बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण गर्दै संगीत क्षेत्रमा अघि बढाएका संगीतकार टंक बुढाथोकी र अशोक दर्जीबीच अहिले सम्बन्धमा गम्भीर दूरी आएको छ। लामो समयसम्म बाबुछोराजस्तै देखिएको उनीहरूको सम्बन्ध अब व्यक्तिगत संरक्षक र बाल कलाकारको सम्बन्धमा सीमित नरहने टंकको भनाइले स्पष्ट पारेको छ।
‘मन विनाको धन २’ मा अशोकलाई समावेश नगरिएको विषयबाट सुरु भएको कुराकानीमा टंकले अशोकसँग आफ्नो अहिले कुनै व्यक्तिगत सम्पर्क नरहेको खुलाएका छन्। ‘झिंगेदाउ २’को प्रिमियरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अशोकसँग ‘हेलो–हाई’समेत नभएको बताए। अशोकले भने आफ्ना दाजु टिका बुढाथोकीसँग सम्पर्क गर्ने गरेको उनको भनाइ छ।
टंकका अनुसार अशोकसँगको सम्बन्ध ‘पार्वती’ फिल्म बन्ने समयदेखि नै टाढिँदै गएको हो। उनले आफूले अब अशोकलाई पहिलेको जस्तो अभिभावकीय साथ नदिने स्पष्ट पारे। यद्यपि अशोकले आफ्नो खुट्टामा उभिन थालेकामा आफूलाई खुसी लागेको र उनको सफलताका लागि सधैँ शुभकामना रहने उनले बताएका छन्।
कुराकानीको सुरुवात नै ‘मन विनाको धन २’बाट भएको थियो। अशोकलाई फिल्ममा नराखिएको हो कि भन्ने प्रश्नमा टंकले निकै स्पष्ट जवाफ दिए। उनले भनेका छन्, ‘हो, यसमा उनी छैनन्। २ हजार प्रतिशत छैनन्।’ अर्थात्, आगामी फिल्ममा अशोकको सहभागिता नरहेको विषयमा कुनै अन्योल नभएको उनको भनाइ थियो।
तर फिल्ममा अशोकलाई नराखिएको विषयबाट सुरु भएको प्रश्नोत्तर विस्तारै उनीहरूबीचको व्यक्तिगत सम्बन्ध, सामाजिक सञ्जालमा उठ्ने आरोप र विगतका सहकार्यसम्म पुग्यो। त्यसक्रममा टंकले आफूले आठ वर्षदेखि निरन्तर ‘अशोकलाई प्रयोग गरेको’ आरोप सुन्दै आएको र त्यसबाट आफू निकै थकित भएको बताए।
‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’ टंकको सबैभन्दा चर्चित प्रतिक्रिया यही बन्यो। उनले अशोकलाई सडकबाट ल्याएर हिरो बनाएकोमा अहिले आफूलाई ‘गल्ती गरेको महसुस’ भएको बताए। उनको भनाइमा, उनले अशोकलाई गीत गाउन, बोल्न र अभिनय गर्न सिकाए। फिल्ममा समेत अवसर दिए। तर सामाजिक सञ्जालमा भने आफूले अशोकलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप निरन्तर लागिरह्यो। टंकले व्यंग्यात्मक शैलीमा भने, ‘हो, मैले उसलाई गीत गाउन सिकाउन युज गरेँ। उसलाई बोल्न सिकाएर युज गरेँ। मैले उसलाई एक्टर बनाएर युज गरेँ। करोडौँ खर्च गरेर फिल्म बनाइदिएर हिरो बनाएँ, युज गरेँ।’
उनका अनुसार यही प्रकारका टिप्पणी वर्षौंदेखि सुन्दै आउँदा आफू मानसिक रूपमा थकित भएको होइन, सामाजिक दबाब र परिवारमा त्यसको प्रभावका कारण दिक्क भएको अवस्था रहेको उनको अभिव्यक्तिबाट देखिन्छ। उनले आफ्नै छोराले समेत सामाजिक सञ्जालका टिप्पणी पढ्न थालेको र बाबुमाथि लेखिएका टिप्पणी देखेर चित्त दुखाउने अवस्था आएको बताए। त्यसैले अब आफूले कसैलाई यसरी सहयोग नगर्ने घोषणा गरेको उनको भनाइ छ।
