धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’ « Khabarhub

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ ।

मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने अनुमान गरिएको अनुसन्धाता डा‍. अशोक थापाले बताए ।

थापाका अनुसार कण्ठदेवी मन्दिरको इतिहास राणा प्रधानमन्त्री जङ्गबहादुरसँग पनि जोडिएको छ । १९१३ साउन २४ गते तत्कालीन श्री ५ सुरेन्द्र वीरविक्रम शाहले दरबारबाट एक ऐतिहासिक घोषणामार्फत जङ्गबहादुरलाई कास्की र लमजुङ राज्यका श्री ३ महाराज पद दिएका थिए । उक्त घोषणसँगै जंगबहादुर श्री ३ जङ्गबहादुर कुँवर राणाजीका रुपमा चिनिएका थिए ।

उनको बुबाले सुनाएको कथा उद्धृत गर्दै थापाले भने, ‘जङ्गबहादुर तत्कालीन समयमा स्याङ्जा–नुवाकोट राज्यतर्फको यात्रामा यस क्षेत्रमा पर्ने राजाको चौतारो, लामगादी, भञ्ज्याङ हुँदै भोटेपोखरी उक्लन्थे । त्यही यात्रामा उनी भोटेपोखरी मन्दिर नजिकको ढुङ्गाको अग्लो छेउमा आफ्नो घोडालाई बाँधेर निगालोको घाँस खुवाएर आराम गराउँथे र कण्ठदेवीको दर्शन गरेर उनी भर्तीपोखरा, कृस्ती हुँदै मट्टिखानको बाटो भएर स्याङ्जा नुवाकोट हिँड्थे ।’

यस मन्दिरको नाम कण्ठदेवी राखिएका सम्बन्धमा विभिन्न तथ्यहरू प्राप्त भएको उनले बताए । अनुसन्धानकै क्रममा यस सम्बन्धमा इतिहासविद् डा. जगमान गुरुङसँग आफूले केही महत्वपूर्ण तथ्यहरू जानकारी लिएको उनको भनाइ छ ।

शिव पुराणमा नीलकण्ठ महादेवले समुद्र मन्थनको विष पिएर ब्रह्माण्डको रक्षा गरे, उनी नीलो गलाको प्रतीक बनेको र त्यही कण्ठको स्मरण स्वरूप, देवी पार्वतीको यो रूपलाई ‘कण्ठदेवी’ भनिएको हुनसक्ने इतिहासविद् डा. जगमान गुरुङको तर्क रहेको उनले बताए ।

अर्को तर्कमा ‘कण्ठ’ भनेको स्वरको प्रतीक पनि हो । स्वरकी देवी सरस्वती हुन् । भोटेपोखरीमा ऐतिहासिक विद्यालयको स्थापना हुनु अगाडि नै यो मन्दिर थियो । भोटेपोखरीको नजिकै विद्यालय रहेको र विद्याकी देवीसँग यो मन्दिर जोडिएको हुनाले दुर्गा र सरस्वती–शक्तिको मूर्त रूप र ज्ञानको प्रकाश एउटै थलोमा मिसिएर यसको नाम कण्ठदेवी भएको हुनसक्ने गुरुङले जानकारी गराएको थापाको भनाइ छ ।

इतिहासको साक्षीका रुपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् । कण्ठदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष दीपविक्रम चन्दका अनुसार पछिल्ला समयमा यसको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्दिरको विशेष गरी लाखु छहरा ठूलो बन खहरे खरबारी उपभोक्ता समितिमार्फत संरक्षणका काम हुँदै आएका छन् ।

मन्दिर परिसरमा रहेका काली नाग, सेती नाग, भयँर, अयँर, देउराली देवी, भैरव, श्रीकृष्ण आदिका शिला र थान रहनुले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको  स्थानीयवासी बताउँछन् । विभिन्न महत्वपूर्ण तिथिमिति एवं चाडपर्वमा स्थानीयले कण्ठदेवीको पूजाआजा गर्दै आएका छन् ।

यस मन्दिर दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण यहाँको महिमा र गरिमा अझै चुलिएको स्थानीयवासीको तर्क छ । मनोरम भूभागमा रहेका कारण यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार विकासका काम अघि बढाइएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा यहाँ जाने मार्ग हनुमान पोखरीदेखि माथि केही भागमा सिँढी बाटो निर्माण गरिसकिएको छ । त्यस्तै मन्दिर परिसर क्षेत्रमा नै खेल पर्यटनको विकास गराउने लक्ष्यका साथ बाँस्केटबल कोर्ट निर्माण गरिसकिएको छ ।

यहाँस्थित कण्ठदेवी मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्दै स्वदेशी एवं विदेशी पर्यटक आकर्षित गर्न सकिने तल्लो गगनगौडा निवासी मुकुन्द घिमिरे बताउँछन् । पोखरा–३० को पावरहाउस क्षेत्रबाट कण्ठदेवी मन्दिरलाई समेट्दै एक दिवशीय हाइकिङ मार्ग विकास गर्न सकिने उनले बताए ।

कण्ठदेवी मन्दिर हुँदै पर्यटकहरू यहाँभन्दा माथि रहेको हुडिकोटसम्म हाइकिङ गरेर पुग्न सक्ने उनले बताए । (रासस) 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ११ : १८ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन