काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्लोभाकिया भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई विस्तृत साझेदारीमा परिणत गरिएको छ। यसै क्रममा स्लोभाकियाले परिमार्जित संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा स्थायी सदस्यताका लागि भारतको दाबेदारीलाई समर्थन गरेको छ ।
सोमबार प्रधानमन्त्री मोदी र उनका स्लोभाकियाली समकक्षी रोबर्ट फिकोबीच भएको वार्तापछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र सङ्घ र सुरक्षा परिषद् लगायतका बहुपक्षीय संस्थाहरूलाई समसामयिक भू-राजनीतिक यथार्थ झल्काउने गरी थप समावेशी र प्रतिनिधित्वमूलक बनाउन व्यापक सुधारको आवश्यकता औंल्याइएको छ।
दुवै नेताले सुरक्षा परिषद्को स्थायी र अस्थायी दुवै श्रेणी विस्तार गर्नुपर्नेमा जोड दिएका छन्, जसमा भारतले स्लोभाकियाको निरन्तर समर्थनप्रति आभार प्रकट गरेको छ। सन् १९९३ मा स्लोभाकिया स्वतन्त्र भएयता कुनै पनि भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो, जसले रणनीतिक, आर्थिक, प्राविधिक र सुरक्षा क्षेत्रमा सहयोग गहिरो बनाउने उद्देश्य राखेको छ। यस भ्रमणका क्रममा दुवै देशले आतङ्कवादका सबै स्वरूपको कडा निन्दा गर्दै सीमापार आतङ्कवाद विरुद्ध एकजुट हुने प्रतिबद्धता जनाएका छन्।
विशेष गरी गत वर्ष अप्रिल २२ मा जम्मू-कश्मीरको पहलगाममा लस्कर-ए-तैयबाका आतङ्ककारीहरूद्वारा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलाको उनीहरूले तीव्र भर्त्सना गरे। आतङ्कवाद विरुद्ध लड्न दुई देशबीच एक संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ। रक्षा क्षेत्रमा प्रविधि, अनुसन्धान, र क्षमता अभिवृद्धिमा सहकार्य बलियो बनाउन रक्षा सहयोगसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरिएको छ।
यसका साथै, यसै वर्षको जनवरीमा सम्पन्न भारत-युरोपेली सङ्घ स्वतन्त्र व्यापार सम्झौताको वार्तालाई स्वागत गर्दै यसलाई छिट्टै लागू गर्ने, साइबर सुरक्षा र क्वाण्टम प्रविधिका चुनौतीहरू सँगै सामना गर्ने तथा अटोमोटिभ, इलेक्ट्रोनिक्स, क्लिन एनर्जी, र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता उच्च प्राविधिक क्षेत्रहरूमा सहकार्य बढाउने सहमति समेत भएको छ।












प्रतिक्रिया