डेट प्रभावित हुँदा फिल्म ‘अभिमन्यु’ले चार पटक प्रदर्शन मिति सार्‍यो । यो फिल्म रिलिजमै संकट देखियो ।

आन्दोलनपछि हल खुल्दा प्रदर्शनरत फिल्मको हाइप पनि घट्यो । आन्दोलनपछिको अवस्थामा दर्शक मनोरञ्जनका लागि हलमा जाने कुरा पनि थिएन । मारमा निर्मातहरु परे । करोडौं लगानी बजार नपाइ फस्यो ।

यतिसम्मकी सोही आन्दोलनले ८० देश ८०० फिल्महरुले आवेदन दिएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) समेत एक महिना सर्‍यो । जेन–जी आन्दोलनका कारण फागुन २१ मा आम निर्वाचन घोषणा भएपछि निफ फागुन २१ बाट चैत १९ मा सरेको छ ।

अब वर्तमानकै उदाहरण हेरौँ । माघमा हरेका साता नयाँ फिल्म ल्याउने तयारीमा मेकरहरु देखिन्छन् । माघका चार रिलिज डेटमा ९ फिल्म प्रदर्शनमा आउने तय भएको छ । तीन प्रदर्शनमा आइसके ।

लेखक तथा विश्लेषक समीप्यराज तिमल्सेना भन्छन्, ‘जेन–जी आन्दोलनले रिलिज क्यालेन्डर भद्रगोल बन्दा माघमा यो संख्यामा फिल्म आएका हुन् । मेकरहरु माघको जाडोलाई प्रदर्शनको उपयुक्त समय मान्दैनन् ।’

अझ देशमा अर्को घटना विकास भएको छ । गत आम निर्वाचनबाट देशकै ठूलो पार्टी बनेको कांग्रेस फुट्यो । माघ १ गते संक्रान्तिको फेस्टिभ मूडमा दर्शक हलमा आउँछन् भनेर तीन फिल्महरु ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आए ।

कांग्रेसको फुटको कारक बनेको नेता गगन थापाले आयोजना गरेको ‘विशेष अधिवेशन’का घटनाक्रमले यी फिल्मका प्रचार ओझेलमा परे । आम अनुमानभन्दा टाढा रहेको ‘विशेष अधिवेशन’ सुरु भएपछि फिल्म प्रदर्शन रोक्न मिलेन, निर्माताको नगद प्रचारमा खर्च भइसकेको थियो । अहिले चासो राजनीतिमा भएर हलमा दर्शक छैनन् । यी तीनै फिल्मको व्यापार संकटमा पर्ने देखिन्छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराई भन्छन्, ‘फिल्म हेर्न दर्शकलाई देशको शान्त वातावरण चाहिन्छ । खान, लाउन र स्वास्थ्य सबै ठीक भएपछि मनोरञ्जन थप आवश्यक भएपछि हलमा जाने हो । राजनीतिक गञ्जागोलमा दर्शक फिल्म हेर्न जाँदैनन् ।’

निर्माता, कलाकार र लेखक दीपकराज गिरी पनि देशको अवस्था सामान्य नभए फिल्मको व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने नै बुझाइ राख्छन् ।

दीपक भन्छन्, ‘मान्छे सबै कुराले शान्त भएपछि फिल्म हेर्न जान्छ । तनाव-चिन्तामा कोही हलमा जाँदैनन् । मान्छे शान्त हुन देश पनि त शान्त हुनुपर्‍यो । सबै कुरा आफ्नो लयमा हुनुपर्‍यो ।’

यो देशको राजनीतिक घटना क्रममले फिल्म क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने यो प्रतिनिधिमूलक घटना हो । लोकतान्त्रिक व्यवस्थाको संरक्षकको छवि बनाएको कांग्रेस फुटले झन् संशय पैदा गरेको छ । यस फुटलाई बुद्धिजीवि, राजनीतिक विश्लेषक र सरोकारवालाले विभिन्न कोणबाट अनुमान गर्न थालेका छन् ।

उनीहरुबाट ‘निर्वाचन सर्छ’, ‘देशमा गृहयुद्ध हुन्छ’, ‘देश थप अस्थिरतामा जान्छ’, ‘देशमा आर्थिक संकट आउँछ’लगायतका अनुमान भएका छन् ।

यी सबै वा एक अनुमान सत्य साबित भएमा नेपाली फिल्म क्षेत्र प्रत्यक्ष मारमा पर्छ । यो क्षेत्र धराशायी नहोला भन्न सकिन्न । यी कुराले फिल्म निर्माण र प्रदर्शनसम्म असर पर्ने देखिन्छ।

प्रदर्शनलाई असर परेपछि कसले र किन फिल्म बनाउँछ ?

लेखक तिमल्सेना भन्छन्, ‘यो चुनावको मिति वरपर तीन–चार फिल्म प्रदर्शनमा आउने तयारी थियो । चुनावले ती फिल्महरुले प्रचार सुरु गर्न सकेका छैनन् । मेरै एक फिल्म फागुनमा प्रदर्शनमा ल्याउने तयारी थियो । रोकिएको छ । चुनावलगत्तै पनि राजनीति सरल ढंगले बग्दैन । त्यसपछिका दुई महिना पनि फिल्म प्रदर्शनमा आउने वातारण बन्न गाह्रो हुन्छ ।’

फिल्म प्रमुख रुपमा मनोरञ्जको साधन हो । मनोरञ्जन गर्न टिकट काट्ने वातावरण देशै संकटमा पार्न सक्ने राजनीनिक उतारचढावमा हुँदैन ।

फिल्म हेर्ने विषय फुर्सदमा गरिने गतिविधि भएकाले यस्ता राजनीतिक घटनाले रङ्गक्षेत्रको व्यापार प्रत्यक्ष प्रभाव पार्ने लेखक तिमलसेना बताउँछन् ।

‘फिल्म हेर्ने भनेको लिजर एक्टिभिटी हो । देशको राजनीतिक उथलपुथल भइरहँदा जनता त्यसैमा केन्द्रित हुन्छन् । हलमा आउने वातावरण नै बदैन,’ उनी भन्छन्, ‘यस्ता घटनाहरुले दर्शकमा हलमा जाने बानी छुटाउँछ । फेरि त्यो लयमा दर्शक आउन लामो समय लाग्छ । हामीले ०६२/०६३ र कोभिडको उदाहरण पनि लिन सक्छौँ ।’

निर्देशक प्रदीप आफू निर्माता रहेको फिल्म ‘लालीबजार’ फागुन १ मा प्रदर्शनमा ल्याउने तयारीमा थिए । उनी पनि अहिलेसम्म फिल्म प्रचारमा जुटेका छैनन् । आफू ‘पर्ख र हेर’को अवस्थामा परेको उनी सेयर गर्छन् ।

प्रदीप भन्छन्, ‘पार्टीहरु पनि चुनावी प्रचार गर्छन् । मेकरहरुले फिल्मको पनि प्रचार गर्छन् । प्रचारको मध्यम र स्थान लगभग उही हो । पार्टीहरुले गरेको चुनावी प्रचारअगाडि फिल्मको प्रचारले स्थान पाउँदैन, जनतामा फिल्म प्रचारको आवाज सानो हुन्छ । चुनावी प्रचारको बीचमा फिल्मको प्रचार त्यसै हराउँछ । त्यही भएर हामी फागुनमै फिल्म प्रदर्शनमा ल्याउनेबारे अन्योलमा छौँ ।’

फागुनमा चुनाव हुँदा र नहुँदा फिल्म क्षेत्रलाई के हुन्छ ?

कांग्रेस फुटले फागुन २१ मा नहुने चर्चा अहिले बढी हुने गरेको छ । एक महिना मात्रैपछि सरेको अवस्थामा निफ फेरि प्रभावित हुने देखिन्छ ।

राजनीतिमासमेत चासो राख्ने निर्देशकसमेत रहेका निफका अध्यक्ष पाठक निर्वाचन सर्ने विषयले मात्रै महोत्सव प्रभावित हुन नहुने बुझाइ राख्छन् ।

उनी भन्छन्, ‘एक महिना मात्रै चुनावपछि धकेलिने भन्ने हुँदैन जस्तो छ । चुनाव सरे अलि पछाडि नै सर्छ भन्ने हाम्रो अनुमान हो । त्यसले गर्दा निफ प्रभावित नहोला भन्ने मेरो अनुमान छ ।’

फागुन २१ मा निर्वाचन हुने घोषणाले त्यस वरपरका रिलिज डेट प्रभावित भइसकेका छन् । चुनावी महोलले फिल्मको प्रचार र व्यापार प्रभावित हुन्छ भनेर उनीहरुले त्यसो गरेका हुन् ।

चुनाव भएको अवस्थामा फागुन २१ नजिकका रिलिज डेट मात्रै प्रभावित हुन्छन् । यसको असर देखिसकेको पनि छ ।

नभएको अवस्थामा चुनावको अर्को मिति तोकिन्छ । त्यसले फेरि चुनाव मिति निकट रिलिज डेट प्रभावित पार्छ । बिदाका प्राइम डेटहरु प्रभावित भएमा फिल्म क्षेत्रलाई थप क्षति पुग्छ । यसरी एक वर्षको अन्तरालमा दुई मिति निकटका रिलिज डेट प्रभावित हुनुलाई राम्रो मान्न सकिन्न । रिलिज क्यालेन्डर भद्रगोल बन्छ । फेरि फिल्महरुको बक्स अफिस प्रतिस्पर्धा बढ्ने अवस्था बन्न सक्छ ।

कलाकार गिरी भन्छन्, ‘जस्तो प्रकृतिको असमान्य परिस्थिति आए पनि रिलिज क्यालेन्डर प्रभावित भएकै हुन्छ । कोभिडले ४ वर्ष प्रभावित भयो । यस्ता अवस्थामा मेकरले यधैर्यता राख्नुपर्छ ।’

फागुनमा चुनाव नभए तोकिएको नयाँ मितिमै हुन्छ भन्ने के ग्यारेन्टी ? त्यसपछि फिल्म निर्माणमै कमी नआउला भन्न सकिन्नँ । फिल्म रिलिज गर्ने टुंगो नभएपछि सुटिङ गरेर थन्काउन मात्रै कस्ले आट्ला ?

देश राजनीतिक अनिश्चितता र गृहयुद्धको भुमरीमा परेको अवस्थामा नेपाली फिल्म क्षेत्र जोगाउने विषय मेकरहरुको पहुँच बाहिर जान्छ । अनि कलाकार, निर्देशक, लेखक र प्राविधिक सबैको व्यासायिक खडेरी सुरु हुनसक्छ ।

तिमल्सेना भन्छन्, ‘राजनीतिक माहोल साम्य नभए पनि फिल्म बल्लान् तर कम संख्यामा बन्छन् । यो भनेको फिल्म क्षेत्र धरासायी बन्नु नै हो ।’

निर्देशक प्रदीप पनि फिल्म बनाउन देशको अवस्था सामान्य नै हुनुपर्ने बताउँछन् ।

राजनीतिक उतारचढाव, असामान्य परिस्थिति, महामारी, प्राकृतिक प्रकोपबाट विश्वमै सिनेमा क्षेत्र पहिला प्रभावित हुने अवस्था रहेकोले अहिलेको परिस्थितिमा मेकरहरु आफैँ सुरक्षित हुनुको विकल्प कलाकार दीपकराज गिरी देख्दैनन् ।

‘आकस्मिक आइलाग्ने जटिल परिस्थितिमा फिल्मको व्यापार प्रभावित भइहाल्छ । यस्तो बेला सकेसम्म फिल्म प्रदर्शनमा नल्याउन उचित हुन्छ । तर, महोल भए छायाङ्कन गरेर सामान्य अवस्था भएपछि फिल्म प्रदर्शनमा ल्याउन उचित देखिन्छ,’ उनी भन्छन्, ‘त्यसै पनि फिल्म मेकिङलाई जुवा भनिन्छ । आकस्मिक जटिलताले फिल्मलाई असर गर्‍यो भने दाउ लागेन भनेर चित्त बुझाउनुको विकल्प छैन ।’

के भन्छन् फिल्म क्षेत्रका व्यक्तिहरु ?

शान्तिपूर्ण निर्वाचन भएर देशले राजनीतिक निकास लिएको अवस्थामा मात्रै फिल्म क्षेत्र चलायमान हुने र धराशायी हुनबाट जोगिने अवस्थामा आउने कलाकार र मेकरहरुको बुझाइ छ ।

जनताहरु निर्वाचनका लागि तयार रहेको र आफ्ना अपेक्षाका लागि नेतृत्व छान्न तप्पर रहेकाले निर्वाचन फागुन २१ मै हुनुपर्ने पक्षमा उनीहरु छन् ।

निर्वाचन भएर राजनीतिक निकास ननिस्किए दर्शक हलमा जाने वातावरण उनीहरु देख्दैनन् ।

निर्देशक भट्टराई भन्छन्, ‘चुवान नभए राजनीतिक उचारचढावमा जनता संलग्न हुन्छन् । त्यो अवस्थामा को फिल्म हेर्न जान्छ ? नेताहरुले जनतालाई मनोरञ्जनको वातावरण दिए पो हलमा दर्शक भेटिन्छन् । देशको घटना नजरअन्दाज गरेर दर्शक हलमा आउँदैनन् । मेकरहरु पनि आफ्नो काममा केन्द्रित हुँदैनन्, उनीहरु पनि राजनीतिक महोलका सरिक हुनसक्छन् ।’

फागुन २१ मै चुनाव नभए फिल्म क्षेत्रलाई राम्रै घाटा लाग्ने लेखक तिम्लसेनाको विश्लेषण छ ।

उनी स्पष्ट पार्छन्, ‘फागुन र चैतका रिलिज क्यालेन्डर त्यसै भद्रगोल भयो । योबाट चुनाव सर्‍यो भने त्यो मिति अघिपछिका अर्को दुई चार महिनाका रिलिज डेट प्रभावित हुन्छन् । चुनाव रोकिएर देशमा आन्दोलन भयो भने थप जटिलता देखा पर्छ । यी सबै कुरामा ध्यान दिन जरुरी छ । यसरी लामो समय दर्शकलाई हलबाट दूरीमा राखिएको भने लयमा फर्कन फेरि लामो समय लाग्छ । घाटा सिनेमा क्षेत्रलाई नै हो ।’

कलाकार दीपकराज गिरी पनि यो निर्वाचन समय भएर राजनीतिक निकास निस्कनुपर्ने जोड गर्छन् ।

उनी भन्छन्, ‘हामी यस क्षेत्रमा भएकाले सिनेमा राज्यले ध्यान दिएन भन्छौँ । उसले ध्यान पनि दिएको छैन । राजनीति सामान्य भयो भने सबै कुरा लयमा आउँछ । सिनेमा क्षेत्र पनि लयमा आउँछ । त्यसका लागि निर्वाचन उत्तम विकल्प हुन्छ । अर्थात्, निर्वाचन समयमा भयो भने अहिलेको राजनीतिक अवस्थाले एउटा निकास लिने सम्भावना देखिन्छ ।’

निर्देशक तथा निफका अध्यक्ष पाठक फागुन २१ मै निर्वाचनका लागि जोडदार माग राख्छन् । भन्छन्, ‘सिनेमा क्षेत्रमात्रै नभएर अन्य व्यवसायिक क्षेत्र सुरक्षित हुन निर्वाचन आवश्यक छ । समयमै निर्वाचन गराउन म सबै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ११ बजे

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना