अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला « Khabarhub

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने आँप, मूला, गाँजर लगायतबाट बनाइने अचारलाई केवल घरायसी परिकारका रूपमा मात्र लिन्थिन् । 

परिवारका लागि थोरै मात्रामा बनाइने अचार केही दिनमै कुहिने, लेउ जम्ने र स्वाद बिग्रिने समस्या सामान्यजस्तै थियो । सरसफाइ र संरक्षणका विधिबारे जानकारी नहुँदा अचार लामो समय टिकाउन सकिँदैनथ्यो ।

अहिले अवस्था फेरिएको छ । पार्वतीदेवीमात्रै होइन, उनीजस्तै अन्य महिलाहरू पनि व्यावसायिक रूपमा अचार उत्पादन गर्न सक्षम भएका छन् । तालिममार्फत सिकेको सीप र आधुनिक विधिको प्रयोगले उनीहरू घरको बारीमै उपलब्ध फलफूल तथा तरकारीलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने कार्यमा जुटेका छन् ।

नगरपालिकाको उद्यम विकास शाखाले आत्मनिर्भर बनाउने उद्देश्यले १० जना स्थानीय महिलालाई व्यावसायिक अचार उत्पादनसम्बन्धी तालिम प्रदान गरेको छ । दक्ष प्रशिक्षकमार्फत सञ्चालन गरिएको तालिमले महिलालाई अचार उत्पादनको परम्परागत शैलीबाट व्यावसायिक उत्पादनतर्फ डोर्‍याएको छ ।

‘पहिले अचार बनाउँदा सरसफाइलाई त्यति महत्व दिइँदैनथ्यो’, बन्दनाकुमारी बोहराले भनिन्, ‘अहिले हात राम्ररी धुने, पञ्जा लगाउने, मास्क प्रयोग गर्ने र कपाल छोप्नेजस्ता कुरालाई अनिवार्य रूपमा अपनाउँछौँ, यसले अचारको गुणस्तर र टिकाउपन दुवै बढाएको छ ।’

तालिमपछि महिलाहरूले गाँजर, मूला, लसुन, काउली, तितेकरेला, आँप, अमला, बयर, च्याउलगायतका स्थानीय रूपमा उपलब्ध फलफूल तथा तरकारीबाट विभिन्न प्रकारका अचार बनाउन सिकेका छन् । घरमै उत्पादन हुने सामग्री प्रयोग हुने भएकाले उत्पादन लागत कम लाग्ने र स्थानीय कृषिजन्य उत्पादनको उपयोग पनि हुने गरेको छ ।

अचार उत्पादनको प्रक्रिया पनि अब व्यवस्थित र व्यावसायिक बनेको छ । उद्यमतर्फ अग्रसर महिलाका अनुसार अचार बनाउन प्रयोग हुने फलफूल तथा तरकारीलाई पहिले सफा पानीले राम्ररी धोइन्छ ।

त्यसपछि स्वच्छ भाँडामा काटेर आवश्यकताअनुसार उमालिन्छ । पानी पूर्ण रूपमा सुकाएपछि नुन तथा अन्य आवश्यक मसला तताइएको तेलमा मिसाएर तयारी गरिन्छ ।

अचारलाई सफा प्लास्टिक वा सिसाको बट्टामा प्याकिङ गरिन्छ । उत्पादनको नाम, मिति र आवश्यक विवरणसहितको लेबल टाँसेपछि मात्रै बजारमा पठाउनका लागि तयार हुने स्वस्तिमा चौधरीले बताइन् । 

‘तालिमले हामीलाई केवल अचार बनाउन मात्र सिकाएको छैन, गुणस्तरीय उत्पादन कसरी गर्ने भन्ने पनि सिकाएको छ’, समूहमा आबद्ध चौधरीले भनिन्, ‘हामीले १० जनाको समूह बनाएर उत्पादन सुरु गरेका छौँ, अहिले बजार व्यवस्थापनका लागि प्रशिक्षकले सहयोग गर्ने आश्वासन दिनुभएको छ, पछि आफैँ बजार विस्तार गर्ने योजना छ ।’

उनका अनुसार अचार उत्पादनका लागि छुट्टै स्थानको अभाव हुन नदिन वडा कार्यालयले कोठा उपलब्ध गराएको छ । यसले महिलालाई व्यवसाय सञ्चालन गर्न थप सहज बनाएको छ । वडासचिव श्याम डगौराले महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न वडाको खाली रहेका कोठा उपलब्ध गराइएको बताए ।

‘व्यवसाय सुरु गर्न चाहने महिलालाई प्रारम्भिक चरणमा स्थानको समस्या नहोस् भनेर कोठा उपलब्ध गराएका हौँ’, उनले भने, ‘व्यवसाय विस्तार हुँदै गएपछि उहाँहरूले आफ्नै व्यवस्थापनमा अन्यत्र कोठा खोजेर सञ्चालन गर्नुहुनेछ ।’

नगरपालिकाको उद्यम विकास शाखाले तालिमसँगै आवश्यक उपकरण पनि अनुदानमा उपलब्ध गराएको छ । अचार उत्पादनका लागि आवश्यक चक्कु, भाँडाकुँडा, मिक्स्चर मेसिनलगायतका सामग्री महिलालाई वितरण गरिएको छ ।

उद्यम विकास शाखाकी कर्मचारी शान्ता साउदका अनुसार महिलालाई सीपमूलक तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : २० बजे

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