ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस् « Khabarhub

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

पहिलो पुस्ताका नेताहरूलाई पनि जिम्मेवार छाड्न दबाब



काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव संकलन गरिरहेको छ। सुझाव सङ्कलनका लागि कार्यदल संयोजक रामबहादुर थापा बादलसहित सचिवालयका नेताहरू मंगलबार लर्को लागेर विराटनगर झरे ।

महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, सचिवहरू शेरधन राई, भानुभक्त ढकाल लगायत नेताहरू विराटनगरमा उत्रिएर सुझाव लिए। उनीहरूले सयभन्दा बढी नेताहरूबाट ग्राउन्ड रियालिटी बुझ्ने कोसिस गरे।

सुझाव दिनेमध्ये मंगलबार बोलेका ७० जना नेताले पार्टी पुनर्गठन जरूरी रहेको मत राखेका छन्। नेताहरूले एमाले पुनर्गठन गर्दा वर्तमान अहिलेको नेतृत्वले छाड्नुपर्ने आवाज झन्डै ४० जनाबाट उठेको छ।

बैठकमा उपस्थित ३०-३५ जना नेताले वर्तमान नेतृत्वसँगै पार्टी पुनर्गठन र पुस्तान्तरणका लागि पहिलो पुस्ताका सबैले स्वेच्छिक र सम्मानजनक बिदाइ लिनुपर्ने आवाज उठाए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशका कोशीमा पनि पार्टी पुनर्गठनका लागि पहिलो पुस्ता बिदा हुनुपर्ने दबाब आएको हो । यस्तै नेतृत्वबाट अब ओलीले बिदाइ लिनुपर्ने र दोस्रो या तेस्रो पुस्ताले नेतृत्वमा ल्याउनुपर्ने आवाज उठेको छ । यसले ओलीमाथि पार्टीबाट बाहिरिन झन् दबाब परेको छ।

बैठकमा १४ जिल्ला अध्यक्ष र कार्यसमितिका नेता, कोशी प्रदेशबाट केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका नेताहरू, प्रदेशका जनवर्गीय संगठनका नेता, कोशी प्रदेशका केही सांसद उपस्थित छन् । कार्यक्रममा बोल्ने अधिकांश नेताले पार्टी पुनर्गठन नभए एमालेलाई पुरानो ओझ र साख फर्काउन हम्मे पर्ने विश्लेषण सुनाएका छन्।

यस्तो विश्लेषण १४ जिल्लाका जिल्ला अध्यक्षहरू, प्रदेश कमिटी सदस्य र फागुन २१ को निर्वाचनमा हारेका उम्मेदवारहरू पनि राखेको बताउँछ।

बैठकमा बोल्ने अधिकांश नेताले अध्यक्ष ओलीको शैलीमाथि तल्लो तहका कार्यकर्ताहरू रुष्ट रहेकाले चुनावी हारको एउटा कारण त्यो पनि भएको अनुभव सुनाए ।

झापालीसमेत पुनर्गठनको पक्षमा

ओलीको गृह जिल्ला झापाबाट उपस्थित अधिकांश नेताले पार्टी पुनर्गठनको आवाज उठाए। झापा जिल्ला अध्यक्ष प्रेम गिरी, क्षेत्र नम्बर १ बाट फागुन २१ को निर्वाचनमा पराजित रामचन्द्र उप्रेती, क्षेत्र नम्बर ३ मा पराजित हरि राजवंशी लगायत नेताले पनि एमाले पुनर्गठन हुनुपर्ने आवाज उठाए ।

पुनर्गठनका लागि ओलीसहित पहिलो पुस्ताले बिदा भएर नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहित अगाडि बढ्नुपर्ने उनीहरूको माग थियो।

‘पार्टी पुनर्गठन आजको आवश्यकता हो । निर्वाचनमा यो किसिमको हार के कारण भयो भन्ने समीक्षा गर्दा ओली मात्रै मुख्य दोषी होइनन्। पहिलो पुस्ताका सबै नेताहरूले स्वेच्छिक रुपमा बिदा भएर पार्टी पुनर्गठन गर्नुपर्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । नेतृत्वले मात्रै होइन, हामी सबैले कमी कमजोरी गर्‍यौं। पुनर्गठन भनिरहँदा हामीले एउटा मान्छेलाई मात्रै केन्द्रित गर्नु हुँदैन। पार्टी पुनर्गठन हुँदा पहिलो पुस्ता र पटकपटक नेतृत्व लिएका अझै पदमा बसिरहने ?’, झापा जिल्ला अध्यक्ष प्रेम गिरीले भनेका थिए, ‘पार्टी पुनर्गठन हुनु जरुरी छ, हामीलाई पनि थाहा छ। हामी पनि ग्राउन्ड बुझेरै आएका छौँ। तर पहिलो पुस्ताको पुनर्गठन हुने हो कि अध्यक्ष ओलीको मात्रै ? अध्यक्षको मात्रै पुनर्गठन होइन, पहिलो पुस्ताले पनि बिदा हुनेमा विचार गरौं।’

यता क्षेत्र नम्बर १ मा पराजित उप्रेती र ३ बाट पराजित राजवंशीले पनि ओलीले मात्रै पद छोडेर पार्टी पुनर्गठन नहुने आवाज उठाए ।

‘धेरथोर पार्टीमा सबैले जस-अपजसको भागी हुनुपर्छ । अघि नेताहरुले भन्नुभयो, ओलीले मात्रै पद छोडेर पुग्छ । ओली मात्रैले गर्दा निर्वाचनमा यस्तो स्थिति आएको हो त ? सुरूमा ओली बिदा भएर क्रमश: अरू नेताहरू पनि जान तयार भएमा हामीले पनि मानौँला। सबै दोष ओलीलाई थुपारेर हामी चोखो भन्ने हिसाबले अगाडि नबढौँ’, उप्रेती र राजवंशीले भनेका थिए, ‘पार्टी पुनर्गठन हुनुपर्नेमा दुई मत छैन। ओलीले पदबाट बिदा हुनुपर्छ भन्ने विषयमा पनि दुईमत छैन। तर हामीले चाहिँ के कति कमजोरी गर्‍यौँ, पदमा बसिरहनु उपयुक्त छ-छैन भन्ने विषयमा विश्लेषण गर्‍यौँ कि गरेनौँ ? पार्टीलाई धक्का लाग्दा देशी-विदेशी शक्तिले पनि हस्तक्षेप गरे भन्ने कुरामा दुईमत छैन।’

तेह्रथुम अध्यक्ष शिव ढुंगाना र पाँचथरका अध्यक्ष विष्णु सापकोटाले पनि पार्टी पुनर्गठन जरूरी रहेको बताए। ढुङ्गाना र सापकोटाले गल्ती स्वीकार्दै नेताहरूले स्वेच्छिक रुपमा बिदा लिनुपर्ने मत राखे । उनीहरूले पार्टीमा आफ्नो दोष नदेख्ने तर अरुको मात्रै दोष देख्ने प्रवृत्ति रहेकाले सबैले यसलाई पनि परिवर्तन गर्नुपर्ने जरूरी जनताले ठानेको मत राखे।

‘धेरै कमी कमजोरी छन्, तिनको समीक्षा गर्नुपर्छ। चुनाव हार्नुको मुख्य कारण बाहिरी पनि छ, अरू कुरा पनि छन् । हाम्रा आन्तरिक कमजोरी पनि छन् । जनताले हामीलाई मन पराएनन्, नेतृत्व पनि मन पराएनन् । जनताको मन जित्न सकेनौँ’, पाँचथर र तेह्रथुमका अध्यक्षले भने, ‘पुनर्गठन जरूरी छ। अध्यक्ष मात्रै हट्ने होइन । अरू पदाधिकारीले पनि बिदा लिने अवस्था छ । प्रदेश र जिल्लाका पनि पटक-पटक पदमा पुगेर नेतृत्व सम्हालेकाले बिदा लिऊँ। मुख्य रूपमा केन्द्रीय नेतृत्वका रुपमा रहेकाओलीका विषयमा धेरै विवाद आएर निर्वाचनमा ठूलो धक्का खायौँ।’

‘एउटै व्यक्तिलाई मात्रै दोष नदिनू’

स्वास्थ्यको कारण देखाउँदै गृह प्रदेशको बैठकमा उपस्थित नभएका ओलीले भर्चुअल सम्बोधन गरे। ओलीले आफूहरूले थुप्रै काम गरेको दाबी गर्दै प्रचारमा चुक्दा हार बेहोर्नुपर्नेको बताए । नेतृत्वबाट मुख्य गल्ती भएको उठे पनि ओलीले स्वीकारेनन् ।

‘हाम्राविरुद्ध भएको प्रचारको प्रतिवाद गर्न सकेनौँ। सत्य कामको प्रचार गर्न सकेनौँ, असत्यको प्रतिवाद पनि गर्न सकेनौँ, त्यहीकारण निर्वाचनमा धक्का व्यहोर्‍यौँ’,ओलीले भने, ‘खाली दोष एउटा व्यक्तिलाई लगाएर पन्छिनुपर्ने अवस्था छैन। तपाईंहरूले तल्लो तहमा जेजे कुरा थाहा पाउनुभएको छ, त्यही कुरा राख्नुहोस्। एक व्यक्तिलाई कमजोर बनाएर अर्को पक्षलाई बलियो बनाउने हिसाबले प्रस्तुत नगर्नुस् ।’

बैठकमा ओलीले आफू अस्वस्थ भएकाले उपस्थित हुन नसकेको जानकारीसमेत गराए। फागुन २१ पछि निरन्तर अस्वस्थ रहेको जानकारी गराइरहेका ओली सार्वजनिक कार्यक्रममा कमै देखिएका छन् । तर उनी पद छाडेर दोस्रो तहका पुस्तालाई सुम्पिने अवस्थामा छैनन् ।

गृह प्रदेशको बैठकमा पनि ओलीले आफू कुनै हिसाबले कमजोर नभएको संकेत दिए। ‘केही समय बिरामीका कारण आराम गर्नुपर्ने अवस्था छ। नेतृत्वलाई यहाँहरूले निर्वाचनमार्फत् जिताउनुभएको हो’, ओलीले भनेका थिए,‘पार्टीमा आफ्नै नेताहरूले कामको विषयमा प्रचार नगरेपछि अवस्था यस्तो आयो देशी विदेशी शक्तिले पनि एमालेमाथि ठूलो प्रहार गरेको छ।’

मङ्गलबार बैठक नसकेपछि बुधबार महासचिव पोखरेलसहितका केही र प्रदेशका नेताहरूको बैठक अझै छ। बुधबारको बैठकमा कार्यदलका संयोजक बादल उपस्थित नहुने जानकारी गराइएको छ। नेताहरूले बोल्ने क्रम सकिएपछि मंगलबार नै कार्यदलका संयोजक बादलले बोल्दै छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ६ : ४८ बजे

‘खुट्टा भाँच्ने भनाइको जवाफ दिनुपर्छ भनेर मन्त्रीज्यू बैठकमा नआउनुभएको हो ?’

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय