ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता  « Khabarhub

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता सुरु गरेका छन् । 

आगामी दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा गर्ने सम्भावित शिखर भेटअघि यो वार्तालाई महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आइतबार बिहान पेरिसमा आमनेसामने भएको हो । ह्वाइट हाउसले ट्रम्पले मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको जनाएको छ, तर बेइजिङले यसबारे औपचारिक पुष्टि भने अझै गरेको छैन ।

बेसेन्टले बिहीबार सार्वजनिक रूपमा आफ्नो टोलीले अमेरिकी किसान, मजदुर र व्यवसायीहरूको हितलाई प्राथमिकतामा राखेर परिणाममुखी वार्ता अघि बढाउने बताएका थिए । अमेरिकी अर्थ मन्त्रालयका अनुसार उनले हे लिफेङसँग आइतबार र सोमबार औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा दुवै पक्षले ‘आपसी चासोका व्यापारिक तथा आर्थिक मुद्दाहरू’ माथि गम्भीर छलफल गर्ने तयारी गरिएको जनाएको छ । पछिल्ला वर्षहरूमा दुवै मुलुकबीच भन्सार शुल्क, आपूर्ति शृङ्खला र व्यापार सन्तुलनका विषयमा बारम्बार तनाव देखिँदै आएको छ ।

यदि ट्रम्पको प्रस्तावित भ्रमण सम्पन्न भयो भने सन् २०१७ मा आफ्नो पहिलो कार्यकालका क्रममा चीन भ्रमण गरेपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले गर्ने यो पहिलो चीन यात्रा हुनेछ । पाँच महिनाअघि दक्षिण कोरियाको बुसान सहरमा भएको भेटमा ट्रम्प र सीले बढ्दो व्यापार युद्धलाई रोक्न एक वर्षे अस्थायी युद्धविराममा सहमति जनाएका थिए । त्यसअघि दुवै देशले एकअर्काविरुद्ध क्रमशः उच्च दरका भन्सार शुल्क लगाउँदै आएका थिए ।

यद्यपि व्यापारिक तनाव अझै पूर्ण रूपमा समाप्त भएको छैन । चीनको वाणिज्य मन्त्रालयले ट्रम्प प्रशासनले चीनसहित १६ व्यापारिक साझेदारमाथि सुरु गरेको नयाँ व्यापार अनुसन्धानको कडा विरोध गरेको छ । अमेरिकी सर्वोच्च अदालतले गत वर्ष लगाइएका व्यापक विश्वव्यापी भन्सार शुल्कहरू खारेज गरेपछि नयाँ अनुसन्धानले फेरि अतिरिक्त भन्सार शुल्क लगाउने सम्भावनाको ढोका खोल्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यसका साथै अमेरिकाले चीनसहित विभिन्न देशबाट आउने सामानमा जबरजस्ती श्रम प्रयोग भएको आशंकामा छुट्टै अनुसन्धान पनि अघि बढाएको छ । चीनले भने यसबारे आफ्नो असन्तुष्टि वासिङ्टनसमक्ष औपचारिक रूपमा राखिसकेको जनाएको छ । वाणिज्य मन्त्रालयले जारी गरेको वक्तव्यमा यस्तो कदमले ‘विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउने’ चेतावनी दिइएको छ ।

पेरिस वार्तामा प्रत्यक्ष रूपमा व्यापारका मुद्दा केन्द्रमा रहने भए पनि मध्यपूर्वमा चर्किएको द्वन्द्व पनि छलफलको विषय बन्न सक्ने विश्लेषकहरूको भनाइ छ । इरानसँगको युद्धका कारण तेलको मूल्य र आपूर्तिमा बढ्दो अनिश्चितता देखिएकाले त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने चिन्ता बढेको छ । ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशहरूले स्ट्रेट अफ होर्मुज ‘खुला र सुरक्षित’ राख्न युद्धपोत पठाउने अपेक्षा गरिएको बताएका थिए ।

पेरिसमा सुरु भएको वार्तालाई ट्रम्प–सी शिखर सम्मेलनअघि सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय भेटका रूपमा पनि हेरिएको छ । फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री तथा सेन्ट्रल युरोपियन इन्स्टिच्युट अफ एसियन स्टडिजका अनुसन्धानकर्ता ग्यारी एनगका अनुसार अहिलेको मुख्य प्रश्न चीन र अमेरिकाले सहमत भएका विषयहरूमा स्थिर रहन सक्छन् कि सक्दैनन् भन्ने हो ।

उनका अनुसार इरानसँगको युद्ध नयाँ कारकका रूपमा देखा परे पनि बेइजिङलाई अमेरिकी नीतिमा हुने बारम्बार परिवर्तनले अझ बढी चिन्तित बनाइरहेको छ । यस्तो अवस्थाले दीर्घकालीन व्यापारिक सहकार्यलाई जटिल बनाउन सक्ने उनको विश्लेषण छ ।

गत साता चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ‘महत्त्वपूर्ण वर्ष’ हुने बताएका थिए। उनले ट्रम्पको सम्भावित राज्य भ्रमणबारे स्पष्ट पुष्टि नगरे पनि उच्चस्तरीय आदानप्रदानका कार्यक्रमहरू पहिले नै छलफलको चरणमा रहेको संकेत दिएका थिए ।

बेसेन्ट र हे लिफेङले भने गत वर्षदेखि निरन्तर रूपमा व्यापार वार्ताको नेतृत्व गर्दै आएका छन्। उनीहरूबीच जेनेभा, लन्डन, स्टकहोम, म्याड्रिड तथा मलेसियाको क्वालालम्पुरमा समेत बैठक भइसकेको छ । पेरिसको यो नयाँ चरणले आगामी शिखर भेटको वातावरण तयार पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १२ : २२ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले