रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली « Khabarhub

अन्तर्वार्ता

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली



काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्यमा गत वैशाख ७ गते मनोनित गरेका थिए । पार्टीमा लामो समयदेखि जोडिएका नेताहरूलाई पाखा लगाउँदै ज्ञवालीसहित सागर ढकाललाई सचिवालय सदस्य बनाएको विषयमा रविले पार्टीभित्र तीखो आलोचना खेप्नु परेको थियो । तर, रास्वपाले त्यसबेला विभिन्न समूह मिलाउने र पार्टीमा क्षमतावान व्यक्तिलाई सचिवालयमा मनोनित गर्ने रणनीति अनुरुप ज्ञवाली र ढकाललाई सचिवालयमा राखेको प्रष्टोक्ति दियो ।

सुरुमा सीके राउत नेतृत्वको जनमत पार्टीमा आवद्ध ज्ञवाली पूर्वसञ्चारकर्मी हुन् । उनी चाहने हो भने आगामी १० वर्षसम्म पनि रवि लामिछाने नै सभापति बन्ने दाबी गर्छिन् । रास्वपाको पहिलो महाधिवेशनपछि रवि लामिछाने नै सभापति बन्ने र प्रधानमन्त्रीमा वालेन्द्र शाह नै कायम रहने उनको दाबी छ । ज्ञवाली विभिन्न समूहको प्रवेश भएपनि अहिले पार्टी सिङ्गो भएकाले कुनै गुट नभएको बताउँछिन् । तर एउटै हातका औँला पनि समान नहुने भन्दै उनी पार्टीमा पनि त्यो खालको वातावरण सिर्जना भएको हुनसक्ने स्वीकार गर्छिन् ।

ज्ञवाली पार्टी सचिवालय बैठकमा छलफल भएको विषय नै पार्टीको आधिकारिक हुने बताउँछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन यही ७ गतेबाट चितवनमा हुँदैछ । २०७९ असार ७ गते स्थापना भएको पार्टीले चार वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको हो । महाधिवेशनका विभिन्न पक्षहरूमा केन्द्रित रहेर हामीले रास्वपा सचिवालय सदस्य सरिताश्री ज्ञवालीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

भदौ २३ र २४ गतेको आन्दोलनपछि पार्टीमा जोडिनुभयो, पार्टीको पहिलो महाधिवेशन पनि आइसक्यो । कतिको उत्साहित हुनुहुन्छ ?

हामी धेरै उत्साहित छौँ । यो हाम्रा लागि ठूलो इभेन्ट हो । यसलाई भव्यताका साथ सम्पन्न गर्ने तयारीमा छौँ ।

विभिन्न पार्टीबाट जोडिनुभएका व्यक्तिहरू रास्वपामा हुनुहुन्छ, पहिलो महाधिवेशन कस्तो होला ?

यति छोटो समयमा देशको सबैभन्दा ठूलो पार्टीको रुपमा विकसित भएको छ । सबैतिरबाट योग्य व्यक्तिहरु नआउनुभएको भए हामीले यो रुप लिने पनि थिएनौँ । यसपालीको महाधिवेशनमाआफ्नो दक्षता, क्षमता र योग्यता अनुसार नेताहरुले पदीय जिम्मेवारी पाउनुपर्छ भन्नेमा कुनै शङ्का छैन ।

पार्टीमा विभिन्न समूहहरू आबद्ध छन्, पहिलो महाधिवेशन सर्वसम्मतिमै अगाडि बढ्छ कि के हुन्छ ?

पार्टीको विधान अनुसार कतिपय कुराहरू अगाडि बढ्छ । तर, कतिपय कुराहरू पार्टी विधानको अधीनमा रहेर सभापतिज्यूको निर्णय अनुसार हुन्छ । सभापतिज्यूले पहिले नै हामी यसरी अगाडि जान्छौँ भनेर सचिवालय र केन्द्रीय समितिलाई यसबारे जानकारी गराउनुहुन्छ । सबै निर्णय केन्द्रीय समिति र सचिवालयबाट पारित भएर अगाडि बढ्छ ।

यहाँले विभिन्न समूहबाट आउनुभएका व्यक्तिहरू हुनुहुन्छ भन्नुभयो । हो, सुरुका दिनमा विभिन्न समूहबाट नेताहरु आउनुभएको हो । तर अब यहाँ प्रवेश गरेपछि सबै जना एउटै पार्टीका नेता अथवा कार्यकर्ता हुनुहुन्छ ।

पार्टीभित्र देशको हितको लागि के गर्दा हुन्छ भन्ने हिसाबले नै सबै जना अगाडि बढिरहनुभएको छ । विधान मातहत रहेर पार्टी सभापतिज्यूले कतिपय पदको विषयमा निर्णय लिनुहुन्छ । यो कुरामा हामीले उहाँ र वरिष्ठ नेताज्यूलाई स्वतन्त्र छोडिदिएका छौँ । यहाँले भनेजस्तै विभिन्न व्यक्ति र आन्दोलनबाट आउनुभएका नेतालाई पनि मिलाउनुपर्नेछ । तर उनीहरू गुट हुन् भन्ने हिसाबले बुझ्नुभएन ।

पार्टी सचिवालय बैठकमा महाधिवेशनको सन्दर्भलाई लिएर केही छलफल हुन पाएको छ कि छैन ?

कसरी महाधिवेशन सफल र भव्य बनाउने भन्ने विषयमा उपसमितिहरू बनाएर तयारी भइरहेको छ । लास्ट टाइम भएको भर्चुअल बैठकमा पनि सभापतिज्यूले यसरी काम गरौँ भनेर हामीलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ ।

भोलि पनि सचिवालयको बैठक भएकाले त्यतिबेला विस्तृत कुराकानी होला । विभिन्न उपसमितिले महाधिवेशन सम्पन्न गर्नका निमित्त काम गरिरहनुभएको छ । सम्भवतः भोलिको सचिवालय बैठकमा प्रगतिको विषयमा पनि छलफल होला । त्यसपछि महाधिवेशन आउन करिब तीन दिन मात्रै रहने भएकाले सम्पूर्ण तयारी पर्सीसम्ममा सक्ने हिसाबले काम अघि बढ्छ ।

पार्टीमा विभिन्न गुटहरू छन्, मिलाउनै सकस छ भन्ने कुराहरू पनि आएका छन् नि ?

कतिपय कुराहरू मैले मिडियाबाट थाहा पाइरहेकी हुन्छु । अहिले त हाम्रो समाजमा मिडिया ट्रायलहरुले नै काम गरिरहेको छ । हामी भित्रबाट हेर्दा कुनै गुट छैन । परिवार जति ठूलो भयो, त्यहाँ विभिन्न विचार समूहहरू हुन्छन् । परिवार बीचमै पनि कहिलेकाहीँ मनमुटाव छेडछाड हुनु स्वाभाविक हो ।

सानो चिजलाई म्यानेज गर्न सजिलो हुन्थ्यो भने ठूलो कुरालाई म्यानेज गर्न अलिकति गाह्रो हुने अवस्था पक्कै रहला । तर यसमा गुट उपगुट भएर कुरा नमिलेको भन्ने अवस्था छैन । हाम्रो शीर्ष नेता, वरिष्ठ नेताज्यूहरूमा धेरै युनिटी छ । त्यही हिसाबले हामी सबै जनाले बुझेका छौँ । यसलाई समन्वयकारी वातावरणमा अगाडि बढ्छौँ । बाहिर सुनिएजस्तो केही पनि छैन ।

यहाँ त पार्टी सचिवालयमा जोडिनु पनि भएको छ, सचिवालयमा छलफलै नगरी कतिपय विषय सभापति र वरिष्ठ नेताले आफूखुसी निर्णय गर्नुहुन्छ रे हो ?

अहिले हामी लोकतान्त्रिक पद्धति अपनाएर अगाडि बढेका छौँ । नयाँ पार्टीमा यस्तो हुँदैन । चुनाव जित्दा सबै कुरा ठीक, हार्दा चाहिँ बेठीक हुँदैन । पार्टी सचिवालयको निर्णयभन्दा बाहिर गएर सभापति र वरिष्ठ नेताज्यूले काम गरेको फिल मैले चाहिँ गरेको छैन । यस्तो भयो भने त हामी आफैँ पनि यस्तो हुनु हुँदैन भनेर आवाज उठाउछौँ । यी कुराहरू अहिलेसम्म सुनिएका हुन्, पुष्टि भएका होइनन् ।

पार्टीको नेतृत्व महाधिवेशनपछि कसले सम्हाल्नुहुन्छ र सरकारको नेतृत्व कसले गर्नुहुन्छ ?

यदि सभापति रवि लामिछाने मान्नुभयो भने पार्टीको नेतृत्वमा अहिले मात्र होइन, अबको १० वर्षसम्म पनि उहाँ नै हो । यता सरकारको नेतृत्व पाँच वर्षसम्मलाई प्रधानमन्त्री बालेन्द्र शाह नै हो । रहर अरुलाई पनि लागेको हुनसक्छ, तर रहरले मात्रै हुने अवस्था छैन ।

पार्टी र सरकार सञ्चालन गर्न क्षमता र परिपक्वता पनि चाहिन्छ । उदार हृदय पनि सबैले राख्नुपर्छ । सबैलाई मिलाएर अगाडि बढ्ने लिडर उहाँ नै हो । अहिलेलाई पार्टी सभापति र प्रधानमन्त्रीको विकल्प छ जस्तो हामीलाई लागेको छैन । बाहिरकाले अर्को अड्कलबाजी काट्नु स्वाभाविकै हो ।

नेताहरु गुट व्यवस्थापनका लागि देशभर दौडिरहनु भएको छ भन्ने सूचना पनि आएको छ नि ?

यो तपाईँले मात्रै सुन्नुभएको कुरा होइन । कहिलेकाहीँ देश बनाउने कुरामा ठूलो सोच राख्नुपर्छ । नातावाद कृपावाद हुनुहुँदैन भनेर अगाडि बढ्दा कहिलेकहीँ हुनसक्छ । हातका पाँच वटा औँला पनि समान हुँदैनन् । कहिलेकाहीँ कुनै ठाउँमा त्रुटि पनि भएका होलान् तर यदि हामीले यस्ता कुरा थाहा पाएको खण्डमा अनुशासन विभागमार्फत् उहाँहरुलाई अनुशासनको दायरामा राख्ने हिसाबमा अगाडि बढेका छौँ ।

यहाँले भनेजस्तै कम्प्लेनहरू आएका होलान् तर यसलाई हामीले निर्मम ढंगले विचार गर्छौँ । पार्टीमा कुनै गुट उपगुट लगायतका विषयहरुलाई हामीले प्रवेश नदिने भन्ने हिसाबले नै पार्टी सचिवालय बैठकमा छलफल गरिरहेका छौँ ।

पार्टी सचिवालयमा महिला सहभागिताको विषय अलि कमजोर भयो, केन्द्रीय कमिटीमा पनि त्यही आकार हुन सकेन भन्ने आलोचनालाई कसरी हेर्नुभएको छ ?

यो महिला भएर मैले मात्रै उठाउने कुरा होइन । पार्टी सभापति, वरिष्ठ नेताज्यू र अरु पदाधिकारीले उठाइराख्ने कुरा हो । हाम्रो देशको जनसङ्ख्या नै ५१ प्रतिशत महिलाले ओगट्नु भएको छ भने हामीले यस पटक सचिवालय र केन्द्रीय कमिटीमा पनि त्यही अनुसारको सहभागिता बनाउने प्रयत्न गरिरहेका छौँ ।

विभागहरूमा पनि हामीले कम्तिमा ३३ प्रतिशत महिलालाई जसरी पनि राख्ने प्रयत्न गरेका छौँ । त्यसबारे दबाब पनि दिइरहेका छौँ । हरेक ठाउँमा सिट भर्नका लागि पनि महिला राख्दा पनि कतिपय समस्या आएका छन् । हामीले योग्य ठाउँमा योग्य व्यक्ति हुनुपर्छ भन्ने आवाज उठाइरहेको हो । हरेक चिजमा महिलालाई प्राथमिकता दिइएको छ । अधिवेशनपछि महिला विभागलाई पनि चुस्त दुरुस्त एवं बलियो बनाएर अगाडि लैजाने सोचेका छौँ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ७ : ०२ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले