सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम « Khabarhub

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । 

सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो ।

यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत तोकिएको थियो । नयाँ व्यवस्थाअनुसार अब सहकारी संस्थाले १३ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । 

सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार संस्थाले आफ्नो कारोबारको अवस्था, आवश्यकता र औचित्यको विश्लेषण गरी १३ प्रतिशतभन्दा कम ब्याजदरसमेत निर्धारण गर्न सक्नेछन् । 

त्यस्तै, बचतमा दिने र ऋणमा लिने ब्याजदरबीचको अन्तर भने छ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ । कार्यालयले सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनःब्याज लगाउन नपाउने कानुनी व्यवस्थाको पूर्ण पालना गर्नसमेत निर्देशन दिएको छ । 

यस्तै, संस्थाले हर्जाना रकम लिने निर्णय गरेको अवस्थामा असुल हुन बाँकी ब्याज रकमको पाँच प्रतिशतभन्दा बढी हर्जाना लिन नपाउने व्यवस्था गरिएको छ ।

ऋणसँग सम्बन्धित सम्पूर्ण लागत ब्याजदरमै समावेश हुने भएकाले सहकारी संस्थाले प्रशासनिक शुल्क, सेवा शुल्क, नवीकरण शुल्क, फाराम दस्तुर वा यस्तै अन्य कुनै शीर्षकमा थप रकम लिन नपाउने कार्यालयले स्पष्ट गरेको छ ।

नयाँ निर्देशनअनुसार सहकारी संस्थाले निर्धारण गरेको ब्याजदर सबै सदस्यले जानकारी पाउने गरी आफ्नो वेबसाइट वा अन्य माध्यमबाट अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ । 

एकै प्रकृतिको बचत वा ऋणमा ब्याजदर कायम गर्दा सदस्य, सञ्चालक समिति तथा पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, व्यवस्थापक र कर्मचारीबीच कुनै विभेद गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।

यस्तै, सहकारी संस्थाले ऋण प्रवाह गर्दा सम्बन्धित ऋणी सदस्यको व्यक्तिगत खातामा रकम जम्मा गर्नुपर्नेछ । सदस्यले व्यक्तिगत रूपमा लिएको ऋण दायित्वभन्दा बढी हुने गरी संस्थाको दायित्वसँग जोडेर ऋणी सदस्यमाथि थप ऋणभार सिर्जना गर्न नपाइने निर्देशनमा उल्लेख छ । रासस

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ११ : २० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका