गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष « Khabarhub

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

मीन विश्वकर्मा भन्छन् : अहिले कांग्रेसमा दुईजना सभापति छन्



काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले इन्कार गरिरहेपछि महामन्त्री गगनकुमार थापाले गत पुस २६ गतेदेखि काठमाडौंमा पार्टीको दोस्रो विशेष महाधिवेशन गराए ।

युवा पुस्ताको विद्रोहको स्वरअनुसार पार्टीलाई परिर्वतन गर्न देउवा पक्ष तयार नभएपछि बहुमत महाधविशेन प्रतिनिधि जुटाएर गगनले विशेष महाधिवेशनमार्फत् आफ्नो काँधमा नेतृत्व लिए ।

तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माको साथ पाएर अघि बढेका गगनले पार्टीलाई रुपान्तरणको सक्दो कोसिस गरे ।

गगनहरूले अन्तिमसम्म त्यसबेलाको संस्थापनलाई समेट्न खोजे पनि कानुनी लडाइँ सुरू भयो । देउवाले विशेष महाधिवेशनको मञ्चको साटो निर्वाचन आयोगको प्रांगण रोजे । विशेष महाधिवेशन अघिबाटै विवादमा परेको कांग्रेसमा फागुन २१ को चुनावमा जाँदा पनि मतभेद कायमै रह्यो ।

थापा तत्कालीन सभापति ७९ वर्षीय देउवालाई बिदा गरेर ५६.१२ प्रतिशत बहुमत सदस्यको समर्थनसहित नयाँ सभापतिमा चयन भए । गत माघ २ गते थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि रुष्ट देउवा पक्षधर सर्वोच्च अदालत पुग्यो ।

चौधौँ महाधिवेशनबाट सभापतिमा दोहोरिएका देउवा नेतृत्वको कार्यसमितिले मान्यता पाउनुपर्ने उनीहरूको अडान आयोगदेखि अदालतसम्म थियो । आयोगले मान्यता दिएसँगै थापा कांग्रेसलाई रुपान्तरित पार्टी २.० घोषणा गर्दै अघि बढे । उनी कांग्रेसलाई पहिलो पार्टी बनाउने दाबीका साथ उम्मेदवार छनोटमा लागे ।

त्यहाँ पनि उनले देउवा पक्षको चित्त बुझाउन सकेन । सभापति थापाले ७८ प्रतिशत नयाँ उम्मेदवार बनाएको दाबी गरिरहँदा देउवासहित केही नेता टिकट नपाउँदा असन्तुष्ट बने ।

जसकारण पार्टीभित्र अन्तरघातको विवाद भुसको आगोझैँ चुलियो । तर थापा भने पार्टीलाई कांग्रेस २.० पहिलो हुनेमा विश्वस्त देखिए । यही एजेन्डासहित उनी निर्वाचन प्रचार-प्रसारमा होमिए । आन्तरिक कलह र जेन-जीको समर्थन पाएको रास्वपासहितको कडा चुनौतीबीच थापा चुनाव लड्न सर्लाही-४ झरे ।

पुराना दलप्रति जनतामा अविश्वास बढेको परिदृश्यमा जोखिम मोलेका उनले चुनावी क्षेत्र फेरेर कांग्रेसलाई सबै जनतााके पार्टी प्रमाणित गर्ने कोसिस गरे। काठमाडौं छाडेर मधेश झरेका सभापति थापा आफैँ पराजित भए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र निर्वाचित डा. अमरेशकुमार सिंहले यसपटक रास्वपाबाट जित निकाले । जहाँ गगन पराजति हुन पुगे । सर्लाही-४ मात्रै होइन, १६५ निर्वाचन क्षेत्रमध्ये १४७ क्षेत्रमा कांग्रेसले फराकिलो मतान्तरसहित हार भोग्यो ।

प्रत्यक्षमा १८ सिट मात्रै जितेको कांग्रसले समानुपातिकतर्फ केबल २० सिट प्राप्त गरेको छ । ०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको कांग्रेस यो पटक १७ लाख ५४ हजार ६९५ मा खुम्चियो । जसकारण चुनावी समीक्षा हुन नपाउँदै निर्वाचनको बेला गुमनाम निवर्तमान संस्थापन पक्षधरले यतिबेला टाउको उठाउन सुरू गरेका छन् ।

१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति फर्काउन हालिएको रिट अदालतमा विचारधीन छ । यसमा गगनको पक्षमा अन्तरिम आदेश दिएको २ महिना बितिसक्दा अन्तिम निर्णय आएको छैन । जसकारण चुनावका बेला गुमनाम देउवा पक्षधर नेताहरूले यतिबेला प्रश्न उठाउन थालेका हुन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका देउवानिकट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको नतिजाले विशेष महाधिवेशनको औचित्यलाई खारेज गरिदिएको बताए ।

‘अहिलेसम्म पनि विशेष महाधिवेशनको औचित्य र उचित ठानेका छैनौँ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ, त्यसलाई कसरी टुङ्ग्याइन्छ, हेर्न बाँकी छ, छिट्टै टुङ्ग्याइयोस् । हामी त्यही चाहन्छौँ,’ सिटौलाले टिप्पणी गरे ।

अदालतको फैसलापश्चात् जस्तो निर्णय आए पनि स्वीकार्दै पार्टी एक बनाउनेतर्फ लाग्ने उनको भनाइ छ ।

‘विशेष महाधिवेशनबाट केन्द्रीय समिति गठन गरिएको छ । तर अब अदालतले जे निर्णय दिन्छ, त्यहीअनुसार पार्टीभित्र सम्पूर्ण एकता बनाएर जाने बाटो खोज्नुपर्छ,’ सिटौला भन्छन् ।

यस्तै अर्का नेता मीन विश्वकर्मा निर्वाचनले प्रतिपक्षी बनाएको नेपाली कांग्रेसमा यतिबेला दुईजना सभापति रहेको बताउँछन् ।

‘अहिले हाम्रो पार्टीमा २ वटा सभापति हुनुहुन्छ । एउटा १४ औँ महाधिवेशनबाट निर्वाचित, अर्को विशेष महाधिवेशनको नाममा घोषित सभापति गगनकुमार थापा,’ उनले थपे, ‘निर्वाचन त भएन, निर्वाचन भएको भए उहाँलाई निर्वाचित भन्नुहन्थ्यो । घोषित सभापतिले इमर्जेन्सी लागु गरेर चुनावमा जानुभयो । उहाँ आफैँले स्वयम्लाई सभापति घोषणा गर्नुभयो ।’

निर्वाचनको मुखमा पार्टीको अवस्था थप बिग्रिन नदिन आयोगको निर्णय स्वीकारेर देउवा पक्ष चुपचाप बसेकै कारण पार्टीले यति भए पनि नतिजा निकालेको उनले दाबी गरे ।

‘निर्वाचन आयोगले जसलाई सभापतिको गेटपास दियो, त्यसलाई स्वीकारेर थप क्षति हुन नदिने गरी जाने भनेको भएर निर्वाचनको नतिजा यतिको आएको हो । अन्यथा, योभन्दा नराम्रो अवस्थामा पुग्ने थियौँ कि ?,’ उनले शंका व्यक्त गरे ।

वैकल्पिक शक्तिले चुनौती दिइरहेको अवस्थामा विशेष महाधिवेशन गरेर पार्टीलाई थप कमजोर बनाइएको उनको आरोप छ ।

‘बाह्य परिवेश त बिग्रेकै थियो, भित्री परिवेश बिगार्न हामी आफैँ उद्यत भएर लाग्यौँ । इतिहासमै सबैभन्दा नराम्रो परिस्थितिको सामाना गर्नुपर्‍यो,’ उनले भने ।

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले पनि विशेष महाधिवेशनको औचित्य सकिएको बताए ।

‘विशेष महाधिवेशनको औचित्य समाप्त भयो, तर यसले एउटा कुरा छर्लङ्ग देखायो, राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ,’ उनले भने ।

थापानिकट के भन्छन् ?

विशेष महाधिवेशनबाट सभापति बनेर चुनावमा होमिएका सभापति थापाले नतिजा आउने क्रममै नैतिकताका आधारमा राजीनामा दिने प्रस्ताव अघि सारे ।
उनको प्रस्तावमा पदाधिकारीसहित उनका सहयोगीले तत्काल निर्णय नगर्न सुझायो । जसकारण यतिबेला थापा सक्रिय देखिएका छैनन् । उसो त आफूसहित पार्टीले व्यहोरेको नतिजा स्वीकार गर्न समेत उनी शान्त रहेको उनी निकट स्रोत बताउँछ।

उपसभापति भुसालको तर्क

निर्वाचन समीक्षार्थ जिल्लाबाट रिपोर्ट आइरहेकाले यही हप्ताको अन्तिमसम्म अन्य निर्णय हुने भुसालले बताइन् ।

‘निर्वाचनपश्चात पहिलोपटक बसेको केन्द्रीय कार्यसमितिले आइतबारमात्रै समानुपातिक सूची टुङ्ग्यो । विगतमा जस्तै यस निर्वाचनमा पनि जिल्लाबाट रिपोर्ट संकलन गरिरहेका छौँ । त्यो आएसँगै सायद ५ गतेसम्म बैठक बसेर पार्टीले पठाएका उम्मेदवारलाई कहाँ के कति सहयोग भए नभएको बारे निर्वाचन संमिक्षा गर्नेछौँ,’ उनले बताइन् ।

निर्वाचनपश्चात बस्ने दोस्रो कार्यसमिति बैठकले प्रन्धौँ महाधिवेशन र संसद्मा पार्टीको भूमिकाबारे निर्णय उनले बताइन् ।

‘कांग्रेस प्रमुख विपक्षी दल भएकाले अब संसद्मा कस्तो भूमिका निर्वाह गर्नेबारे छलफल गर्न जरुरी छ । १५ औँ महाधिवेशनको क्यालेन्डर ल्याएर मिति तय गर्न अत्यावश्यक छ,’ उनले भनिन् ।

सभापति थापाको राजीनामाबारे हाल पार्टीलाई उनको आवश्यकता अपरिहार्य रहेकाले त्यस्तो नहुने उनी बताउँछिन् ।

‘संसद्मा उहाँको उपस्थिति नहुने भए पनि संसदीय दलको नेता चुन्ने, उहाँलाई निर्देशन दिने लगायत काम छन् । विगतका कमजोरी स्वीकार्दै, आत्मसमीक्षा गर्दै पार्टीलाई सुदृढ बनाउन उहाँमा जिम्मेवारी छ, अब सभापतिज्यू त्यता लाग्नुहुन्छ,’ उनले भनिन् ।

थापाको सचिवालय सदस्य युवराज पाण्डेयले पार्टीको संरचनामा सुधार गरेर जानुको विकल्प नरहेको बताए ।

‘अहिले कुनै निर्णय गरिहाल्ने भन्ने छैन, केही दिन पर्खिने कुरा भएको छ । अब यो काम गराइले कहीँ पुगिँदैन संरचनागत सुधार गरेरै जानुपर्छ, त्यसका लागि सुझाव संकलन भइरहेको छ,’ उनले भने ।

उनका अनुसार उम्मेदवारको नाम टुङ्ग्याउने समयमा बालकृष्ण खाँणको मध्यस्थतामा तत्कालीन सभापति देउवासँग कुरा गरि पनि हाल सम्पर्क भएको छैन ।

थापानिकट महासमिति सदस्य शंकर तिवारीले केही दिनअघि सार्वजनिक वक्तव्य जारी गर्दै महाधिवेशनबाट निर्वाचित नेतृत्वले सुझबुझपूर्ण निर्णय लिएर मार्गप्रशस्त गर्नुपर्ने सुझाए ।

‘हामीले यथाशीघ्र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्छ, त्यसका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले सुझबुझपूर्ण निर्णय लिएर मार्गप्रशस्त गर्नुपर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : २८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम