चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास « Khabarhub

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कागजी बाकस अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ । एकै टुक्रा कागजलाई विशेष तरिकाले मोडेर बनाइने यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग जोडिएको छ ।

यस बाकसको अवधारणा सन् १८९४ मा सुरु भएको मानिन्छ । अमेरिकी आविष्कारक फ्रेडरिक वीक्स विल्कोक्सले त्यस वर्ष कागजबाट बनाइएको एक प्रकारको बाल्टिनका लागि पेटेन्ट लिएका थिए। कागजलाई विशेष तरिकाले मोडेर बनाइने उक्त बाकसबाट तरल पदार्थ चुहिने सम्भावना कम हुनुका साथै माथिबाट सजिलै बन्द गर्न सकिन्थ्यो ।

सन् १८०० को मध्यतिर सुनको खोजी र रेलमार्ग निर्माणका लागि चिनियाँ आप्रवासीहरू अमेरिका पुग्न थालेका थिए । उनीहरूले बसोबास गरेका सान फ्रान्सिस्कोलगायतका सहरमा चाइनाटाउन विकसित भए । त्यहाँका रेस्टुरेन्टले चिनियाँ परिकारलाई अमेरिकी स्वादअनुसार परिमार्जन गर्दै लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेले ।

नर्थ क्यारोलाइना विश्वविद्यालयकी चिनियाँ इतिहासकी प्राध्यापक मिशेल किङका अनुसार दोस्रो विश्वयुद्धपछि अमेरिकामा चिनियाँ रेस्टुरेन्ट र परिकारको विविधता उल्लेख्य रूपमा बढ्यो । सस्तो मूल्य, सहज उपलब्धता र घर लैजान मिल्ने सुविधाले चिनियाँ खानालाई अमेरिकी उपभोक्तामाझ लोकप्रिय बनाएको उहाँको भनाइ छ ।

सन् १९७० को दशकतिर प्याकेजिङ कम्पनी फोल्ड–पाकले यस्ता कार्टनमा चिनियाँ शैलीको प्यागोडाको चित्र थप्यो । त्यसपछि सेतो कार्टन चिनियाँ खानासँग जोडिएको विशिष्ट प्रतीकका रूपमा स्थापित हुँदै गयो ।

प्राध्यापक किङले यसलाई इटालियन खानासँग जोडिने पिज्जा बक्ससँग तुलना गरेका छन्। उनका अनुसार यस्ता प्याकेजिङले चिनियाँ अमेरिकी खानाको छुट्टै पहिचान बनाउन सहयोग गरेको छ ।

अहिले यस्ता कार्टन विभिन्न आकारमा उपलब्ध छन् । सुरुमा चिनियाँ खाना प्याक गर्न प्रयोग गरिने यसमा अहिले अन्य परिकारसमेत राख्ने गरिएको छ । यसको पहिचान रेस्टुरेन्टमा मात्र सीमित छैन, मोबाइल फोनमा खाना घर लैजाने जनाउने ‘टेकआउट’ इमोजीमा समेत देखिन्छ ।

सामान्य कागजी बाकसबाट सुरु भएको यो प्याकेजिङ अहिले अमेरिकाको खानपान र लोकप्रिय संस्कृतिको परिचित प्रतीक बनेको छ । यसले आप्रवासन, खानपान र व्यावसायिक पहिचानबीचको सम्बन्धलाई समेत उजागर गर्छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १२ : ३१ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित