‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’ « Khabarhub

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’



काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै नेताहरू आज सभापति गगन थापाको निम्तो स्वीकार्दै केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् । यता देउवासहित शीर्ष नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, दीपक खड्का, कान्छाराम तामाङ लगायत भने चुनदेवीको सम्पर्क कार्यालयमा छुट्टै छलफलमा बसेका छन् ।

चुनदेवीको छलफलमा गएका नेता प्रकाशमान सिंहका अनुसार देउवा अझै पनि १४औँ महाधिवेशनको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनले गगन थापा पक्षले एकलौटी रुपमा विशेष महाधिवेशन गरेको हुनाले त्यसलाई नस्वीकार्ने पक्षमा रहेको सिंहको भनाइ छ ।

कांग्रेसको देउवा पक्षले गरिरहेका विभिन्न गतिविधिबारे कांग्रेस नेता प्रकाशमान सिंहसँग खबरहबले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

धेरै जना नेताहरू कांग्रेस एक बनाउने अभियान अन्तर्गत सानेपा जानुभएको छ, तपाईहरु के गर्नुहुन्छ ?

को कता गयो हामीलाई मतलब भएन । तर, हामी अहिले पनि पार्टी सम्पर्क कार्यालय चुनदेवीमा बैठक बसिरहेका छौँ । १५औँ महाधिवेशन गर्ने तयारी गरिराखेका छौँ । १४औं महाधिवेशनको नेतृत्वलाई नै लिएर १५औं महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रा नेताहरूको कुरा छ । देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ । हामी छुट्टै तयारी गरिरहेका छौँ । हामी त्यही महाधिवेशन गर्छौँ ।

नेताहरूले के छलफल गरिरहनुभएको छ ?

आज हामी १५औं नियमित महाधिवेशन गर्ने सन्दर्भमा छलफलमा छौँ । १४औँ कार्यसमितिबाट १५औँ महाधिवेशन गर्ने तयारी र छलफलमा छौँ ।

एक हुने कुरा भएको छैन ?

छैन छैन । एक वर्ष भइसक्यो कहाँको एकता गर्ने र उहाँहरु आफ्नै लाइनमा हुनुहुन्छ । हामी अब आफ्नै तयारीमा जुटिसकेका छौं । हामी १४औँ महाधिवेशनबाट १५औं महाधिवेशनमा जान्छौँ । हाम्रो परम्परा के छ भने १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन गर्ने छ।

तपाईँहरू पक्षकै धेरै नेताहरू सानेपामा जुट्नुभयो नि ?

एक दुई जना जानुभयो होला । को धेरै नेता गएको छ ? र तपाईहरु आफैँ हिसाब गर्नुस् ।

देउवा दाइको कुरा के छ आज ?

नियमित महाधिवेशनमा जाने हो भनेर उहाँले त भनिरहनुभएको छ नि । १४औं कार्यसमितिले १५ औं महाधिवेशन गर्ने हो । शेरबहादुर देउवा दाइको जुन वर्किङ कमिटी छ, त्यही कमिटीले १५ औं महाधिवेशन गर्ने हो भन्नेमा उहाँ क्लियर हुनुहुन्छ ।

मिलन विन्दु चाहिँ के हो अब ?

चौधौँ महाधिवेशनलाई नै निरन्तरता दिएर १५ औं महाधिवेशनको तयारीमा जुट्यो भने मिलिन्छ । अरु कुराले मिल्ने अवस्था छैन।

तर, तपाईँहरूले राखेका धेरै बुँदाहरू पालना गर्‍यौँ, मिलेर अगाडि बढौँ, तपाईंलाई सम्मान गर्छौँ, कार्यक्रम उद्घाटन गरिदिनुहोस् भनेर गगन थापाले शेरबहादुर देउवालाई बोलाइरहनुभएको छ नि ?

पार्टीको विधि नीति र सिद्धान्त नमानी जबरजस्तL विशेष महाधिवेशन गरिएको छ, त्यसलाई स्वीकार्ने अवस्था छैन । पार्टीको नीति अनुसार विशेष महाधिवेशन नभएकाले हामीले मान्यता दिएका छैनौँ । त्यसकारण १४औंलाई नै मान्यता दिएर १५औँ गर्ने हो।

शेरबहादुर देउवालाई त तपाईँहरूले मिल्न दिनुभएन अरे नि गगन थापासँग ?

शेरबहादुर दाइलाई कसैले मिल्न नदिने भन्ने हुन्छ र ? उहाँले चाहिँ आफ्नो विवेक प्रयोग गर्नु हुन्न ? सर्वोच्च नेता भएको व्यक्तिले यतिसम्मको विषय नजान्नुहोला ? उहाँलाई होच्याउने किसिमको आशय कहिँ कतैबाट आइरहेको छ, यस्ता क्रियाकलापहरु रोकिनुपर्छ । यस्तैयस्तै कुरा गरेर नै पार्टीलाई एक नबनाउने किसिमका क्रियाकलापहरु भएका हुन् । यो कुरा जसले भनेको छ त्यो केटाकेटीपन बाहेक केही होइन ।

गगन र देउवाबीच भेटघाट भएर कुराकानी हुँदैछ रे हो ?

त्यो परिस्थितिको विषयमा हामीलाई दाइले जानकारी दिनुभएको छैन । मलाई लाग्छ त्यो परिस्थिति भइसकेको छैन क्यारे ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ६ : ५० बजे

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,