मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस « Khabarhub

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस



काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन् । विगतमा एमाले सचिवालय बैठकमा बहुमत नपुगेका कारण भण्डारीको सदस्यता नवीकरण हुन पाएको थिएन । तर, सदस्यता नवीकरण गर्न नमान्ने नेताहरु अहिले भण्डारीको साथमा उभिएको संकेत देखिन थालेको छ । यससँगै राजनीतिमा फर्किछाड्ने विद्याको सपना अब चाहिँ सार्थक बन्ने आँकलन गर्न थालिएको छ ।

विद्याले एमालेको सक्रिय राजनीतिमा फर्केर ‘मदन भण्डारीको सपना पूरा गर्ने’ योजना अहिलेदेखि भने बनाएकी होइनन् । २०७९ फागुन २८ गते नौ वर्षे राष्ट्रपतिको कार्यकाल सकेपश्चात नै उनी विभिन्न गतिविधि गरेर सक्रिय हुने दाउमा थिइन् । कार्यकाल सकिएर कार्की ब्याङक्वेटमा देशभरका अगुवा महिला बटुलेर उनले पहिलो पटक आफ्नो शक्ति देखाएकी थिइन् । त्यसपछि उनी करिब एक वर्ष आफ्नो हैसियतको परीक्षण गर्न देश दौडाहामा लागिन् ।

देशभरबाट नेकपा एमाले शुभचिन्तक तथा कार्यकर्ताले राम्रै ‘रेस्पोन्स’ गरेपछि उनी सक्रिय राजनीतिमा फर्कने प्रयत्नमा छिन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण रोकेर विद्याको राजनीतिक यात्रालाई विश्राम लगाउन खोजेका थिए । विद्याले आफ्नो सदस्यता नवीकरण गर्नका लागि करिब २ वर्ष अगाडि पार्टी कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसपछि विद्याको सदस्यता नवीकरण प्रक्रिया अगाडि बढेको थियो । तर, गत वर्षको साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीले विद्याको सपनालाई तुहाइदिएका थिए ।

त्यसपछि अध्यक्षसँग बसेर विद्याले सदस्यता नवीकरणका विषयमा छलफल गरिन् । ओली टसमस नभएपछि उनले गत वर्षको भदौ ५ गते थापागाउँमा सम्पर्क कार्यालय खोलिन् । विद्यालाई साथ दिन तत्कालीन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली स्थायी कमिटी सदस्य कर्णबहादुर थापा लगायतका नेताहरू उपस्थित थिए । तर विद्या समूहमा रहेको भनिएका विष्णु पौडेल भने उनलाई रोक्नका लागि ओलीलाई साथ दिने भूमिकामा उभिए ।

त्यसयता बसेका एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठकमा पटक-पटक विद्याको सदस्यता नवीकरण विषय उठेपनि ओली पक्षको बहुमतले रोकिँदै आएको थियो । नियमितजसो सचिवालय बैठकमा तात्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले त यो विषयलाई अल्मल्याइरहनु नहुने रोक्ने भए रोकिनुपर्ने नवीकरण गर्नुपर्ने भए नवीकरण गरिदिन पटक पटक आग्रह गर्ने गरेकी थिइन् ।

महाधिवेशनमा विद्या प्यानलको पत्तासाफ

०८२ मङ्सिर २७ देखि पुस ३ सम्म भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा पनि विद्याको नाम निकै चर्चामा थियो । त्यसबेला उनले आफ्नो समूहबाट केपी ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेललाई अध्यक्ष पदमा अगाडि सारेकी थिइन् । अन्य पदमा पनि उनले आफ्नो प्यानललाई सक्रिय बनाएकी थिइन् । त्यसबेला पदाधिकारीमा विद्या पक्षका केबल दुई जना योगेश भट्टराई र गोकर्ण बिष्टले जित हासिल गरे । पार्टीको एघारौँ महाधिवेशनबाट भट्टराईले उपमहासचिवमा र बिष्टले उपाध्यक्षमा जित हासिल गरेका थिए ।

सदस्यताबारे प्रश्न उठ्दा पार्टी बैठकमा ओलीको बहुमत पुग्ने र उठाउने व्यक्ति अल्पमतमा पर्ने भएकाले उनको सदस्यता नवीकरण हुन नसकेको एमाले नेता सुरेन्द्र पाण्डेले बताउँदै आएका छन् । भण्डारीको सदस्यता नभएकै कारण फागुन २१ मा भएको निर्वाचनमा पनि उनले नेकपा एमालेलाई न त मत मागिन्, न त केपी शर्मा ओलीको पक्षमा नै खुलिन् ।

आफ्नै पक्षका नेतालाई समेत मत माग्न उनी निस्केकी थिइनन् । चुपचाप बसेकी उनी एमालेले निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि अहिले पार्टी पुनर्गठनका विषयमा विद्यालाई धेरै नेताले साथ दिन थालेको चर्चा चुलिएको छ । यद्यपि कतिपय नेताहरु अहिलेको विकल्प भण्डारी नभएको र तेस्रो पुस्ताले पार्टीको नेतृत्व लिनुपर्ने मत पनि जाहेर गर्छन् । यता केही वैचारिक र पाका पुस्ता भने एमाले मात्र नभएर समग्र कम्युनिस्ट आन्दोलनको नेतृत्व नै भण्डारीले गरे कम्युनिस्टहरू एक हुने र पार्टी नयाँ उचाइमा पुग्ने दाबी गर्दै आएका छन् ।

नयाँ सक्रियता

गत वर्षको १४ असारमा मदन भण्डारी जयन्तीको अवसर पारेर उनले एमालेको पार्टी सदस्यता नवीकरण गरी राजनीतिमा फर्कने दाबी गरेकी थिइन् । त्यसको एक वर्ष पुग्नै लाग्दा एमालेले विद्यालाई प्रमुख अतिथि बनाएर ३३ औँ मदन आश्रित स्मृति सभाको आयोजना गर्‍यो । सभामा उनले यथास्थितिमा एमाले अगाडि बढ्न नसक्ने बताउँदै जनताको बहुदलीय जनवादको सम्मान गर्दै पार्टी पुनर्गठन गरेर जान आवश्यक रहेको उल्लेख गरिन् ।

ओली बिरामी भएर अहिले पार्टीको कुनै पनि गतिविधिमा सक्रिय नरहेका बेला भण्डारी एका एक सक्रिय हुन थालेकी छिन् । यसले फेरि पार्टीभित्र तरंग सिर्जना गरेको छ । फागुन २१ को निर्वाचनपछि औपचारिक रूपमा पहिलो पटक शनिबार बस्न लागेको पार्टीको सचिवालय बैठक पनि ओलीले रद्द गरेपछि नेताहरू पार्टी नेतृत्वसँग चिढिएको देखिन्छ ।

त्यसैको फलस्वरूप विद्याको सदस्यता नवीकरण गर्न नहुने पक्षमा रहेका नेताहरु पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायतले विद्यालाई साथ दिन थालेको अड्कल काट्न थालिएको छ । उनीहरुकै सहयोगले विद्यालाई प्रमुख अतिथि बनाएको बताइन्छ ।

विद्या प्रमुख अतिथि रहेको कार्यक्रममा विष्णु पौडेल र उनीबीच खासखुस गरेको पनि देखिन्थ्यो । कार्यक्रममा पोखरेल र भण्डारीको समेत बातचित भएको उपस्थित नेताहरू बताउँछन् । शंकर र विष्णुले ओलीलाई साथ दिँदा कमजोर बनेकी भण्डारी उनीहरुकै साथका कारण आज प्रमुख अतिथि बनेर स्मृति दिवसमा उपस्थित हुनुले विभिन्न अड्कलबाजीहरू हुन थालेका छन् । हुन त कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि उपस्थित थिए । तर उनी भने भण्डारीसँग सन्निकट देखिएनन् ।

निर्वाचनपछि सक्रिय

दुई महिना बितिसक्दा पनि एमालेले फागुन २१ गते भएको निर्वाचनको संस्थागत रुपमा समीक्षा गरेको छैन । फागुन २१ पछि बनेको बालेन्द्र शाहको सरकारले अध्यक्ष ओलीलाई पक्राउ गरेर हिरासतमा राखेको र ओलीको स्वास्थ्य अवस्था बिग्रेकाले निर्वाचनको समीक्षा हुन नपाएको पार्टीका नेता पृथ्वी सुब्बा गुरुङ बताउँछन् । चुनावअगाडि भण्डारीले यही नेतृत्वमा निर्वाचनमा सामेल भए लज्जास्पद हार बेहोर्ने कुरा बताउँदै आएकी थिइन् ।

उनले नेतृत्व पुनर्गठनको आवश्यकता रहेकाले परिस्थिति अनुसार एमाले चल्न नसके निर्वाचनमा लज्जास्पद हारको अवस्थामा पुग्ने टिप्पणी गर्दै आएकी थिइन् । नभन्दै ओलीको कब्जामा रहेको एमालेले गत फागुनमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ जम्मा ९ सिट मात्रै जित हात पार्‍यो । २०७९ मा ७९ सिट ल्याएको एमालेले २०८२ को निर्वाचनमा ९ सिट हात पार्दा समानुपातिकमा १८ सिट प्राप्त गर्‍यो । एमालेमा देखिएको लज्जास्पद हारका कारण भण्डारीलाई पुन सक्रिय बनाउनुपर्ने आवाज उठाउन थालियो । अहिले उनी उत्साहित भएर विभिन्न रणनीति अनुसार काम गरिरहेकी छन् ।

ओली उपस्थित नभएपछि भण्डारी प्रमुख अतिथि

धेरै जना नेताहरू ओली बिरामी परेका कारण आजको कार्यक्रममा भण्डारी प्रमुख अतिथि बनेको दाबी गर्छन् । तर ओलीले अगाडि सारेका नेता बादल नभइ भण्डारी प्रमुख अतिथि बनेपछि विभिन्न आशङ्का भने उब्जिएको छ । पछिल्लो समय भण्डारीले पार्टी पुनर्गठनको विषय उठाउनु, उनलाई नेताहरुले साथ दिनु, विष्णु पौडेल र शंकर पोखरेलबीचको सम्बन्ध सुमधुर हुन थालेको हल्लाले पनि यसमा बल पुर्‍याएको छ ।

यसबारे प्रश्न गर्दा उपाध्यक्ष पौडेलले भने, ‘पार्टी निर्वाचनको गम्भीर समीक्षा हुन पाएको छैन । समीक्षापश्चात कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुन्छ ।’ उनले अगाडि भने, ‘अहिले पार्टी बैठक बसेर समीक्षा गर्न नपाएको त यहाँहरुलाई थाहा नै छ । बिस्तारै परिस्थितिको विषयमा समीक्षा हुन्छ र अगाडि बढ्छौँ ।’

यस विषयमा पार्टी महासचिव पोखरेल पनि पार्टीमा समीक्षा नभएकाले बाहिर विभिन्न अड्कल काट्नु आवश्यक नरहेको बताउँछन् । ‘विभिन्न अड्कलबाजी गर्नु निराधार छ । अहिले पार्टीमा कुनै समीक्षा भएको छैन,’ उनले भने ।

निर्वाचनपछि ओली र भण्डारीबीच तीनपल्ट भेट

अहिले पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीको बोलचाल नै बन्द भने भएको छैन । व्यक्तिगत हिसाबले उनीहरूबीच मनमुटाव रहे पनि संस्थागत र पार्टीको हिसाबले उनीहरुबीच भेटवार्ता भइरहेको देखिन्छ । एक साताअगाडि पनि भण्डारी र ओलीबीच महाराजगंजको शिक्षण अस्पतालमा भेट भएको थियो ।

त्यसबेला बिरामी परेका ओलीलाई भेट्न भण्डारी आफैँ अस्पताल पुगेकी थिइन् । चैत १४ गते पनि ओली र भण्डारीको भेट अस्पतालमै भएको थियो । निर्वाचनपछि पहिलो पटक चैत १ मा उनले ओलीलाई गुण्डुमै पुगेर भेटेकी थिइन् । ओलीलाई भण्डारीले भेट्दा उनी पितृ शोकमा थिए । दोस्रो र तेस्रो भेटमा भने ओली बिरामी भएका कारण थप कुराकानी हुन नपाएको बताइन्छ ।

ओलीको सचिवालय सदस्यहरू तीन वटै भेटमा ओली विशेष परिस्थिति रहेका कारण उनको सदस्यता नवीकरणको विषयमा कुनै पनि हिसाबले कुराकानी नभएको बताउँछ । तर गत आइतबारको भेटमा भने राष्ट्रिय राजनीति र अबको निकासबारे दुई घण्टासम्म छलफल भएको थियो । ‘गत आइतबार भएको भेटमा सामान्य हिसाबले राष्ट्रिय राजनीति र अबको विकल्पबारे विभिन्न हिसाबले छलफल भएको छ । तर उहाँको सदस्यता नवीकरण गर्ने विषयमा कुनै निचोड निस्किएको छैन,’ ओलीनिकट स्रोत भन्छ, ‘नेताहरूको भेट विभिन्न हिसाबले हुने नै भयो । परिस्थितिको विषयमा छलफल त हुन्छ नै ।’

भण्डारीको सचिवालय सदस्यहरू पनि गत आइतबारको भेटमा सामान्य हिसाबले कुराकानी भएको बताउँछन् । भण्डारी स्रोतका अनुसार ओली अब केही गलेकाले उनको सदस्यता नरोक्ने दाबी गर्दै आएको छ । विद्याको गतिविधि देख्दा निर्वाचनपछि उनी थप बलियो भएर पार्टी पुनर्गठन गर्ने पक्षमा खुल्न थालेको देखिन्छ । नेताहरुले पनि पार्टी पुनर्गठन हुनुपर्ने र अबको आवश्यकता नयाँ नेतृत्व रहेको सार्वजनिक रूपमा बताउन थालेपछि विद्यालाई बल पुगेको छ ।

दुई घण्टा भएको भेटमा थप के के कुरा भयो भन्ने विषयमा दुई नेताबाहेक कसैलाई पनि जानकारी नभएको ओली र भण्डारीको सचिवालयको दाबी छ । स्रोतले दिएको जानकारी अनुसार भण्डारीलाई तत्कालै पार्टी बुझाउने पक्षमा ओली अझै पनि पुगेका छैनन् । युवा पंक्ति पनि तेस्रो पुस्ताले नेतृत्व पाउनुपर्ने मागमा अडिग रहेकाले ओली आफूले नेतृत्व छाड्न तयार भइसकेका छैनन् । स्वास्थ्य स्थितिका कारण ओली रेस्टमा रहेकाले नेतृत्व परिवर्तन र पुनर्गठनको बहस त्यति सान्दर्भिक नभएको एमाले नेतृ रामकुमारी झाँक्री बताउँछिन् । उनी नेतृत्व सङ्कटमा पर्दा नेतृत्वलाई पछारिहाल्छु भन्ने मानसिकता कसैले पनि राख्नु नहुने बताउँछिन् ।

एमालेमा भित्रभित्रै नेताहरूले अहिले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बहस चलाउन थालेको भने देखिन्छ । ओली निकट पक्षले विधानमै नभएको व्यवस्था ल्याउनु उपयुक्त नहुने बताइरहँदा एमालेको विधानमा भने दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था देखिन्छ ।

एमालेको पार्टी विधान २०७९ को धारा ६३ मा दुईतिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरे छ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने अवस्था छ । सोही विधान टेकेर नेताहरू अगाडि बढ्ने तयारीमा रहेको एमाले उच्च स्रोतको भनाइ छ । विशेष महाधिवेशनपछि विद्या भण्डारी नै नेतृत्वमा आउँछिन् भन्ने प्रश्नमा भने अहिले कुनै नेताहरू उत्तर दिन तयार छैनन् । युवा पुस्ता नयाँ नेतृत्व आउनुपर्ने पक्षमा छन् । पाका र ५० काटेका नेताहरू भने भण्डारीलाई नेतृत्व मानेर जाने मनस्थितिमा देखिन्छन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ६ : ५३ बजे

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय

प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन

काठमाडौं– कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा

गगन थापाले भने- पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको