कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’ « Khabarhub

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै भावी कार्यदिशा तय गर्ने उद्देश्यसहित १० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा वीरेन्द्रनगर सुर्खेतमा शनिबार र आइतबार दुई दिनसम्म चलेको प्रदेशस्तरीय विचार गोष्ठीपछि घोषणापत्र सार्वजनिक गरिएको हो ।

जारी गरिएको ‘बृहत्तर एकता र भावी कार्यदिशाका लागि दश शुत्र–२०८३’मा पार्टी एकता, समावेशिता, सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई प्राथमिकतामा राखिएको छ ।

कर्णाली कांग्रेसले पार्टीभित्र नेता तथा कार्यकर्तामाथि गरिएको अनुशासन कारबाही र स्पष्टीकरण फिर्ता लिन माग गर्दै त्यसले मात्रै बृहत्तर एकताको वातावरण बन्ने जनाएको छ । त्यस्तै, पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र प्रवासी नेपालीलाई सम्मानजनक सहभागिता दिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

१० शुत्रमा नेपालको सार्वभौमसत्ता, लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीको संरक्षणका लागि लोकतान्त्रिक शक्तिबीच साझा संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । साथै, राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्रीले देखाएको व्यवहारलाई असंसदीय र अमर्यादित भन्दै आलोचना गरिएको छ ।

यस्ता छन् ‘बृहत्तर एकता र भावी कार्यदिशाका लागि दश शुत्र–२०८३’
१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्दछ भन्ने नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रष्ट दृष्टिकोण छ । यसका लागि वर्तमान सभापति गगनकुमार थापाज्यूले पार्टीका शीर्ष नेता, वर्तमान तथा पूर्वपदाधिकारीसँग सघन संवाद गरी समयमै पार्टीको १५औँ महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सम्पूर्ण कांग्रेसजनको सहभागीताको वातावरण सुनिश्चित गर्न नेतृत्वदायी पहल कदमी तत्काल प्रारम्भ गर्न हामी अनुरोध र आह्वान गर्दछौँ ।

यसका लागि १५औँ महाधिवेशनको सन्दर्भमा विगतमा नवीकरण गरेका र नयाँ कृयाशील सदस्यता लिइसकका सबैले अधिवेशनमा सहभागी हुने व्यवस्था सुनिश्चित गर्न अपरिहार्य छ, कर्णालीको भौगोलिक विषमता, शैक्षिक तथा सामाजिक अवस्था, सूचना प्रविधिमा पहुँचको अभाव जस्ता पक्षलाई समेत मध्यनजर गर्दै हाल पुनः नवीकरण गर्ने गरी सुरु गरिएको अद्यावधिक गर्ने कार्य स्थगित गरी तत्काल बृहत्तर एकता र सहमतिका आधारमा १५औँ अधिवेशनका सबै प्रकृया अघि बढाउने वातावरण निर्माण गर्न पार्टीका आदरणीय सभापति गगनकुमार थापासँग जोडदार माग गर्दै सोही अनुसारको वातावरण निर्माण गर्न देशभरका कांग्रेसीजनमा नेपाली कांग्रेस कर्णाली प्रदेश हार्दिक अनुरोधसहित आह्वान गर्दछ ।

२. केन्द्रीय अनुशासन समितिमार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कारबाही तथा मागिएका स्पष्टीकरण फिर्ता लिई बृहत् एकताको वातावरण बनाउन आह्वान गर्दछौँ ।

३. समावेशीताको सिद्धान्त अनुरुप ’कदमजम’लाई पूर्ण कार्यान्वयन गर्दै, चेतना र वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा न्यूनतम् २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ । प्रवासी नेपालीहरूको सन्दर्भमा राष्ट्रसँग जोडिएका नागरिकका रूपमा सम्मान र विकासमा सहभागिता एवं सहकार्यको वातावरण निर्माणमा सिर्जनशील र प्रेमील सोच बनाउन केन्द्रीय नेतृत्वलाई आग्रह गर्दछ ।

४. नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिबद्धतासहित भू–राजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण अपनाउनु पर्दछ । आफ्नो राष्ट्र पहिलो भन्ने भावनाको प्रधानता हुनुपर्दछ ।
लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरूबीचको साझा संयन्त्र निर्माण गरी तत्काल प्रभावकारी पहल सुरु गरिनु पर्दछ ।

५. सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले हालै नेपाल सरकारको आगामी आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम संसद्समक्ष वाचन गरिरहँदा वि.सं. २०१५ सालदेखि स्थापित तथा विकसित संसदीय मान्यताविपरीत सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले देखाउनु भएको अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित व्यवहारले सम्माननीय राष्ट्रपतिज्यूको मात्र होइन सिंगो जननिर्वाचित संसद्को उपहास र अपमान भएकोमा नेपाली कांग्रेस कर्णाली प्रदेश दुःख महशुस गर्दछ ।

६. पछिल्लो समयमा महंगीको मारबाट प्रताडीत जनतालाई मुक्ति दिलाउन आवश्यक पहलको लागि केन्द्रीय नेतृत्वसँग अनुरोध गर्दछौँ ।

७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, सन्धि सम्झौताविपरीत अध्यायदेशमार्फत हनन गरिएका पेसाकर्मीहरुको ट्रेड युनियन हक अधिकार यथावत् सुनिश्चितताप्रति केन्द्रीय नेतृत्वलाई नेपाली कांग्रेस कर्णाली प्रदेश गम्भीर ध्यानाकर्षण गराउँदछ ।

८. पूर्वमनसुनबाट आहत जनसमुदायलाई राहतको व्यवस्था गर्न माग गर्दै सम्भावित प्राकृतिक प्रकोपको खतरालाई मध्यनजर गरी जनधनको सुरक्षाका लागि तयारी रहन खवरदारीसहित आवश्यक पहल गर्न केन्द्रीय कार्यसमितिलाई नेपाली कांग्रेस कर्णाली प्रदेश अनुरोध गर्दछ ।

९. देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार प्रमुख प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका खेल्नुपर्दछ । जसका लागि पार्टीका सबै तहका नेता कार्यकर्तामा उदाहरणीय चरित्र र व्यवहार देखिनुपर्दछ । जनताको दैनिक सुख दुःखमा व्यक्तिगत तथा संस्थागत सहभागिता र सहयोगको वातावरण निर्माण गरिनुपर्दछ । अतः कर्णाली प्रदेशको संयुक्त सरकारमा नेपाली कांग्रेस पनि साझेदार रहेकाले प्रदेशको समग्र उन्नयनका लागि सरकारले आफ्नो गतिविधि साझा र जनमुखी ढंगबाट सञ्चालन गर्न जरुरी छ । नेपाल सरकारको आ.व. ०८३/०८४ बजेट तथा कार्यक्रममा कर्णाली प्रदेशको विकासका लागि उल्लेखनीय बजेट व्यवस्था गराउन नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गर्न केन्द्रीय नेतृत्वसमक्ष अनुरोध गरिन्छ ।

१०. जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । आन्दोलनका क्रममा घाइते भई उपचाररत सम्पूर्ण घाइतेहरूमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री आदरणीय शेरबहादुर देउवा एवम् निर्वतमान केन्द्रीय सदस्य डा. आरजु देउवालाई जेनजी आन्दोलनका नाममा भएको निन्दनीय र सांघातिक आक्रमणको घोर भर्त्सना गर्दछौँ । हाल उपचारका लागि विदेशमा रहनु भएका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ९ : १४ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा