ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क « Khabarhub

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने घोषणा गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धानपछि ब्राजिलले अनुचित व्यापारिक अभ्यास गरेको निष्कर्ष निकाल्दै उक्त निर्णय गरिएको जनाएको हो।

अमेरिकाका अनुसार नयाँ शुल्कको उद्देश्य विश्वको दशौँ ठूलो अर्थतन्त्र ब्राजिलसँगको व्यापारिक असन्तुलन र अनुचित व्यापारिक अभ्यासलाई सम्बोधन गर्नु हो। तर अमेरिकी आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पर्न सक्ने केही वस्तुलाई भने शुल्कबाट छुट दिइएको छ।

शुल्कबाट छुट पाउने वस्तुमा कफी, गाईको मासु, सुन्तला, सुन्तलाको रस, केही तेल तथा ग्यासजन्य ऊर्जा उत्पादन तथा एयरोस्पेस उद्योगमा प्रयोग हुने केही पार्टपुर्जा समावेश छन्।

यूएसटीआरले ब्राजिलविरुद्ध भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यान्वयन, भन्सार नीति तथा अन्य व्यापारिक अभ्यासलाई अनुचित ठहर गर्दै सुधारका लागि यो कदम आवश्यक भएको जनाएको छ। यद्यपि सार्वजनिक अभिलेखअनुसार अमेरिकाले लामो समयदेखि ब्राजिलसँगको वस्तु व्यापारमा अधिशेष कायम राख्दै आएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकी कामदार र व्यवसायलाई निष्पक्ष प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउन अतिरिक्त शुल्क आवश्यक भएको बताए। उनका अनुसार गत एक वर्षदेखि भएका द्विपक्षीय वार्ताले विवादित विषय समाधान गर्न नसके पनि आवश्यक सुधारका लागि अमेरिका ब्राजिलसँग वार्ता जारी राख्न तयार छ।

गत जुनमा शुल्क प्रस्ताव सार्वजनिक भएपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले त्यसको कडा विरोध गरेका थिए। उनले यस निर्णयलाई व्यापारिकभन्दा पनि राजनीतिक प्रेरणाले प्रभावित भएको बताउँदै आगामी अक्टोबरको निर्वाचन र आफ्ना राजनीतिक प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोसँग सम्बन्धित घटनाक्रमसँग जोडेका थिए। फ्लाभियो, पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् र हालै वासिङ्टन भ्रमणमा गएका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने राष्ट्रपति लुला नेतृत्वको सरकारले अमेरिकासँग सद्भावपूर्ण ढङ्गले वार्ता नगरेको आरोप लगाउँदै ब्राजिलको आर्थिक नीतिले दुवै देशका नागरिकको हितमा काम नगरेको टिप्पणी गरेका छन्।

यो अतिरिक्त शुल्क अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत लगाइएको हो। यसअघि अमेरिकी सर्वोच्च अदालतले सन् १९७७ को ‘इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट’ (आईईईपीए) अन्तर्गत ट्रम्प प्रशासनले लगाएका केही व्यापक शुल्क अधिकार क्षेत्रभन्दा बाहिर रहेको ठहर गरेको थियो।

यसअघि ट्रम्प प्रशासनले सन् २०२२ को ब्राजिलको राष्ट्रपतीय निर्वाचनपछि पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि चलाइएको मुद्दाको विरोधस्वरूप ब्राजिलमाथि ५० प्रतिशत कर लगाएको थियो। यद्यपि गत मे महिनामा ह्वाइट हाउसमा भएको भेटपछि राष्ट्रपति ट्रम्प र राष्ट्रपति लुलाबीचको सम्बन्धमा केही सुधार आएको आकलन गरिएको थियो।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ७ : १९ बजे

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५