किसानलाई धान भित्र्याउन भ्याइनभ्याई « Khabarhub

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हुरीबतास र पानीले धान ढाल्ने चिन्ता छ । 

धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको नेपालगन्ज उपमहानगरपालिका–१९ सुईयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताए । 

‘विगतमा पनि असोज र कात्तिकमा आएको बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति व्यहोर्नुपरेकाले अहिले सजक भएर बेलैमा धान भित्र्याउन लागिपरेका छौँ’, उनले भने, ‘पानी पर्ने सूचनाले अहिले बिहानदेखि रातिसम्म खेतमै धानबाली स्याहर्न हामीलाई भ्याइनभ्याई छ ।’

दसैँका बेला भएकाले खेतमा काम गर्ने खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टरजस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतारहतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उनको भनाइ छ । 

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा पहेँलपुर झुलेको छ । अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने भएकाले किसानलाई अहिले सबै काम छोडेर धान भित्र्याउन भ्याइनभ्याई भएको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले बताए । 

विगतका वर्षहरूमा प्रायः दसैँ सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैँ केही ढिला परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक जुध्न पुगेको छ । यसले गर्दा गाउँघरमा दसैँ नसकिँदै खेतबारीको कामको हतारो भएको केसीले बताए ।

‘आकासमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धडकन बढ्ने गर्छ । मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिना वा पानीले नोक्सान पुर्‍याउन सक्छ’, केसीले भने, ‘बाँकेका किसान यतिबेला चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन् ।’

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहर्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताइन् । 

बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको सूचना अधिकारी शर्माले जानकारी दिए ।
 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १० : ५६ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला