काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९ जना कार्यसमिति सदस्य ममोनित गरे । सबै नयाँ मनोनित सदस्यहरु गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी नभएको इतर समूहमा आबद्ध थिए । सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवानिकट ११ जना, नेता डा. शेखर कोइराला निकट ७ जना र नेता शशांक कोइराला निकट एक जनालाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका थिए । आगामी १५ औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन सभापति थापाले यो निर्णय लिएको उनी पक्षधर नेताहरु बताउँछन् ।
कांग्रेस नेता नैनसिंह महर पार्टीलाई बलियो बनाउन सभापतिले सबैलाई समेटेको बताउँछन् । ‘कांग्रेस बहुविचार र बहुदलमा विश्वास राख्ने पार्टी हो ।’ नेता महरले भने, ‘सभापतिले पार्टीलाई बलियो बनाउन मनोनयनबाट सबैलाई समेट्नुभएको छ । यसरी गरिने मनोनयनबाट आगामी महाधिवेशनलाई सुनिश्चित गर्नुपर्छ ।’ कुनै समय कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला र सुर्वण शमशेरबीच पनि मतभेद रहेको स्मरण गर्दै उनले पार्टीमा विभिन्न विचार समूहको अस्तित्व हुनु सामान्य भएको बताए ।
तर सभापति थापाले गरेको मनोनयनलाई लिएर पार्टीका सबै नेताहरु सन्तुष्ट भने छैनन् । थापाको निर्णयमा इतरपक्षका नेताहरु पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले सार्वजनिक अभिव्यक्तिमार्फत् असन्तुष्टि पोखेका छन् । आफूहरुसँग कुनै परामर्श नै नगरी सभापतिले एकलौटी निर्णय गरेरको भन्दै उनीहरुले यसबाट पार्टीको वृहत्तर एकतामा ठेस पुग्ने चेतावनी नै दिएका छन् ।
‘केन्द्रीय कार्यसमितिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएको छैन, मेरो जानकारीमा छैन … २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ,’ खड्काले २९ वैशाखमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोष्टमा उल्लेख छ । यस्तै, डा.कोइरालाले पनि सोही दिन आफूनिकट नेताहरूसँग बालुवाटारस्थित सम्पर्क कार्यालयमा छलफल गरेपछि ५ बुँदे धारणा सार्वजनिक गरेका थिए ।
एकातिर पार्टीलाई गुटरहित बनाउने दृढताका साथ विशेष महाधिवेशनबाट सभापति बनेका थापाले आज आएर गुटका नेताहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति दिइरहेका छन् । अर्कोतर्फ, सभापतिको यो निर्णयप्रति सबै नेताहरु खुशी छैनन् । यसैबीच, खबरहबसँगको संवादमा नवनियुक्त केन्द्रीय सदस्य शुशीला मिश्र भट्टले पार्टीको मामिला कानुनी रुपमै निर्क्यौल भइसकेको अवस्थामा आफ्नो सहभगिता स्वभाविक रहेको टिप्पणी गरिन् ।
‘पार्टी फुटेको छैन, त्यसैले एकता भन्न मन पराउदिनँ ।’ उनले भनिन्, ‘पार्टीमा गुट र फरक–फरक विचार हिजो थिए र अहिले पनि छन् । अब नेताहरु वार्ताबाट एकढिक्का भएर राष्ट्रिय चासोमा लाग्नुपर्छ ।’ १५ औँ महाधिवेशनसम्म दोधार नगर्ने उनको भनाइ छ । ‘देशको लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो बन्नेपर्छ, त्यसैले महाधिवेशनसम्म अडिग रहन्छु,’ उनले भनिन् ।
१४ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य रहेकी उनलाई पूर्वसभापति देउवा समूह निकट नेतृ मानिन्छ । केन्द्रीय सदस्यमा नियुक्त भएकोबारे आफूले पनि ढिलागरी जानकारी पाएको उनले खुलाइन् । ‘साभापति थापा समूहसँग पार्टीलाई थप परिष्कृत बनाएर लैजानेबारे कुरा भइराख्थ्यो तर नियुक्तिबारे मलाई पनि जानकारी थिएन,’ उनले भनिन्, ‘नियुक्तिपछि नेतृ डिना उपाध्यायसँग फोन सम्पर्क भएको थियो ।’
यस्तै, देउवा पक्षबाटै केन्द्रीय सदस्यमा तानिएकी लक्ष्मी परियारले पनि वर्तमान नेतृत्वसँग पार्टी एकतालाई जोड दिने बताइन् । देउवा निकट मानिने परियार यसअघि पनि केन्द्रीय कार्यसमिति सदस्य थिइन् । ‘अहिले पार्टीबाहिर हुनुभएका शीर्ष नेतृत्वको गुण्ठा मेटाउनुपर्छ,’ उनले भनिन् ।
अर्का नवनियुक्त केन्द्रीय सदस्य जीवन परियार चाहिँ १९ जना मनोनयन गर्दैमा पार्टीको आन्तरिक एकता पूर्ण नहुने टिप्पणी गर्छन् । नेता शेखर निकट रहेका उनी १४ औँ महाधिवेशबाट निर्वाचित सहमहामन्त्री थिए । ‘सभापतिले विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई कार्यसमितिमा ल्याउनुभएको छ । तर यो पर्याप्त छैन,’ उनले भने, ‘यसले आन्तरिक एकता अझै पूर्ण भएको छैन ।’ पार्टी सभापति थापा थप लचिलो बनेर पहल गर्नुपर्ने उनले सुझाए ।
‘भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि विशेष महाधिवेशनबाट पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पहिलो व्यक्ति म नै हुँ । ५४ प्रतिशत बहुमत संख्याको मागलाई पनि सो समयमा नेतृत्वले मानेन,’ उनले भने, ‘पुसमा भएको अधिवेशनमा सहभागी भएमा पार्टी फुट्नसक्ने जोखिम देखेर म प्रत्यक्ष उपस्थित नभएको हुँ ।’
दुई–दुई वटा कानुनी निकायले वैध ठहर गरिसकेपछि भने एकै ठाउँमा उभिनुको विकल्न नदेखेको उनको भनाइ छ । ‘२१ फाल्गुनको चुनावका लागि निर्वाचन आयोगले मान्यता दिइपछि नै मैले गगनलाई सभापति मानेर जाउँ भनेको थिएँ । तर नेतृत्वले मानेन । अब सर्वोच्चले समेत वैधानिकताको मुद्दा टुङ्ग्याइदिएको छ । अब बृहत्तर एकताको विकल्प छैन,’ उनले भने ।
यस्तै, शेखर निकट अर्का नेता चन्द्रकान्त भण्डारीको तर्क भने अलि फरक छ । उनी पार्टीभित्र असन्तुष्टि जनाइरहेका नेता/कार्यकर्ताका लागि आगामी चुनावमा जाने समेत समय नभएको टिप्पणी गर्छन् । ‘पूर्णबहादुरजी, प्रकाशमानजी, शेखरजी जस्ता असन्तुष्ट साथीहरु पाँच वर्षपछि ८० को हाराहारीमा पुग्नुहुन्छ । उहाँहरुले अब पनि आफ्ना छोरा नातिहरुसँग झगडा गरिरहने ? उहाँहरुले छोराछोरी पठाउने हो भने यसरी गरौँ भन्नुपर्छ, सुझाव दिनुपर्छ,’ उनले भने ।
मनोनित भएका लगभग सबै जना इतर समूह निकट नै भएकाले यसमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको उनले बताए । ‘शेरबहादुरजी र शेखरजीको मिटिङमा जानेहरु समितिमा आएका छन् । यति गर्दा नि नहुने भए, अब को ल्याए हुने हो ? के गरेर सन्तुष्ट हुने हो ?,’ उनले प्रश्न गरे ।
‘हिजो उहाँहरुले सत्तामा रहेर गरेका कामकै कारण आन्दोलन भयो । अहिले उहाँहरुको बोली बिक्दैन, उहाँहरुले झगडा गरेर फाइदा छैन’ उनले भने ।













प्रतिक्रिया