काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले शनिबार उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यस अघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नका उम्मेद्वार अघि बढाउने भएको छ ।
शाहीका अनुसार दुर्गमा क्षेत्रका उम्मेदवारलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न समय लाग्ने भएकोले एमालेले शनिबार नै सचिवालय बैठक बसेर टुंग्याउन लागेको हो ।
यसअघिको केन्द्रीय कमिटी बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।













प्रतिक्रिया