अशोकले अहिले आफ्नै करिअरमा अघि बढिसकेको टंकको बुझाइ छ। पहिले आफू अशोकको गार्जियनको भूमिकामा रहेको भए पनि अब त्यो सम्बन्ध समाप्त भएको उनले बताए। उनले भने, ‘म उसको गार्जियन थिएँ, अब होइन। थिएँ, अब त्यो सम्बन्ध त्यहीँसम्म थियो। अबको सम्बन्ध भयो भने व्यावसायिक सम्बन्ध हुन्छ।’
यसको अर्थ भविष्यमा पूर्ण रूपमा सहकार्यको ढोका बन्द गरिएको भने उनले बताएनन्। ‘मन विनाको धन २’मा सहकार्य नभए पनि भविष्यमा दर्शक तथा जनताबाट आफूलाई अशोकसँग फेरि काम गर्न सुझाव वा आग्रह आए सहकार्य हुन सक्ने उनको भनाइ छ। तर त्यस्तो अवस्थामा पनि आफूले फेरि ‘अशोकलाई प्रयोग गरेको’ आरोप सुन्न नचाहेको उनले स्पष्ट पारे।
अशोकको ‘पार्वती’ हेरेका छैनन्, तर शुभकामना छ
अशोक अहिले अभिनय गरेको फिल्म ‘पार्वती’ प्रदर्शनमा छ। टंकले भने आफूले अहिलेसम्म उक्त फिल्म नहेरेको बताए। सुटिङका कारण समय नमिलेको उनको भनाइ थियो। यद्यपि अशोकको सफलताका लागि आफ्नो शुभकामना सधैँ रहने उनले बताए। ‘बाबुले राम्रो गरिरहेका छन्, अझ राम्रो हुन्छ, राम्रो होस्’ भन्दै उनले अशोकलाई शुभकामना दिए।
उनले पहिले पनि अशोकलाई आफ्नो खुट्टामा उभिन नसक्दासम्म साथ दिने बताएको स्मरण गरे। अहिले अशोक आफैं आफ्नो करिअर अघि बढाउन सक्ने अवस्थामा पुगेकाले पहिलेको जस्तो साथ आवश्यक नरहेको उनको बुझाइ छ। फादर्स डेको प्रसंगमा अशोकले आफूलाई शुभकामना नदिएको प्रश्नमा पनि टंकले खासै चित्त नदुखाएको बताए। ‘उ मेरो छोरा हो र रु मेरो छोराले शुभकामना दियो भइहाल्यो नि,’ भन्दै उनले आफ्नो जैविक छोरातर्फ संकेत गरेका थिए।
सम्बन्ध बिग्रिनुको कारणबारे टिका बुढाथोकीको छुट्टै भनाइ
टंकका दाजु टिका बुढाथोकीले भने उनीहरूबीचको दूरीको एउटा मुख्य कारण अशोकको पढाइ र भविष्यलाई लिएर रहेको बताए। उनका अनुसार टंकले अशोकले एसईई पूरा गरेपछि नेपाली सेनामा जागिर खाएर जीवन व्यवस्थित बनाओस् भन्ने चाहेका थिए। गीत–संगीतलाई पनि सेनाको जागिरसँगै निरन्तरता दिन सकिने सुझाव दिइएको थियो। तर अशोकले तत्कालै आफ्नो करिअर अघि बढाउने निर्णय लिए।
यसैक्रममा उनले पढाइलाई निरन्तरता नदिएको विषयले आफूहरूलाई चिन्तित बनाएको टिका बताउँछन्। उनका अनुसार समस्या अशोकले गीत–संगीत रोजेकोमा मात्र होइन, पढाइ बीचमै छाडेर करिअर अघि बढाएको विषयमा बढी थियो।
अशोकसँग जोडिएको अर्को विवाद सामाजिक सञ्जालमा हुने आर्थिक आरोप पनि हो। कतिपयले अशोकसँग ठूलो रकम रहेको र त्यसमा टंकको भूमिका रहेको भन्दै विभिन्न टिप्पणी गर्ने गरेको प्रश्नमा टंकले आफूलाई प्रमाणित गर्न बैंक खाता हेर्न सकिने शैलीमा जवाफ दिए। यदि आफ्नो बैंक खातालगायत सबै कुरा हेर्दा त्यस्तो रकम देखिए फिर्ता गर्न आफूलाई समस्या नहुने उनको भनाइ थियो। यससँगै उनले आफूले अशोकको आर्थिक अवस्थाबारे सार्वजनिक रूपमा हिसाब–किताबको विवाद गर्न नचाहेको संकेत पनि गरे।
अशोकमाथि कुटपिट भएको भिडियोमा किन बोलेनन् ?
केही समयअघि अशोक दर्जी कुटपिटमा परेको भनिएको भिडियो सार्वजनिक हुँदा टंकले तत्काल कुनै प्रतिक्रिया दिएका थिएनन्। यसबारे पनि उनलाई प्रश्न गरिएको थियो। जवाफमा उनले त्यसबेला आफूले केही नबोलेको स्वीकार गरे। अहिले आएर मात्र यस विषयमा बोल्नुको कारण पनि सामाजिक सञ्जालका टिप्पणीप्रतिको आफ्नो निराशा भएको उनको भनाइ थियो। उनले आफूले जे गरे पनि ‘प्रयोग गर्यो’ भन्ने टिप्पणी आउने गरेको बताए। आफ्नै छोरा एआरसँगको फोटोमा समेत गालीगलौज हुने गरेको र अहिले छोरा आफैं ती टिप्पणी बुझ्ने उमेरमा पुगेकाले आफूलाई अझ बढी असर परेको उनले बताए।
टंकका अनुसार अशोकसँग आफ्नो सम्बन्ध केवल व्यक्तिगत नभई लामो समयसम्म सार्वजनिक रूपमा देखाइएको एउटा सम्बन्ध पनि थियो। त्यसैले सामाजिक सञ्जालमा आएका टिप्पणीले सम्बन्धमा समेत असर गरेको उनको बुझाइ छ।
उनले भने, ‘समाजले नै जोड्देको सम्बन्ध थियो, समाजले नै सम्बन्धलाई तोड्दियो।’ अशोकसँग फेरि पुरानै किसिमको सम्बन्ध जोडिने सम्भावनाबारे भने टंकले कडा शब्द प्रयोग गरे। उनले व्यक्तिगत रूपमा फेरि त्यही सम्बन्धमा फर्किने सम्भावना ‘असम्भव’ रहेको बताए। तर, व्यावसायिक सहकार्यको सम्भावना भने पूर्ण रूपमा अस्वीकार गरेनन्।
यसरी सडकबाट ल्याएर संगीत क्षेत्रमा चिनाएका अशोक र लामो समय अभिभावकको भूमिकामा रहेका टंकबीचको सम्बन्ध अहिले नयाँ मोडमा पुगेको छ। एकातिर टंक आफूले दिएको साथलाई सम्झिरहेका छन् भने अर्कोतिर सामाजिक सञ्जालमा आफूले निरन्तर सामना गरेको ‘प्रयोग गरेको’ आरोपप्रति उनको असन्तुष्टि छ। उता अशोक भने आफ्नै करिअरमा अघि बढिरहेका छन्। अब उनीहरूबीच पुरानो अभिभावक–बालकलाकारको सम्बन्ध फर्किन्छ कि भविष्यमा व्यावसायिक सहकार्यमा मात्र सीमित हुन्छ भन्ने प्रश्न भने खुलै छ।













प्रतिक्रिया